बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट | Khabarhub Khabarhub

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्‍याएको छ ।

जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा करिब दुई अर्ब रुपैयाँ बराबरको नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ  ।

केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ हजार ४०० हेक्टरमा क्षति पुर्‍याएको जानकारी दिए । उनका अनुसार धानमध्ये राधाबार, बास्मतीलगायत जातका बालीमा बढी क्षति पुगेको छ । 

‘अगौटे जातका करिब २० प्रतिशत किसानले धान काटिसकेका थिए, बाँकी हावाहुरी र वर्षाले खेतमा लडाएको छ’, सिंहले भने, ‘अहिलेसम्म करिब नौ हजार ६०० हेक्टर क्षेत्रफलको धान मात्र काटिएको छ । बाँकी बाढी र निरन्तरको वर्षाका कारण कुहिने अवस्थामा पुगेको छ ।’ 

अहिले पनि वर्षा भइरहेकाले किसानले काटेर राखेको धान पनि उठाउन समस्या भइरहेको उनको भनाइ छ । 

‘केही दिनमा घाम लाग्यो भने पानी सुकेपछि लडेको धान निकाल्न सकिन्छ, तर केही गुणस्तर भने घटेरै आउँछ, नभए त्यही कुहिएर जाने अवस्था आउँछ’, उनले भने ।

रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेले दुई बिघा क्षेत्रफमा लगाएको धान वर्षाले पूरै नष्ट पारेको बताए । उनका अनुसार वर्षाले खेतमा बाँकी रहेको धान पनि कुहिने अवस्था छ ।

‘करिब १२ कठ्ठा जति धान खान वा गाईवस्तुलाई घाँसका रूपमा प्रयोग गर्न पनि नमिल्ने गरी क्षति भएको छ । दुई दिनको वर्षाले दुई लाखभन्दा बढीको नोक्सानी भयो’, उनले भने ।

घिमिरेले पाकेको धान केही काटेर राखेको भए पनि वर्षाले कुटेर क्षति पुर्‍याएको बताए । उनले भने, ‘गत असोजमा आएको वर्षाले खासै नोक्सान गरेन, तर अहिलेको वर्षाले काटेको र काट्न बाँकी धान पूरै नष्ट गर्‍यो । रोपाइँका सकयमा पानीको अभाव भयो, डिप बोरिङमार्फत रोपेको धान पाक्ने बेला वर्षाले तहसनहस बनायो । हाम्रो जीविकापार्जन भनेकै खेती हो, अरु केही पेसा व्यवसाय छैन ।’

रामधुनीका किसान सुरकुमार राईले करिब नौ कठ्ठामा लगाएको तरकारी र आठ कठ्ठाको धान बेमौसमी वर्षाले नष्ट पारेको बताए ।

उनले भने, ‘तरकारी फलिसकेको थियो, धान पनि पाक्न लागेको थियो, सबै खेतमै लडायो । यही धान र तरकारी वर्षभरि खाने अन्नको व्यवस्थापन गर्छौँ, अब कसरी वर्षदिन गुजारा गर्ने भन्ने चिन्ता छ ।’

सुनसरीमा चार सय ५८ हेक्टरमा हुने कोदोखेतीमध्ये करिब १० प्रतिशतमा  क्षति पुगेको कृषि ज्ञानमा केन्द्रका प्रमुख सिंहले बताए ।

उनले भने, ‘कोदोको बोट अलिक होचो र बलियो हुने भएकाले कम क्षति भयो ।’ आठ हजार १०० हेक्टरमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशतमा क्षति पुगेको उनले जानकारी दिए । 

प्रमुख सिंहका अनुसार फलेका काँक्रो, परवल, बोडी, घिरौँलालगायत तरकारी तथा  बिरुवा पनि नष्ट भएको छ । जिल्लामा ५३० हेक्टर क्षेत्रमा हुने केरा खेतीमध्ये ८० प्रतिशत वर्षाले नष्ट गरेको जनाउँदै उनले केही उखुखेतीमा समेत क्षति पुगेको बताए ।

जिल्लाका देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राह नरसिंह गाउँपालिकामा सबैभन्दा बढी धान, केरा र तरकारीखेतीमा क्षति पुर्‍याएको ज्ञान केन्द्रले जनाएको छ । 

केन्द्रका प्रमुख सिंहका अनुसार अहिलेसम्म सङ्कलन भएको विवरणमा करिब दुई अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

उनले भने, ‘सबै पालिकाबाट क्षतिको विवरण सङ्कलन भइरहेको छ । यसका लागि सम्बन्धित निकायलाई विवरण सङ्कलनका लागि पत्राचार गरिसकिएको छ ।’ रासस

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ०३ बजे

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ

ट्याङ्कर चालकसहित चार जना पक्राउ

बागमती– नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ

मर्मतपछि खुल्यो कागबेनी-कोरला सडक

मुस्ताङ- कोरलानाका जोड्ने कागबेनी–चैले सडक आइतबार (कात्तिक १६)देखि सञ्चालनमा आएको

छापाखानासम्बन्धी नियमावलीमा समावेश केही प्रावधानप्रति महासङ्घको असहमति

काठमाडौं– नेपाल पत्रकार महासङ्घले सरकारले छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन)

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर- सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। चितवनको