चीनको शेन्झाउ–२१ अन्तरिक्ष स्टेशनसँग सफल डक  | Khabarhub Khabarhub

चीनको शेन्झाउ–२१ अन्तरिक्ष स्टेशनसँग सफल डक 


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले शनिबार उसको शेन्झाउ–२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ । यो डकिङ प्रक्रिया चीनको अन्तरिक्ष इतिहासमा नयाँ उपलब्धिका रूपमा दर्ज भएको बताइएको छ ।

चीन म्यान्ड स्पेस एजेन्सीका अनुसार सम्पूर्ण डकिङ प्रक्रिया करिब साढे तीन घण्टा मात्र चलेको हो । यो अघिल्ला मिसनहरूभन्दा तीन घण्टा छोटो हो । शेन्झाउ–२१ स्पेसक्राफ्ट उत्तरपश्चिमी चीनको जियुक्वान प्रक्षेपण केन्द्रबाट शुक्रबार राति स्थानीय समय अनुसार ११ः४४ बजे योजना अनुसार प्रक्षेपण गरिएको थियो । सफल डकपछि यानमा रहेका तीनजना अन्तरिक्ष यात्रीले अन्तरिक्ष स्टेशनको तियानहे कोर मोड्युलमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

चालक दलमा पाइलट तथा मिसन कमान्डर झाङ लु रहेका छन् । उनी दुई वर्षअघि शेन्झाउ–१५ मिसनमार्फत पनि अन्तरिक्ष स्टेसन पुगिसकेका अनुभवी अन्तरिक्ष यात्री हुन्। अन्य दुई सदस्य पहिलोपटक अन्तरिक्ष यात्रामा सहभागी भएका हुन् । ३२ वर्षीय इन्जिनियर वु फेई देशका सबैभन्दा कान्छा अन्तरिक्ष यात्री हुन् भने झाङ होङ्झाङ पेलोड विशेषज्ञ हुनुहुन्छ जसले यसअघि नयाँ ऊर्जा र नयाँ सामग्रीमा अनुसन्धान गरेका थिए ।

झाङ लुले टोलीले तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा ताई–ची, बगैँचा सिँचाइ र कविताको माध्यमबाट ‘अन्तरिक्षलाई युटोपिया’ बनाउने लक्ष्य रहेको बताए । उनीहरू पनि अघिल्ला चालकदलझैँ झन्डै छ महिनासम्म अन्तरिक्षमा बस्नेछन्।

अन्तरिक्षमा रहँदा चालक दलले जैव–प्रविधि, एयरोस्पेस चिकित्सा, सामग्री विज्ञान र अन्य विषयमा २७ वैज्ञानिक तथा अनुप्रयुक्त परियोजना सञ्चालन गर्ने योजना बनाएको छ । यसपटक पहिलोपटक चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा मुसा पठाएको छ । दुई नर र दुई पोथी गरी कुल चार मुसालाई वजनहीनता र सीमित वातावरणले तिनीहरूको व्यवहार र अनुकूलन क्षमतामा कस्तो प्रभाव पार्छ भन्ने अध्ययनका लागि पठाइएको हो ।

चीन एकेडेमी अफ साइन्सका इन्जिनियर हान पेइका अनुसार यस अध्ययनले अन्तरिक्षमा साना स्तनपायी प्राणीहरूको प्रजनन, अनुगमन तथा आपतकालीन प्रतिक्रियाको प्रविधि विकासमा मद्दत गर्नेछ ।’ उनले भने, ‘मुसाहरूको अन्तरिक्ष वातावरणमा अनुकूल परिवर्तनहरूको प्रारम्भिक मूल्यांकन हाम्रो भविष्यका जैविक अध्ययनका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछ ।’

सिन्ह्वा समाचार एजेन्सीका अनुसार ६० दिनभन्दा बढी गहन प्रशिक्षणपछि ३०० उम्मेदवारमध्येबाट यी ‘स्पेस माइस’ छनोट गरिएको हो । चाइना नेसनल रेडियोका अनुसार यी मुसाहरू पाँचदेखि सात दिनसम्म अन्तरिक्ष स्टेशनमा रहनेछन् र फर्कने क्रममा शेन्झाउ–२० यानमार्फत पृथ्वीमा ल्याइनेछ ।

चीनको अन्तरिक्ष कार्यक्रम विगत दुई दशकदेखि देशको राष्ट्रिय गौरव र प्रविधिक उपलब्धिको प्रतीक बनेको छ । चीनले सन् २००३ मा पहिलो मानवयुक्त अन्तरिक्ष उडान सफलतापूर्वक सम्पन्न गर्दै पूर्व सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकापछि यस्तो उपलब्धि हासिल गर्ने तेस्रो राष्ट्र बनेको थियो ।

चीन म्यान्ड स्पेस एजेन्सीका प्रवक्ता झाङ जिङ्बोले चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने अभियानका लागि अनुसन्धान तथा विकास कार्य सुचारु रूपमा अगाडि बढिरहेको जानकारी दिए । उनले भने, ‘सन् २०३० सम्ममा चन्द्रमामा चिनियाँ अन्तरिक्ष यात्री अवतरण गराउने हाम्रो लक्ष्य दृढ र स्थिर छ ।’

‘स्वर्गीय महल’ अर्थ लाग्ने तियाङ्गोङ पूर्ण रूपमा चीनद्वारा निर्मित अन्तरिक्ष स्टेशन हो । अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट चीनलाई अलग गरिएपछि यो परियोजना चीनकै प्रयासले सम्पन्न गरिएको हो । देशको अन्तरिक्ष कार्यक्रम सत्तारूढ कम्युनिस्ट पार्टीको सैन्य शाखा, पिपुल्स लिबरेसन आर्मी (पिएलए) को निगरानीमा सञ्चालन हुँदै आएको छ ।

त्यसैगरी, पाकिस्तानसँगको सहकार्यमा चीनले हाल दुईजना पाकिस्तानी अन्तरिक्ष यात्री चयन गर्ने प्रक्रिया अघि बढाएको छ । तीमध्ये एकजना पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा पठाइने तयारी भइरहेको छ, जसले चीनको अन्तरिक्ष स्टेशनमा प्रवेश गर्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीको रूपमा नयाँ अध्याय सुरु गर्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ३ : २२ बजे

बङ्गलादेशमा डक कामदारहरूको हडताल

ढाका– बङ्गलादेशका डक कामदारहरूले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध

भोजपुर– निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध

मनासलु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार

गोरखा– मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर

जनार्दनबारे प्रचण्ड भन्छन्ः आफ्नो कुरा राखेर हिँड्ने शैली ठिक भएन

काठमाडौं – नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कात्तिक

तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं– काठमाडौँको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