चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ? | Khabarhub Khabarhub

चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ?

५० प्रतिशत सडक अधुरै, अझैसम्म डिजाइनकै काम हुँदै



काठमाडौँ – चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर विस्तार गर्दा जग्गा विवादले तोकिएको समयमै काम सम्पन्न हुन सकेन ।

त्यसैले दोस्रोखण्ड (कलङ्की–बसुन्धरा ८.२ किलोमिटर) विस्तारमा चिनियाँ पक्षले नेपाल सरकारसँग छेउका सर्भिस लेन निर्माण सम्पन्न नगरी कुनै काम नथाल्ने अडान राख्यो । उनीहरूको अडान स्वीकार्दै वि.सं. २०७५ मा सरकारले सम्झौता गर्‍यो ।

चिनियाँको अडानपश्चात् २०७५ जेठ १४ गते सरकारले सडक सीमा मिचेर निर्माण गरिएका संरचना हटाउन सूचना जारी गर्दै काम थालेको थियो ।

तर, निर्माणको सात वर्ष बितिसक्दा पनि सरकारले सर्भिस लेन सम्पन्न गर्न सकेको छैन । कामलाई गति दिन नसक्दा चिनियाँ पक्षलाई नेपाल ल्याउन पनि सरकारलाई हम्मेहम्मे परेको छ ।

चक्रपथको यो खण्ड विस्तार नहुँदा र विस्तार गर्ने नाममा सरकारले छेउछाउको जमिन खोस्रेर छाड्दा आम नागरिक र सवारीचालकहरूले निकै सास्ती झेल्नुपरेको छ ।

उक्त सडक भएर हिँड्दा लामो समयसम्म जाम झल्नुपरेको विगत तीन वर्षदेखि उपत्यकामा राइड सेयरिङ गर्दै आएका समीर भट्टराई बताउँछन् ।

‘सरकारको काम सुस्त छ, सबै सडक बनिसक्ने समयसम्म किन काम भइरहेको छैन, बिहान साँझमा कामको चाँप हुन्छ, तर सेवाग्राहीले बोलाएको ठाउँसम्म समयमै पुग्न सकस छ, कमाइ कम हुन्छ परिवार पाल्नुपर्ने जिम्मेवारी छ’, भट्टराईले भने ।

सडक सम्पन्न नहुँदा धुलोले पसलको सामान बिग्रने र व्यापार पनि फस्टाउन नसकेको सडक छेउमै कपडा पसल सञ्चालन गर्दै आइरहेकी सिर्जना कोइरालाको गुनासो छ ।

‘पसलमा पहिलेको जति मान्छे आउँदैनन्, सामान सबै धुलोले काम नलाग्ने हुन्छ, कहिले सडक सम्पन्न होला र पहिलेजस्तै अवस्था बन्ला ? सबै व्यापारीको समस्या उस्तै छ’, उनले थपिन् ।

५० प्रतिशत सडक कालोपत्रे भइसकेकाले चालू आर्थिक वर्षमा सर्भिस लेन सम्पन्न गरी मुख्य सडक निर्माण थाल्ने चक्रपथ सडक विस्तार आयोजनाका प्रमुख कुष्णनाथ ओझाले बताए ।

‘सडकको काममा खानेपानी, विद्युत र ढल लगायतका निकायसँग सहकार्य गनुपर्छ, पोल सार्‍यो – पानीको पाइप चुहिन्छ, फेरि खन्यो मिलायो ! त्यहीमाथि कोभिड र वर्षात्ले पनि काम पछाडि धकेलियो । यतिबेला ढल, नाली र फुटपाथ निर्माणको काम सकिसकेका छौँ, कालोपत्रे हुन बाँकी सडकमध्ये २० प्रतिशत सडक कालोपत्रे गर्न तयार छ बर्खाका कारण काम रोकिएको छ ।’

यस खण्डका लागि गत आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन भएकोमा यसवर्ष १० करोड मात्रै छुट्याइएको, तर बाँकी कामका लागि अझै करिब १५ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको ओझाले बताए ।

मुख्य २५ मिटर लेन निर्माणका लागि अक्टोबरसम्म टेन्डर प्रकृयामा जाने चिनियाँ पक्षले मौखिक सूचना दिएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए ।

‘मुख्य सडक बनाउन चीनको तर्फबाट सर्भे गरिरहेको टिमसँग मौखिक रूपमा कुरा गर्दा सर्भे सम्पन्न गरिसकेकोले अक्टोबरसम्म ठेक्का प्रकृयामा जाने बताएका छन्, त्यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ’, झाले भने ।

२०७५ देखि २०८२ भदौसम्म कहाँ अल्झियो सरकार ?

