काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले सोमबार पारित गरेको कार्य तालिका अनुसार पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि तयार रहन उक्त प्रस्तावमा हस्ताक्षर गरेका प्रतिनिधिहरूले साझा अपिल जारी गरेका छन्।
पन्ध्रौं महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम भएको उल्लेख गर्दै अपिलमा भनिएको छ, ‘उक्त समयमा महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशनका लागि तयार रहन हार्दिकतापूर्वक आह्वान गर्न चाहन्छौं।
केन्द्रीय समितिले प्रस्ताव गरेको पुस २६-२८ को महाधिवेशन मितिपूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्य तालिका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको अपिलमा उल्लेख छ।
‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ। त्यसैले हामी स्पष्ट पार्न चाहन्छौं, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृंखला अवरूद्ध गरिए वा भए असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ,’ अपिलमा भनिएको छ।
यस्तो छ अपिल
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको २०८२ मंसिर १५ गते बसेको बैठकले गरेको पार्टीको १५औं महाधिवेशनको कार्यतालिका र अन्य निर्णयहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामीले १५औं महाधिवेशनलाई समयमै सम्पन्न गर्नुपर्छ भन्ने माग गत महासमिति बैठकदेखि स्पष्ट रूपमा राख्दै आएका छौं।
गत भदौ २३-२४ पछिको गम्भीर राजनीतिक संकट बेला पनि हामीले तत्काल केन्द्रीय समिति बैठक बोलाएर महाधिवेशनको ठोस कार्यतालिका बनाउनुपर्छ भनेर जोडदार आवाज उठाएका थियौं। तर विडम्बना केन्द्रीय नेतृत्वले महाधिवेशनप्रति देखाएको उदासीनता र ढिलासुस्तीले पार्टीको आन्तरिक जीवनलाई गम्भीर संकटतर्फ धकेलेको यथार्थ हामी सबैले महसुस गरेका छौं।
यही वास्तविकताबाट निर्देशित हुँदै हामी २,४८८ जना (कुल महाधिवेशन प्रतिनिधिको ५४.८ प्रतिशत) ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएका थियौं।
यो निवेदन केवल दबाबको अस्त्र मात्र थिएन, यो त समयमै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्वको स्मरण पनि थियो।
एकातिर देश गम्भीर राजनीतिक संकटको भुमरीमा फसिरहेका बेला पनि केन्द्रीय समिति मौन बस्नु, अर्कातिर असोज २८ मा सुरू भएको बैठकलाई अनावश्यक रूपमा मंसिर १५ सम्म लम्ब्याएर उपलब्ध एक महिना १८ दिन खेर फालियो। अन्ततः विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबाब स्वरूप १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकोमा हामीले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छौं।
यो घोषणा विशेष महाधिवेशलाई निस्तेज पार्न गरिएको हो वा वास्तवमै महाधिवेशन गर्न खोजिएको हो, समयक्रमले नै जबाफ दिनेछ।
हामी सबै जानकार छौं — गत भदौ २६ मा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ मा आमनिर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ। त्यसअघि नै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु हाम्रो संवैधानिक, राजनीतिक र नैतिक दायित्व हो। यो दायित्व पूरा गर्न हामी कोही पनि पछि हट्नु हुदैन, पछि हट्ने छैनौं।
केन्द्रीय समितिले प्रस्ताव गरेको पुस २६-२८ को महाधिवेशन मितिपूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्य तालिका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको छ। हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ। त्यसैले हामी स्पष्ट पार्न चाहन्छौं, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृंखलाहरू अवरूद्ध गरिए वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ।
पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ।
यसबीच हुने आमचुनावका विभिन्न सिफारिसको अवस्था के हुन्छ? यसको निष्पक्षता र वैधताको आधार के हो? यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौं। लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन केवल विधानको दायित्व मात्र होइन, यो त पार्टीको आन्तरिक लोकतन्त्रको श्वास, नयाँ पुस्ताको ऊर्जा र नेतृत्व नवीकरणको अनिवार्य प्रक्रिया हो। यो त पार्टीलाई नागरिकको बदलिँदो आकांक्षासँग जोड्ने सेतु हो, नीति र नेतृत्व दुवैलाई समयको मागअनुरूप परिमार्जन गर्छ।
अन्त्यमा, देश तथा विदेशमा रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरू, समर्थक एवं शुभेच्छुकहरूलाई यसबीच उत्पन्न हुन सक्ने हरेक प्रतिकूलताको सामना गर्दै एकजुट भएर १५औं महाधिवेशनलाई समयमै सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन अनुरोध गर्छौं।
यदि उक्त समयमा महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशनका लागि तयार रहन समेत हार्दिकतापूर्वक आह्वान गर्न चाहन्छौं।
१५औं महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम हो। यसका लागि हस्ताक्षरकर्ता सम्पूर्ण साथीहरूलाई हार्दिक आभार प्रकट गर्छौं। साथै, पार्टीको समग्र सुधार, रूपान्तरण र पुनर्गठनका लागि तपाईंहरूको साथ र समर्थन सधैं रहिरहने विश्वास व्यक्त गर्छौं।













प्रतिक्रिया