धादिङ–मलेखु सडक : भासिने र पहिरो जाने क्रम रोकिएन « Khabarhub

धादिङ–मलेखु सडक : भासिने र पहिरो जाने क्रम रोकिएन


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ ।

कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो । स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ ।

सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।

२०५६ सालबाट सुरु भएर २०५८ सालमा कालोपत्र सकिँदादेखि हालसम्म निरन्तर यही सडक प्रयोग गर्दै आएका स्थानीयवासी भरत ढुङ्गानाले पछिल्ला वर्षहरूमा सडक तलतिर दबिने र माथिबाट पहिरोले धकेल्ने क्रम झन् बढेको बताए ।

सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडक यही हो । नीलकण्ठ– ८ दारेगौँडामा सडक भासिन थालेको झण्डै २४ वर्ष भयो । हुन त गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजन कार्यालयले मर्मतको ठेक्का लगाएको थियो । मर्मत सुरु भएको पनि थियो । तर भौगोलिक अवस्था अध्ययन नगरी हचुवाका भरमा काम गरिँदा काम सक्नै नपाई पहिरोले क्षति गरेको छ । त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको ढुङ्गानाले बताए ।

हरेक समय सडकको बीच भागबाट नै चिरा परेर भासिँदै जाने र बर्सेनि टालटुल गरेर त्यसैमाथि कालोपत्र हालिदै आएको सडकमा अहिले त नजिक पुग्दा पनि डरलाग्दो बनेको छ । सडकको छेउबाट कुनासम्म नै दबिएको छ । आधा भागमा त मान्छे गएर उभिनसक्ने अवस्था पनि छैन । कुनापट्टिबाट ढेप्पिएर जसोतसो गाडी वारपार भइरहेको छ । ठूला गाडीले आधा टायर पहिरोमा झुण्ड्याएरै पहिरो छिचोल्नुपर्ने बाध्यता छ ।

अन्यत्र जिल्लाबाट सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडकको दारेगौँडा पार गर्दा यात्रु र सवारी चालकलाई हम्मेहम्मे हुने गर्दछ ।

पहिरोको लम्बाइ करिब एक सय मिटरमात्र छ । सडक मर्मतमा ध्यान नदिँदा हरेक वर्ष जोखिम बढ्दै गएको हो । भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ । सडकको तल्लोपट्टि थोपल खोला छ । खोलाकिनारदेखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ । माथिबाट पनि पहिरो खस्ने क्रम दिनहुँ बढ्दो छ ।

सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ । सडक विभाग, स्थानीय सरकारका जिम्मेवार व्यक्ति दैनिक यही सडक हुँदै सदरमुकाम आवतजावत गर्छन् । तर सम्भावित जोखिम र दुर्घटनाबारे चासो देखाएको पाइँदैन ।

जानकारहरूका अनुसार पहिरो रोक्न खोला किनारदेखि नै पर्खाल उठाएर मर्मत गर्नुपर्छ । मर्मतका नाममा पहिलोपटक यस वर्ष केही भागमा ग्यावियन जाली लगाइयो । त्यो ग्यावियन जालीपछि सडकसँगै भासिएको छ । जग नै बलियो नभएको सडकको टुप्पामा अलिकति जाली लगाएर सडक विभागले झारा टार्ने काममात्र गरेको स्थानीयको गुनासो छ ।

कालु पाण्डे मार्गका तत्कालीन सुपरभाइजर अर्जुन सापकोटाले ‘स्वायल टेष्ट’ गरेर दीर्घकालीन समाधानको बाटो खोजिरहेको बताए । तर गत आर्थिक वर्ष बजेट हालेर पनि दीर्घकालीन बाटो पहिल्याउन नसक्दा जोखिम झनै बढेको छ । भएका वैकल्पिक सडकको सामान्य मर्मत गरी प्रयोगमा ल्याउन र त्यस स्थानमा हुनसक्ने सम्भावित दुर्घटना रोक्नतर्फ सम्बन्धित निकायलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ वैकल्पिक बाटो
वैकल्पिक बाटोका रूपमा ससाहको देउराली चौताराबाट इँटाभट्टा, मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरेको प्रतीक्षालय निस्कन मिल्छ । तर कच्ची सडक हिलो र खाल्डाखुल्डी मर्मत नगरिँदा सवारीसाधनले यो बाटो पनि प्रयोगमा ल्याउन सकेका छैनन् ।

फोरह्वील र अग्ला सवारी जान सक्ने भए पनि सबै खालका सवारीसाधन पार गर्न सक्ने अवस्था नहुँदा वैकल्पिक बाटो प्रयोगविहीन छ । ससाह खोला र खेत आसपासका करिब पाँच सय मिटर दूरीमा सडक अप्ठ्यारो छ । अप्ठ्यारो भागमा ग्राभेल गरेर वैकल्पिक बाटो प्रयोगमा ल्याउन सकिए सम्भावित दुर्घटना रोक्न सकिनेछ । दारेगौँडाको पहिरो नजिकै चौतारोबाट पनि मैदीभन्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्कने बाटो पनि छ । (रासस)

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १० : ३४ बजे

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

बाजुराका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा– पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

तनहुँ– ऋषिङ गाउँपालिका– १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

बालेन फेरि चुनावी अभियानमा झापामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह