हेपिएको बाली ‘कोदो’ – स्वास्थ्यका लागि राम्रो : माग बढ्दो, उत्पादन घट्दो « Khabarhub

हेपिएको बाली ‘कोदो’ – स्वास्थ्यका लागि राम्रो : माग बढ्दो, उत्पादन घट्दो


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै समय कु–बालीका रूपमा बुझिने कोदो, यसको उपभोगलाई समेत हेयका दृष्टिले हेर्ने गरिन्थ्यो ।

धान खेती नहुने भीर–पाखामा लगाइने कोदो नेपालको परम्परागत बाली हो । छाक टार्नका लागि यसको उत्पादन गरिन्थ्यो ।

मुलुकका ग्रामीण भेगमा सडक सञ्जाल जोडिएपछि यातायातका साधन चल्न थाले । दुःखको खान्कीका रूपमा परिभाषित कोदो बाली बिस्तारै लोप हुँदै गयो । किनेरै भए पनि मीठो मसिनो खानुपर्छ भन्ने मान्यता बढ्न थाल्यो । चामल किनेर भात खाने प्रचलन बढेपछि कोदोको खेती पनि घट्दै गयो ।

अहिले भने अवस्था फेरिएको छ । ठूला–ठूला तारे होटेल तथा रेष्टुराँहरूमा कोदोका ढिँडो, मःमः, रोटीलगायतका परिकार ग्राहकको रोजाइमा पर्न थालेको छ ।

स्वास्थ्य तथा पोषणका लागि लाभदायी रहेको कोदो सुगर तथा मुटुरोगीका लागि उत्तम खानाका रूपमा मानिन्छ ।

शहर बजारमा केही समय यता कोदोको माग बढ्दो क्रममा रहे पनि मागअनुसार उत्पादन भने हुन नसकेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका कर्मचारी (माटो विज्ञ) बलराम रिजाल बताउँछन् ।

खबरहबसँगको कुराकानीमा माटो विज्ञ रिजालले कोदोको माग बिस्तारै बढ्दो क्रममा रहेको बताए ।

नेपाल सरकारले पनि स्थानीय तहमार्फत् कोदो बालीको उपयोगिता बारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शहरी क्षेत्रमा मधुमेह, मुटुरोगलगायतका समस्या बढ्दै जाँदा कोदोको उपभोग गर्न प्रोत्साहित गरिएको छ । विशेषगरी नेपालीहरूको अत्यधिक भात खाने बानीले स्वास्थ्य समस्या निम्तिएको पोषणविद् बताउँछन् ।

यस्तो अवस्थामा कोदोजन्य खाना खानु एकदमै उत्तम हुने भएकाले कोदोको माग बढिरहेको विज्ञ रिजालको बुझाइ छ ।

‘पहिले पहिले कोदो खानेलाई हेयको दृष्टिले हेरिन्थ्यो, अहिले त्यो सिनारियो बिस्तारै परिवर्तन हुँदै गएको छ ।’ रिजाल भन्छन् ।
कोदोको ढिँडो या रोटी बनाएर मात्रै खाने पुरानो प्रचलन थियो । अहिले कोदोका विभिन्न परिकार बनाएर खाने चलन बढ्दै छ ।

मैदाकै परिकारमा पनि थोरै मात्रामा कोदोको मिसावट हुँदा पनि पोषक तत्व पुग्ने पोषणविद् बताउँछन् ।

कोदोको खेती घट्दो

पहाडी पाखामा गरिने कोदो खेती कम हुँदै गएको छ । पहाडी क्षेत्रमा पहिले जसरी नै खेती हुन सकेको छैन । पहाडी बस्ती रित्तिँदै जाँदा जमिन बाँझै छन् ।
तर आयातमा भने कोदोको परिमाण बढिरहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका माटो विज्ञ बलराम रिजाल बताउँछन् ।

‘पहिले पहिले घरेलु मदिरा बनाउन कोदोको बिक्री हुन्छ भन्ने सुनिन्थ्यो, १०–१५ वर्ष अघि कोदोलाई अन्नकै रूपमा प्रयोग गरिन्थ्यो । तर पछिल्लो समय सडक पहुँचका कारण किनेरै भए पनि चामल खाने, कोदो नखाने प्रचलन बढेको छ,’ विज्ञ रिजाल भन्छन्, ‘परम्परागत बाली कोदोलाई चामललगायतका अन्नले प्रतिस्थापन गरेकाले उत्पादनमै कमी आएको हो ।’
विज्ञ रिजालका अनुसार विगत ४–५ वर्षदेखि भने पुनः कोदोको खेतीतर्फ आकर्षण भएको देखिन्छ । तर बसाइसराइका कारण मागअनुसारको उत्पादन हुन सकेको छैन ।

स्वास्थ्यका दृष्टिले उपयोगी

हाम्रो शरीरलाई चाहिने सुक्ष्म पोषकतत्वहरू कोदोमा धेरै पाइने भएकाले स्वास्थ्यका दृष्टिले कोदो उत्कृष्ट खाना मानिन्छ ।

