काठमाडौं– गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्न थालेपछि वास्तवमै सुधार देखिएको छ । सरकारले समेत सामाजिक सञ्जालको नियमन गर्न नसकेको अवस्थामा उनीहरूको कार्यले केही हदसम्म नियन्त्रण गर्ने प्रयास गरेको छ ।
अभद्र टिप्पणीसहित व्यक्तिको फोटो सार्वजनिक गर्न थालेपछि भागदौड चलेको छ । पहुँच हुनेहरू नेताको फेरो समाउन पुगेका छन् । नहुनेहरूले सञ्जालमै माफी मागेका छन् । अर्कोथरि जो छ, जसलाई आफ्नो टिप्पणी अभद्र लागेकै छैन । गल्ती गरेको आभास नै भएको छैन । उनीहरू अझै पनि सञ्जालमा धम्क्याउन छोडिरहेका छैनन् । तर धम्की नै सही शब्दमा अश्लीलता लेख्न छोडेका छन् ।
आफ्नो ओछ्यानमा पल्टिएर अश्लील लेख्न सजिलो छ । तर कानुनको कठघरामा उभिन त्यति सजिलो छैन । नेपालको संविधानमा वाक स्वतन्त्रताको स्पष्ट व्यवस्था गरिएको छ । गणतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै बोल्न अथवा विरोध गर्न पाउनु हो । तर विरोध गर्ने नाममा अथवा आलोचना गर्ने नाममा कसैलाई अभद्र टिप्पणी गर्न पाइँदैन ।
अझ भनौँ विना प्रमाण र हचुवाको भरमा आरोप लगाउन पाइँदैन । त्यसमाथि चरित्रहत्या गर्ने र आत्मसम्मानमाथिको प्रहार कसैको स्वीकार्यको विषय होइन । आफूलाई चित्त नबुझेको मान्छे वा विचारमाथि मनलाई शान्ति मिल्ने गरी मनपरी अपशब्द तथा गालीगलौजमा उत्रिने अभ्यास नेपालमा आफैँमा डरलाग्दो छ ।
हो देशमा व्यापक व्यथिति, भ्रष्टाचार छ, बेरोजगारी छ । जसले गर्दा पारिवारिक बेमेललगायतका यावत समस्या नागरिकले बेहोर्नु परेको छ । त्यसले नागरिकमा नकारात्मकता पैदा गर्नु स्वाभाविक हो । तर आफ्नो असन्तुष्टि, रिस र आवेग कसैलाई गाली गरेर बिसाउनु झन् ठूलो अपराध हो ।
तपाईँ किन गाली गर्नुहुन्छ ? तपाईँको गालीको उद्देश्य के हो ? यसको उत्तर सामान्य छ । आत्मबल गिराउनु, कमजोर बनाउनु तपाईँको उद्देश्य हो । कसैलाई कमजोर बनाएर तपाईँ चैनको निद्रा सुत्न सक्नुहुन्छ भने तपाईँ सामान्य मान्छे होइन ।
उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको कमेन्ट र फोटो आफ्नो संजालमा सार्वजनिक गरेका हुन् । धेरैले अपाच्य शब्द प्रयोग गरेर निजी जीवनमै असर गर्ने गरी कमेन्ट र म्यासेज गरेपछि एलिना र समिक्षाले यो कदम चालेका हुन् । असहिष्णु र अभद्र व्यवहार किन सहने भनेर उनीहरू जुटे ।
अहिले यी दुईले चालेको यो कदम अभियानकै रूपमा चलिरहेको छ । केहीले सेलिब्रेटी भएपछि प्रशंसा मात्रै नभएर गाली पनि आउने तर्क गरेका छन् । तर उनीहरूले सार्वजनिक गरेका टिप्पणी आलोचना नभएर अपराध हो । त्यसकारण पनि आलोचना र गालीगलौचबीचको फरक जान्न आवश्यक छ ।
हुन त, सामाजिक सञ्जालमा दुर्व्यवहारमा पर्ने यी दुई गायिका मात्रै होइनन् । अरु थुप्रै कलाकार, चलचित्रकर्मी र गायक–गायिकालाई पनि यस्तो कमेन्ट आउने गरेको देख्न सकिन्छ । कतिले यो विषयमा बोल्ने गरेका छन् भने कतिले यसमा खासै चासो दिँदैनन् । केही वर्ष अगाडि नायिका प्रियङका कार्कीले सामाजिक सञ्जालमा प्रहार गर्नेलाई जवाफ दिएकी थिइन् ।
महिलामाथि आगो ओकलेर के पाइन्छ ? भनेर उनले प्रश्न गरेकी थिइन् । तर समीक्षा र एलिनाले भने आफूहरूमाथि भएको अन्यायविरुद्ध सामाजिक सञ्जालमै लडाइँ सुरु गरे । उनीहरूलाई सार्वजनिक नै गरे । यो कदममा फिल्मकर्मी तथा कलाकारहरूले साथ दिएका छन् । साथै, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी र आम सर्वसाधारणले समेत उनीहरूको कार्यलाई समर्थन गरेका छन् ।
लेखक, निर्माता एवं अभिनेता दीपकराज गिरीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको अभियानको प्रशंसा गरेका छन्– ‘यी दुईटै गायिका मलाइ मन पर्ने गायिका हुन् । त्यो मध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन सुरूदेखि उनको साहसको पनि प्रशंसक हुँ । सानो उमेरमा नै उनी माथि जुन बज्रपात पर्यो त्यो ठाँउमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन् । त्यसकै फलस्वरूप आज यहाँ पुगिन् ।’
सामाजिक सञ्जाल कस्तो छ ?
आफूले समाजको लागि, परिवारको लागि राष्ट्रको लागि दुईकौडिको काम नगर्ने तर जो काम गर्नेहरू छन् तिनीहरूलाई नैतिकता सिकाउने, गाली गलौज गर्ने , त यस्तो, त उस्तो भनेर अभद्रता देखाउने, चरित्र माथि औला उठाउने यस्तै चलिआएको छ । पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार, पेशाकर्मी सबै नैतिकताहीन, चरित्र खराब, देशमा सबै अज्ञानी आफू मात्रै साधु सन्त ज्ञानी ।
आफूले समाज र राष्ट्रको लागि सिन्को नभाँच्ने । देशै खतम, नेतै खतम, केही गर्न सकिन्न यहाँ भन्ने । जतिबेला फ्रष्टेटेड कुरा गर्ने, अनि गाँउ देखि आएर संघर्ष गरेर, भोकभोकै बसेर हिम्मत नहारेर आफूलाई स्थापित गरेकाहरूलाई चाहिँ गाली गलौच गर्यो अनेकथरि लाञ्छना लगायो बस्यो ।
यो ठाउँमा जसले जति गाली गर्न सक्यो त्यो हिरो । चुपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहिँ खलनायक ? व्यक्तिगत जीवनमा कसको तलमाथि हुन्न ? को चाहन्छ खराब होस्, तर भइदिन सक्छ कहिलेकाहीँ । को छ यहाँ कमजोरी विहीन मान्छे ? एउटै पेशामा भएका प्रतिस्पर्धीहरूकै संलग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भइरहेको अवस्था छ ।
आफ्ना प्रतिष्पर्धीलाइ कामले जित्न सकिन्न । गाली गरेर भए पनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ । यस्ता उत्श्रृखलता विरुद्ध साइवरमा गयो कानून नै कमजोर, ठूला नेतालाई गाली गर्यो भने समातेर तु कारबाही सुरु गरिहाल्ने तर अन्य मानिसहरूलाई गरिएको गाली गलौचको त रिपोर्ट भए पनि कसले सुन्ने ? सुने पनि वर्षौँ लाग्ने, त्यसकै पछि लागिरहने फुर्सद कहाँ पाउनु फेरी ?
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई तिमिहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ । दुवै जनालाई शुभकामना । जय नेपाल ।।
समर्थन गर्दै अभिनेत्री केकी अधिकारी लेख्छिन् – भनिन्छ, अति गर्नु तर अत्याचार नगर्नु । अत्याचारको मूल्य चुकाउनैपर्छ । केकीले आफ्नो सामाजिक संजालको स्टोरीदेखि पोष्टसम्ममा उनीहरूको समाचारसमेत सेयर गरेकी छिन् ।
त्यस्तै अर्की अभिनेत्री ऋचा शर्माले पनि समाचार शेयर गर्दै ‘सावधान’ लेखेकी छिन् । यसअघि ऋचाले पनि आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिनसट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा गालीगलौज गर्नेलाई सार्वजनिक गर्ने शर्मा पहिलो नायिका हुन् ।
कानुनी प्रावधान : २ वर्ष कैद, १० हजार जरिवाना
मुलुकी फौजदारी संहिताले गाली र बेइज्जतीलाई अलग– अलग प्रावधान राखेको छ । दफा ३५ मा कसैलाई गाली गर्न नहुने भनिएको छ । उक्त दफाको उपदफा १ र २ अनुसारको कार्य गरेको ठहर भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने छ ।
त्यस्तै, दफा ३०७ अनुसार बेइज्जती गर्न नहुने उल्लेख छ । बेइज्जती गरेमा वा गराएमा २ वर्ष कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । विद्युतीय वा आमसञ्चार माध्यमबाट बेइज्जती गरेमा थप २ वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ ।
त्यसैगरी, दोषी ठहर भएको व्यक्तिबाट मुद्दामा लागेको खर्च समेत भराउनुपर्ने भनिएको छ ।
प्रतिक्रिया