ग्योङ्जु – एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्ध अन्त्य गर्न सहमति भएको केही दिनपछि आएको हो ।
दुई दिनसम्म दक्षिण कोरियाको ऐतिहासिक सहर ग्योङ्जुमा चलेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेताहरूले विश्वव्यापी आर्थिक चुनौतीहरू पार गर्न सहयोग र बहुपक्षीयतामा जोड दिएका छन् । उनीहरूले विश्वको दुई ठूला अर्थतन्त्र – अमेरिका र चीन – बीचको तनावले प्रभावित भएको आर्थिक सन्तुलन पुनःस्थापना गर्न सँगै अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।
गत बिहीबार ट्रम्प र सीले एपेक शिखर सम्मेलनको साइडलाइनमा भेट गरी अघिल्ला व्यापार अवरोधहरू फिर्ता लिने र तनाव घटाउने सहमति गरेका थिए । बहुपक्षीयतामा सशङ्कित मानिएका ट्रम्पले उक्त सहमति भएपछि दक्षिण कोरियाबाट शीघ्र प्रस्थान गरे । यसले चिनियाँ राष्ट्रपतिलाई सम्मेलनमा अग्रपङ्क्तिको भूमिका दिलायो ।
दक्षिण कोरियाको नेसनल डिप्लोमेटिक एकेडेमीका प्राध्यापक जोङहुन मिनका अनुसार वक्तव्यले ‘स्वतन्त्र र खुला व्यापार’ का प्रत्यक्ष शब्दहरू परहेज गरे पनि आर्थिक सहकार्य र बहुपक्षीय मूल्यहरूलाई समेट्न सफल भएको छ ।
वक्तव्यमा एपेक सदस्य राष्ट्रहरूले सन् २०२० मा स्वीकृत पुत्रजया भिजन २०४० प्रति प्रतिबद्धता पुनः दोहोर्याएका छन्, जसले स्वतन्त्र, खुला, निष्पक्ष र पारदर्शी व्यापार वातावरणको लक्ष्य राख्दछ ।
– सी जिनपिङको प्रमुख भूमिका
शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘विश्वव्यापी स्वतन्त्र व्यापार र आपूर्ति शृङ्खलाको स्थिरता’ लाई समर्थन गर्ने घोषणा गरे। उनले एपेकसँगै आयोजित सिइओ शिखर सम्मेलनमा पठाएको सन्देशमा भने, ‘चीनमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो ।’
शुक्रबार सीले जापान, क्यानाडा र थाइल्यान्डका प्रधानमन्त्रीहरूसँग द्विपक्षीय भेट गरेर शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट तय भएको थियो । सियोलका अधिकारीहरूका अनुसार उक्त भेटमा कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरण प्रमुख एजेन्डा थियो ।
तर सो विषयले उत्तर कोरियाको कडा प्रतिक्रिया जन्मायो । उत्तर कोरियाका उपविदेशमन्त्री पाक म्योङ होले दक्षिण कोरियाको ‘आणविक निःशस्त्रीकरणको दिवास्वप्न’ भनेर व्यङ्ग्य गर्नुभयो र चेतावनी दिए, ‘हामीले देखाउनेछौँ यो सपना कहिल्यै साकार हुँदैन ।’
राष्ट्रपति लीले भने कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता स्थापना एसिया–प्रशान्त क्षेत्रको समृद्धिको पूर्वशर्त रहेको बताउँदै उत्तर कोरियासँग मेलमिलापका लागि थप सक्रिय कदम चाल्ने घोषणा गरे।
– एआई र जनसाङ्ख्यिकीय चुनौतीमा छलफल
शुक्रबारको सत्र व्यापार र लगानीमा केन्द्रित रहे पनि शनिबारको बैठकमा कृत्रिम बौद्धिकता ९एआई०, जनसाङ्ख्यिकीय चुनौती र सांस्कृतिक उद्योगमा सहकार्यका विषयमा गहन छलफल भयो ।
नेताहरूले दुई पृथक वक्तव्य जारी गर्दै ती विषयहरूमा साझा दृष्टिकोण प्रस्तुत गरे । पहिलो वक्तव्यले एआईलाई द्रुत रूपमा बढ्दै गएको डिजिटल वातावरणमा ‘संभावित आर्थिक उत्प्रेरक’ का रूपमा व्याख्या गर्दै समन्वित नीतिको आह्वान गर्यो । दोस्रो वक्तव्यले घट्दो जन्मदर, वृद्ध जनसङ्ख्या र तीव्र सहरीकरणजस्ता सामाजिक चुनौतीहरू सामना गर्न सहकार्यको आवश्यकता औँल्यायो ।
सन् १९८९ मा स्थापित एपेकले स्वतन्त्र र खुला व्यापारलाई प्रोत्साहन गर्दै क्षेत्रीय आर्थिक एकीकरणको उद्देश्य राखेको छ । यद्यपि हालका वर्षहरूमा अमेरिका–चीन प्रतिस्पर्धा, आपूर्ति शृङ्खला अवरोध, वृद्ध जनसङ्ख्या र रोजगारीमा एआईको प्रभावजस्ता चुनौतीहरूले यस क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारिरहेका छन् ।
हाल अमेरिकी नीति चीनसँग सहकार्यभन्दा बढी आर्थिक प्रतिस्पर्धातर्फ मोडिएको छ । राष्ट्रपति ट्रम्पको ‘अमेरिका फर्स्ट’ एजेन्डा र बढ्दो कर नीतिले विश्व बजारमा अस्थिरता सिर्जना गरेको छ र दशकौँको विश्वव्यापीकरण र बहुपक्षीयताको धारालाई चुनौती दिएको छ ।













प्रतिक्रिया