कोदोमा आइरन धेरै पाइने हुनाले रगतको कमी भएका व्यक्तिलाई पनि फाइदा गर्छ । रेशायुक्त अन्न भएकाले कोदोको अन्न खाँदा कब्जियतको समस्या हुँदैन ।
विशेष गरी मधुमेह, मोटोपनलगायतका समस्या भएका व्यक्तिलाई कोदोका परिकारले फाइदा गर्छ । थोरै खाँदा पनि धेरैबेरसम्म भोक लागेको अनुभव हुँदैन । चिकित्सकहरूले पनि मधुमेहका बिरामीलाई कोदो, फापर खान सल्लाह दिने गर्दछन् ।

पछिल्लो समय कोदोबाट उत्पादित बिस्कुट, मःमः लगायतका परिकार खाने चलन बढ्दो छ । कोदोलाई जस्तै परिकार बनाएर खाँदा पनि फाइदाजनक नै हुने जनस्वास्थ्यविद् तथा पोषणविद् अरुणा उप्रेती बताउँछिन् ।

पोषणविद् उप्रेतीका अनुसार कोदोका परिकार कहिल्यै नखाएका मान्छेले भने एकैपटक धेरै खानुहुँदैन । कोदोमा धेरै पौष्टिक तत्व हुने भएकाले पचाउन गाह्रो हुन्छ । अन्य अन्नसँग मिलाएर थोरै मात्रामा खान सकिन्छ ।

कोदोमा पाइने पौष्टिक तत्वहरू

कोदोमा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्वहरू पाइन्छन् । कोदोमा प्रोटिन फ्याट, भिटामिन, राइबोफ्लयाबिन, कार्बोहाइड्रेड, क्याल्सियम, फाइबर, नाइसिन लगायतका पौष्टिक तत्व पाइने भएकाले शरीरमा रगतको मात्रा बढाउनेदेखि पाचन प्रणालीलाई सघाउ पुर्‍याउने समेतका फाइदा हुने पोषणविद् उप्रेतीको भनाइ छ ।

जलवायु परिवर्तनको असर थेगिरहेको कोदो बाली

विज्ञका अनुसार धान, मकै, गहुँ बाली जस्तो कोदोजन्य बालीमा जलवायु परिवर्तनको असर कम परिहरेको छ ।

कोदो कम पानी भएको, भिरालो र पाखो जग्गामा पनि फल्ने अन्न हो । जलवायु परिवर्तनको मारमा अन्य बाली परिरहेको अवस्थामा समेत कोदोजन्य बालीको खेती सजिलै गर्न सकिने माटोविज्ञ बलराम रिजाल बताउँछन् ।

विश्व्यापी रुपमै बढ्दै गइरहेको जलवायु परिवर्तन र पानीको सङ्कुचनसँग जुध्न सक्ने बालीका रूपमा कोदोलाई लिइन्छ । कोदोसँगै १२–१३ जातिका खाद्यान्नलाई विकल्पका रूपमा राखिएको विज्ञ रिजालको भनाइ छ ।

राष्ट्रिय कोदो दिवस

नेपालको परम्परागत खेती कोदो स्वास्थ्यवद्र्धक र पोषणयुक्त अन्नमध्ये एक हो । जसको उत्पादन पछिल्लो समय क्रमशः घट्दै गएको देखिन्छ । यही तथ्यलाई ध्यानमा राख्दै सरकारले कोदोको संरक्षण, प्रवद्र्धन तथा मूल्यवद्र्धन गर्नका लागि ‘राष्ट्रिय कोदो दिवस’ को औपचारिक मान्यता दिने निर्णय गरेको हो ।
हरेक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ औपचारिक रूपमा मनाइने भएको छ । यो निर्णय हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको हो ।

नेपाल र भारतका पहाडी भेगमा उत्पादन हुने यो अन्न मुख्य खाद्य बालीका रूपमा उब्जाइन्छ । समुद्र सतहदेखि १८०० मिटर उचाईसम्म सजिलै खेती गर्न सकिने भएकाले यो अन्न पहाडी भेगमा निकै लोकप्रिय छ ।

कोदोमा क्याल्सियम, फलाम र फस्फोरसजस्ता शरीरका लागि आवश्यक पोषक तत्व प्रशस्त मात्रामा पाइन्छन् । यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्‍याउँछ । कोदो पशुको दाना बनाउन पनि उपयोगी छ । उमारिएको कोदोबाट पौष्टिक पेय तयार पारिन्छ । बच्चादेखि लिएर गर्भवती र वयस्कसम्म सबैका लागि लाभदायक हुन्छ ।

साउन १६ लाई ‘राष्ट्रिय कोदो दिवस’ घोषणा गर्नु केवल एक निर्णय होइन, यो हाम्रो परम्परागत कृषि प्रणाली, स्वास्थ्यप्रद जीवनशैली र स्वदेशी उत्पादनप्रतिको सम्मान पनि हो । यस्तो दिवसले कोदो खेतीप्रति जनचासो बढाउने, किसानलाई प्रेरित गर्ने र नेपालको मौलिकता झल्काउने महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गर्न सकिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १२ : ३९ बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग