महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै | Khabarhub Khabarhub

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादशैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ । फूलपातीका दिनको सन्ध्या आरतीसँगै देवीको ‘खोइँछ’ भर्नेक्रम सुरु भएको हो । आआफ्नो भाकलअनुसार शक्तिपीठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइँछ’ भर्न श्रद्धालुको भीड लागिरहेको छ ।

आज नवरात्रको अन्तिम दिन महानवमीको दिन पनि देवीको ‘खोइँछ’ भर्न श्रद्धालु लामबद्ध छन् । यहाँ सोमबार महासप्तमीका दिन बनाइएका माटाका प्रतिमाको प्राणप्रतिष्ठा गरिएसँगै देवी दर्शनका लागि शक्तिपीठ खुला गरिएका छन् । दर्शन खुला गरिएसँगै फूलपातीका दिनको सन्ध्या आरती सकेर ‘खोइँछ’ भर्न थालिएको हो । यो क्रम आज महानवमीको मध्यरातसम्म जारी रहनेछ । देवी दुर्गालाई विभिन्न समयमा गरिएको भाकलस्वरुप ‘खोइँछ’ भर्ने चलन बसेको मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।

मैथिल बोलीचालीमा दशहरा भनिने यो पर्वको सप्तमी तिथिमा देवी शक्तिपीठ, मन्दिर र नवस्थापित प्रतिमास्थलमा फूलपाती राखिएसँगै देवी कालरात्रीको पूजाआराधना गरिएपछि ‘खोइँछ’ भर्नेक्रम थालिन्छ । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलफूल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइँछ’ भर्ने भन्ने गरिन्छ ।

हाल महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिवास–१ र १४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा ‘खोइँछ’ भर्न भीड लागेको छ । ‘खोइँछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दशैँको  सप्तमीदेखि नवमी तिथिभर ‘खोइँछ’ भरिने परम्परा छ । मटिहानीस्थित दुर्गा मन्दिरमा स्थापित जिल्लाका देवी प्रतिमामा नेपाली मात्र नभई सीमापारी भारतको मधुवनी जिल्लाका भक्तहरू पनि ‘खोइँछ’ भर्न लामबद्ध छन् ।

‘खोइँछ’ भरिँदा धनधान्य, आरोग्यतासहित इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको सोनामाईस्थानका पुजारी कामेश्वर झा बताउँछन् ।

‘खोइँछ’ भरिनेक्रमसँगै बडादशैँ पर्वको महासप्तमी पर्वका दिनदेखि नै  यी ठाउँ (देवीस्थल)मा बलि दिनेक्रम सुरु भएको छ । फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि आज नवमीमा पनि जारी छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा मधेसका जिल्लाका साथै छिमेकको भारतीय जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्न पुगेका छन् । (रासस)

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ११ : ५४ बजे

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख

च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

गलकोट– हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

मनाङ– असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

एजेन्सी – इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक

सयपत्री फूलखेती विस्तार

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सयपत्री फूलखेती विस्तार गरेका