सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै सिसवोनीका महिला « Khabarhub

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै सिसवोनीका महिला


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी हुन् ।

खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताइन् । 

‘लामो समयदेखि तरकारीखेती गर्दै आएकी छु । व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौँ’, उनले भनिन् । 

उनी मात्रै होइन यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् । ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले जानकारी दिइन् । उनले भनिन्, ‘सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ ।’

अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताए । यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ । अघिल्लो वर्ष मात्रै माछा बिक्रीबाट डेढ लाख रुपैयाँ आम्दानी गरिएको र छ क्विन्टल आलु उत्पादन गरी ७५ हजार रुपैयाँ  खुद नाफा भएको नन्दीलालले बताए । आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उनले जानकारी दिए । 

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरी रहेको छ । किसानलाई खेतीसम्बन्धी तालिम, बीउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक सङ्गीता चौधरीले बताइन् । उनले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या, तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताइन् । 

वडा नं १२ का वडाध्यक्ष बद्री नारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  । 
 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १ : १८ बजे

म्याग्दीको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको

पहाडी क्षेत्रमा बादल लाग्ने, तराईमा तातो लहर

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले