पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ । दसैँ मनाउन आवश्यक तयारीमा जुटेका स्थानीयवासी परम्परागत परिकार सेलरोटी बनाउन व्यस्त देखिएका छन् ।
नेपालीको महान् पर्व दसैँमा सेलरोटीको विशेष महत्त्व छ । दसैँमा घर आउने पाहुना, आफन्त र परिवारका सदस्यलाई सेलरोटी खुवाउने परम्पराले यसको महत्त्व अझ बढाएको हो । चामलको पिठोबाट बनाइने सेलरोटी दसैँ, तिहारलगायत विभिन्न चाडपर्वमा विशेष परिकारका रूपमा खाने गरिन्छ ।
दसैँ मनाउन विभिन्न सहर तथा विदेशमा रहेका परिवारका सदस्य गाउँ फर्किएसँगै फलेबासका गाउँघरमा चहलपहल बढेको छ । घरघरमा सेलरोटी पाक्न थालेपछि फैलिएको सुगन्धले गाउँमा दसैँको रौनक थपेको छ ।
परम्परागत परिकार र सांस्कृतिक चलनसँग जोडिएको सेलरोटीले दसैँलाई स्वादिलो बनाउनुका साथै परिवार तथा आफन्तबीच आत्मीयता र सद्भाव बढाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।














प्रतिक्रिया