मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको उनको भनाइ छ ।
त्यसैगरी, हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुनसकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझबाट सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । (रासस)













प्रतिक्रिया