नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको घटनालाई गलत रूपमा नेपाली नागरिकमाथिको विभेदको रूपमा प्रस्तुत गरिएको भारत सरकारले दाबी गरेको छ।
भारत सरकारको प्रेस सूचना ब्यूरोले उक्त घटनामा भारतीय अध्यागमनको भूमिका नरहेको जनाएको हो । अधिकारी काठमाडौँबाट एयर इन्डियाको उडानमार्फत दिल्ली आइपुगेकी थिइन् । त्यहाँबाट कतार एयरवेजको ट्रान्जिट उडानमार्फत बर्लिन जाने तयारीमा थिइन्।
तर कतार एयरवेजले उनको भिसा अवधि र गन्तव्य देशका नियमका कारण उडानमा चढ्न नदिने निर्णय गरेको भारतीय पक्षले दाबी गरेको छ । कतार एयरवेजलै उनलाई पुनः काठमाडौँ फर्काएको पनि वक्तव्यमा भनिएको छ ।
यस किसिमका निर्णय एयरलाइन्सहरूले सम्बन्धित देशका भिसा नियमअनुसार गर्ने भारत सरकारको दाबी छ । ‘यसमा इमिग्रेशनको कुनै संलग्नता हुँदैन,’ वक्तव्यमा भनिएको छ । दिल्लीमा रोकिएपछि अधिकारीले यात्रा तालिका फेरि मिलाएर अर्को मार्ग हुँदै जर्मनी प्रस्थान गरेकी थिइन्।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूले आफ्नो अगाडिको उडानका लागि भारतीय इमिग्रेशनमा पुग्नु आवश्यक पर्दैन। यो पूर्ण रूपमा यात्रु र एयरलाइनबीचको विषय हो, जसमा भारतीय इमिग्रेशनको कुनै भूमिका हुँदैन।’
भारतले नेपालसँगको बलियो मित्रता र आपसी सम्बन्धको कदर गर्दै कुनै पनि भारतीय निकायले नेपाली नागरिकमाथि पूर्वाग्रह वा विभेद नगरेको जनाएको छ।













प्रतिक्रिया