युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग « Khabarhub

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

सियोल- युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा बस्न पाउन आग्रह गरेको दक्षिण कोरियास्थित मानव अधिकार सङ्गठनले जनाएको छ ।

उक्त निवेदन उनीहरूले एउटा वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा गरेका हुन् । अन्तर्वार्ता ग्योर–इओल नेसन युनाइटेड नामक सङ्गठनको सहयोगमा सम्पन्न भएको बताइन्छ । उक्त सङ्गठनका प्रमुख र उत्तर कोरियाबाट दलबदल गरेका जाङ से–युलका अनुसार सन् २०२४ मा रुसको पक्षमा लड्न करिब १० हजार उत्तर कोरियाली सैनिक युक्रेन पठाइएका थिए भन्ने दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायहरूको मूल्याङ्कन रहेको छ ।

जाङका अनुसार दुई जना युद्धबन्दीले अन्तर्वार्ताको अन्त्यमा वृत्तचित्रका निर्मातालाई आफूहरूलाई दक्षिण कोरियामा लैजान अनुरोध गरेका थिए । उक्त अन्तर्वार्ता अक्टोबर २८ मा किएभस्थित एक गोप्य स्थानमा गरिएको थियो, जहाँ उनीहरूलाई युक्रेनी सेनाले कब्जा गरेपछि राखिएको हो ।

जाङले भने, “उनीहरूले अन्तर्वार्ताकारकर्तासँग दक्षिणमा लैजाने वाचा गर्न विनम्र अनुरोध गरेका थिए ।” दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियाका नागरिकहरूलाई समेत कोरियाली नागरिकका रूपमा मानिन्छ । त्यसैले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकहरूमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ ।

जाङका अनुसार उक्त अन्तर्वार्ताको भिडियो अहिले सार्वजनिक गरिएको छैन, तर आगामी हप्ताहरूमा प्रकाशन गरिने तयारी भइरहेको छ । उनले भने, “हामीले युद्धबन्दीहरूलाई आशा र हौसला दिन दक्षिणमा बसिरहेका दलबदलकारीहरूको भिडियो सन्देश र पत्रहरू देखाएका थियौँ ।”

ग्योर–इओल नेसन युनाइटेडद्वारा उपलब्ध तस्बिरहरूमा एक युद्धबन्दीले दक्षिण कोरियामा आश्रय पाएका दलबदलकारीहरूका पत्रहरू पढिरहेको देखिन्छ । यसअघि, फेब्रुअरीमा युक्रेन भ्रमणमा गएका दक्षिण कोरियाली सांसद यु योङ–विनले पनि एक युद्धबन्दीले आफूलाई दक्षिण कोरियामा बस्न दिन अनुरोध गरेको बताएका थिए । सांसद युले गुप्तचर सेवाको हवाला दिँदै भने, “उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न आदेश दिइएको छ ।”

उनका अनुसार कैदीहरूले आफ्ना घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेका थिए । सांसद युले भने, “यदि ती सैनिकहरूलाई उत्तर कोरियामा फिर्ता पठाइयो भने उनीहरूको मृत्यु निश्चित हुनेछ ।” प्योङयाङले यस वर्ष अप्रिलमा मात्र रुसको युद्धमा आफ्ना सेना पठाएको स्वीकार गरेको थियो र केही सैनिक मारिएको पनि पुष्टि गरेको थियो ।

उत्तर कोरियाका नेता किम जोङ उनले युद्धमा ज्यान गुमाएका सैनिकका परिवारसँग भेट गरी ‘उनीहरूको असहनीय पीडा’ का लागि समवेदना प्रकट गरेका थिए । यसैबीच सियोलस्थित गुप्तचर एजेन्सीले सेप्टेम्बरमा दिएको विवरण अनुसार युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ५६ बजे

ट्रम्प–मदुरो संवाद, काराकासको आपत्ति

एजेन्सी– संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति

‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’

काठमाडौं– नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको

स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

नेपालमा सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं– सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