दोस्रो चरणमा कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको सडक विस्तारका लागि सरकारले वि.सं. २०७५ मै चीनसँग सम्झौता गरेको थियो ।

त्यसपश्चात् २०७५ जेठ १४ गते सरकारले सडक सीमा मिचेर निर्माण गरिएका संरचना हटाउन सूचना जारी गर्दै काम थालेको थियो । विस्तारका क्रममा धार्मिक सम्पदा स्थानान्तरणका क्रममा स्वयमभु, कलङ्की लगायतका क्षेत्रमा उब्जिएको विवाद समाधान गर्न करिब ३÷४ वर्ष लाग्यो । कोभिड १९ का कारण पनि निर्माणलाई तीव्रता दिन नसकिएको ओझा बताउँछन् ।

ओझाका अनुसार कोभिड, जग्गा, धार्मिक स्थलमा आएको विवाद लगायत कारण काममा ढिलाइ भयो । पछि ढल, विद्युत र खानेपानी सबैलाई मिलाएर जानुपर्ने हुँदा पोल निकाल्दा पानीको पाइप फुट्ने हुँदा खन्ने÷पुर्ने काम नै धेरै गर्नुपर्‍यो, सम्बन्धित निकायलाई व्यवस्थापनको जिम्मा दिएपनि काममा ढिलाइ भयो ।

वि.सं. २०७९ मा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएर यो खण्डको विस्तृत अध्ययन गरे पनि प्रतिवेदन दिएन । सरकारको निरन्तर पहलमा २०८१ भदौ ६ गते दुई देशका सरकारका प्रतिनिधिबीच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर पुनः हस्ताक्षर भयो, तर काम अघि बढ्न सकेन ।

२०८१ मङ्सिर १८ गते चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा गरेको उच्चस्तरीय भेटवार्तामा चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमतिसहित १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए ।

सोहीअनुसार चिनियाँ टोली सर्वेका लागि चिनियाँ टोली २०८२ वैशाखमा नेपाल आएर काम थालेको आयोजना प्रमुख ओझा बताउँछन् ।

‘चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्र्ट हाइवे कन्सल्टेन्टस र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका २१ जनाको प्राविधिक टोलीले वैशाखको पहिलो सातादेखि सर्भे डिजाइनको काम सुरु गरेको थियो । अहिले सर्भे सकेर १० जनाको प्राविधिक टोली फर्किएका छन् भने अन्यले माटो परीक्षण र विस्तृत डिजाइनको काम गरिरहेका छन्’, ओझाले भने ।

दोस्रो खण्डमा के–के संरचना बन्दै ?

चिनियाँ प्राविधिक टोलीले तयार पारेको डिजाइनअनुसार; ८.२ किलोमिटर लामो आठ लेनको यो सडकमा चारवटा आकाशे पुलसहित माछापोखरीमा ओभरपास निर्माण गरिनेछ ।

‘जम्मा ३८.५ मिटर चौडाइमा सडक छेउमा २.७५ मिटर फुटपाथ, दुईतर्फी चार लेन सडक, दुईतिर सर्भिस लेन र सडकको बीचमा बोट बिरुवा रोप्ने तथा बिजुली र इन्टरनेटका तार व्यवस्थापन गर्न तीन मिटर राखिनेछ ।

ओझाका अनुसार; कलङ्कीस्थित स्युचाटारमा १६ मिटर र विष्णुमती खोलामाथि ६४ मिटर लम्बाइमा पुल निर्माण हुनेगरी डिजाइन तयार भएको छ ।

‘सीतापाइला–स्वयम्भू, ढुङ्गेधारा–बालाजु, बालाजु–माछापोखरी र सामाखुसी क्षेत्रमा पैदल यात्रुका लागि आकाशे पुल बनाइनेछ भने सडकमा १३ वटा कल्भर्ट, ११ वटा इन्टरसेक्सन र २२ वटा बस रोक्ने ठाउँ निर्माण हुनेछ । माछापोखरीदेखि बसपार्कसम्म ५६० मिटर लम्बाईको ओभरपास बनाइनेछ’ ओझाले भने ।

चक्रपथ विस्तारको पहिलो खण्ड (कोटेश्वर–कलङ्की १०.३८ किलोमिटर) चीनले वि.सं. २०६९ मा सुरु गरी २०७५ सालमा सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : ३२ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले