राजावादीको लुटपाट : प्रविधिको युगमा सकिँदैन लुक्न | Khabarhub Khabarhub

राजावादीको लुटपाट : प्रविधिको युगमा सकिँदैन लुक्न



काठमाडौं – चैत १५ गते शुक्रबार राजावादीहरूको प्रदर्शन क्रममा व्यापक चोरी र भयो । भिडभाड र हुलदङ्गाको फाइदा उठाउँदै तीनकुनेस्थित आगो लागेको घरबाट मोबाइल, ल्यापटप र पैसासमेत चोरी भयो । साथै, कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट खानेकुरा र लत्ताकपडा लगायत ग्रोसरीका सामान लुटियो ।

चोरी गरी छिप्न खप्पिस पेशेवर डकैतहरूको बिगबिगी भिडभाडका हुने नै भयो । तर, सामान्य अवस्थामा अरूको सामान छुनसमेत डर मान्ने व्यक्तिहरू पनि त्यो दिन लुटपाटमा सङ्लग्न भए ।

प्रहरीका अनुसार; भाटभटेनी स्टोर वरपरका स्थानीय र साना पसलेहरू नै उक्त दिन लुटपाटमा संलग्न देखिएका छन् । प्रहरीले लुटपाटमा सङ्लग्नउपर थप अनुसन्धान गर्दैछ ।

प्रदर्शनकारीहरूले स्टोरमा पसेर संरचना फुटाउने, भत्काउने र सामान फाल्ने गर्न थाले । मानिसहरूले आफ्नो आवश्यकता र रुचि अनुसारका सामान बोकेर हिँड्न थाले ।

कसैले ह्विस्की र बियरका बोतल बोकेर हिँडे । कसैले टमाटरको क्रेट नै बोकेर हिँड्न थाले । केही लत्ताकपडा र पाउरोटीको पाकेट लिएर हिँडेकी महिलाको तस्बिर त इन्टरनेटमा भाइरल नै भयो । इस्टकोट लगाएका, भद्रभलाद्मी जस्ता देखिने एक व्यक्ति दुई/चार दाना स्याउ र सुन्तला बोकेर हिँडे ।

तर, अहिले उनीहरू सबैलाई सानो लोभले प्रहरी हिरासत पुर्‍याएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरी गर्नेहरूलाई पक्राउ गरी सबैको विवरण सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी लुटेका धनुषाका आशिष तामाङ, बियर लुटेका सर्लाहीका प्रेमकुमार महतो र यार्चागुम्बा ब्राण्डको मदिरा लुटेका भारतका रवीरञ्जन कुमार पक्राउ परेका छन् ।

उता; हाफ पाइन्ट र ट्राउजर लुटेर भागेकी नुवाकोटकी सुशीला कुमाल पनि पक्राउ परेकी छन् । त्यस्तै ट्रे र क्यारेट लुटेर लगेकी सुनसरीकी एलिशा राई, क्यारेट लुटमा सङ्लग्न कोटेश्वरकै बालकुमारी कार्की पनि समातिएकी छन् । फलफूल लुटमा सङ्लग्न सिन्धुपाल्चोककी निर्मला कार्की पनि पक्राउ परेकी छन् ।

भाटभटेनीको भुइँतलास्थित स्टोरबाट लिपिस्टिक र गाजल लुटेर लैजाने कोटेश्वरकै चित्रमाया बस्नेत र सुस्मिता बराल पनि पक्राउ परेका छन्‌ ।

पक्राउ परेपछि उनीहरू निद्राबाट ब्युझिए जस्ता भएका छन् । हुलदङ्गामा भुइँमा छरिएका सामान उठाउनु स्वाभाविक मान्नेहरू छाँगाबाट खसेका छन् । उनीहरूले सोचेका पनि थिएनन्, प्रहरीले खाना खाँदै गर्दा पक्राउ गर्छ ।

अझ अर्को तनाव त सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल हुँदा थपिएको छ । स्टोरको सामान बोकेर भागेका फोटो र भिडियो जताततै छरपष्ट छन् । जीवनभर कमाएको सामाजिक प्रतिष्ठा माटोमुनि पुगेको छ ।

पोशाकका हिसाबले कुर्ता लगाउने नारीलाई सुशील र सुसंस्कृत मानिन्छ । इष्टकोट पनि भद्रहरूले लगाउँछन् भन्ने मान्यता छ । तर, सञ्जालमा ‘त्यस्ता पोशाक लगाएका पनि लुटुवा हुने रहेछन्’ जस्ता गालीको वर्षा छ ।

त्यतिखेर उनीहरूले ‘परिवारले पनि खान्छन्’ भनेर सामान उठाएका थिए । यतिबेला परिवारकै सदस्यबाट गाली खाइरहेका छन् ।

परिवार, आफन्त र साथीभाइले गाली गरिरहेका छन् । सञ्जालमा थर मिल्नेहरू र जिल्ला एकै हुनेले समेत आफूहरूको बेइज्जत गरेको भन्दै धज्जी उडाइरहेका छन् । एकछिनको सानो लोभले जीवनभर त दाग लाग्नु त छँदैछ, सन्तानले समेत ‘चोर’को ट्याग भिर्नुपर्ने अवस्था निम्तिएको छ ।

यो युग प्रविधिको युग हो । मान्छेसँग राम्रो खाना नहोला, राम्रो नाना नहोला । तर, यतिबेला हरकोही मानिसको हातमा मोबाइल र ट्याब छ । हातहातमा प्रविधि र इन्टरनेट छ । अर्को, सार्वजनिकस्थलदेखि निजी परिसरसम्ममा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेरा जडान छ ।

हर-स्थानको निगरानी राख्ने र त्यसको अवस्था आम मानिससम्म पुर्‍याइदिने यत्तिको अत्याधुनिक प्रविधि अपनाइसकेको देशमा जस्तोसुकै अपराध गर्नेहरू पनि छिप्न सक्दैनन् । नेपाली बजारमा विश्वमा उपलब्ध अत्याधुनिक निगरानी प्रविधि जडान सहज भइसकेको छ । अब हामीले सार्वजनिक स्थानमा गरेका क्रियाकलाप लुक्नै सक्दैन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीले सामाजिक सञ्जाल टिकटक र सडकको सीसीटीभी फुटेजबाट उनीहरूलाई पक्राउ गर्न सजिलो भएको प्रवक्ता जिसी बताउँछन् ।

भन्छन्, ‘स्टोरको सामान चोर भाग्दै गरेको भिडियोहरू टिकटकमा आयो । सञ्जालमा यत्रतत्र सबै भिडियोहरूलाई मनिटर गर्‍यौँ। सडकमा जडान गरिएका सीसीटीभी फुटेजमार्फत उनीहरूको पहिचान गरी पक्रिएका हौँ ।’

जिसीका अनुसार; प्रहरीले यतिखेर टिकटक र सीसीटीभी फुटेजमा देखिएको व्यक्ति पहिचान र पुष्टि गर्न आवश्यक सबै विधि अपनाउन थालेको छ । यतिसम्म कि छिमेकी र आफन्तको सहारासमेत लिन थालेको छ ।

‘सूचना संयन्त्रको लागि प्रहरी बाहेक साथीभाइ र चिनेका मान्छेहरूबाट पनि जानकारी लिएका छौँ,’ जिसीले थपे, ‘तीनकुने, भाटभटेनी, जडीबुटी लगायतका क्षेत्रहरूमा हामीले टोली परिचालन गरिरहेका थियौँ । घरभित्रबाट ल्यापटप चोरर हिँड्दै गरेको पनि देखियो । प्रहरीले रोक्न खोज्दा पनि सामान लिएर भागेकाहरू पक्राउ पर्न थालेका छन्‌ ।’

तर यिनीहरू पेशेवर चोर भने नभएको जिसीको भनाइ छ । ‘अघिपछिका चोर होइनन् । भिडभाडको लहैलहैमा त्यसो गरेका हुन् । अरूले झैँ आफूले पनि सामान उठाउन थाले । स्याउ, रक्सी र लत्ताकपडा चोर्ने मान्छेलाई आफूले के नै ठूलो अपराध गरेको हुँ र भन्ने भयो होला । खानेकुरा खाए सिध्याए। त्यसकारण थेरै असुरक्षा सम्झिएनन् र भागेनन् । जसकारण प्रहरीलाई समात्न सजिलो भयो,’ जिसीले भने ।

सङ्कटको अवस्थामा अर्काको सम्पत्ति संरक्षण गरिदिनु हरेक नागरिकको कर्तव्य हुने एसपी जिसी बताउँछन् । उनी थप्छन्, ‘हामी भिड हौँ भनेर जे पनि गर्न पाइँदैन । सरकारी वा गैरसरकारी कुनै सम्पत्ति क्षति गर्न पाइँदैन । मौकाको फाइदा लिनु भनेकै दुराशय मनस्थिति हो । आफ्नो कर्तव्य बिर्सेर उल्टै बोकेर हिँड्ने ?’

शुक्रबार काठमाडौंमा दुई फरक समूहले प्रदर्शन आयोजना गरेका थिए । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ प्रदर्शनकर्ता थिए ।

कानुनी व्यवस्था के छ ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद –२६ को दफा २८६ मा लुटपिट गर्न र गराउन नहुने उल्लेख छ । उक्त दफाको उपदफा (१) अनुसार; कसैले आफ्नो हक नपुग्ने वा अन्य कसैको स्वामित्व, जिम्मा वा नियन्त्रणमा रहेको सम्पत्ति चोरी वा लुटपाट गर्न पाइँदैन ।

यदि गरेमा तीन महिना कैद वा लुटपाट गरेको बिगोको २५ प्रतिशत जरिवाना वा दुवै हुनेछ । लुटपाट भएको सम्पत्ति बिगो कसूरदारबाट पीडितलाई क्षति भराइन्छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : ५८ बजे

विद्यार्थीलाई विद्यालय तहदेखि नै खेतीपातीमा आकर्षित गर्न नीति बनाउनु पर्छ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं– आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय

विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका

बाम्का बजार आगलागी : सरकारसँग राहतको माग

बाजुरा– बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडितलाई तत्काल राहत