सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्ने ठाउँ ‘पुनहिल’ « Khabarhub

सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्ने ठाउँ ‘पुनहिल’


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ ।

प्रवेश शूल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएको बताए ।

यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधासम्पन्न होटल छन् । त्यसैगरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडेपानी–पुनहिल पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिनेगरी पदमार्ग सञ्चालनमा छन् ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । ‘पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ’, उनले भने, ‘पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ ।’

यसैबीच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ मा वडा नम्बर ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब ४६ लाख आम्दानी गरेको छ । पुनहिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो । ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताइन् ।

गत वर्ष ४० लाख रुपैयाँ आम्दानी भएको थियो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति ५० रुपैयाँका दरले प्रवेशशुल्क सङ्कलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ । (रासस)

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ५४ बजे

‘संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको प्राथमिकतामा’

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान कार्यान्वयनका

नेप्से परोसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अंकले

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या उच्च, किशोरमै लत लाग्ने प्रवृत्ति बढ्दो

काठमाडौं– नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या चिन्ताजनक रहेको पाइएको

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई