काठमाडौँ – सङ्घीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड व्यवस्था तोडमरोड गरिएपछि गठित छानबिन समितिका चार सदस्य आज बैठकस्थलबाटै हराएका छन् ।
छानबिन समितिले आज प्रतिवेदन तयार पार्न बिहान ७ बजेदेखि नै बैठक डाकेको थियो । तर, मध्याह्न १२ बजेतिर खाना खान भन्दै निस्किएका चार सांसद अपराह्नसम्म बैठककक्षमा पुगेका छैनन् ।
सत्तारुढ नेपाली काँग्रेसका सांसदद्वय जीवन परियार र सुशीला थिङ तथा नेकपा (एमाले) का सांसदद्वय नारायण आचार्य र इश्वरी घर्ती बैठककक्षमा नआएका, फोन पनि नउठाएका र सम्पर्कविहीन भएका समितिका अन्य सदस्यहरूले बताएका छन् ।
छानबिन समितिले विधेयकको दफाबार छलफल नेतृत्व गरेका सांसदहरूबाटै छेडछाड भएको निस्कर्ष निकालेको स्रोतले बतायो ।
विधेयकमाथि काङ्ग्रेस सांसद् रामहरी खतिवडा नै सभापति रहेका राज्यव्यवस्था तथा सुशासन समितिमा दफाबार छलफल भएको थियो ।
उनै खतिवडाले असार १ गते प्रतिनिधि सभामा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ पेश गरेका थिए । प्रतिवेदन पेश गर्ने क्रममा खतिवडाले निजामती विधेयक संविधानपछिकै महत्वपूर्ण र बहुप्रतिक्षित विधेयक रहेको बताएका थिए । उक्त विधेयक असार १५ गते प्रतिनिधि सभाबाट पारित भएको थियो ।
तर, अवकाश प्राप्त गरेको दुई वर्षसम्म सरकारी कर्मचारीले काम गर्न नपाउने उल्लेख गरिएको विधेयक प्रतिनिधि सभाले पारित गर्दासम्म दफा ८२(५)(क) मा यसरी छेडछाड भइसकेको थियो कि त्यसले सार्वभौम भनिने संसद्कै मजाक बनाइदिएको थियो । संसद्ले स्वीकृत र पारित गरेको विधेयकमा संसद्लाई नै थाहा नदिइ ‘बाहेक’ शब्द थपिएको थाहा भएपछि सभापति खतिवडा र सत्तारुढ दलका सांसदहरूको आलोचना भइरहेको छ ।
सभापति खतिवडाले नै कर्मचारी र दाताहरूको प्रभावमा कुलिङ पिरियड हटाउन चोर बाटोबाट बदमासी गरेको भन्दै उनको राजीनामा समेत माग भएको थियो । पछि उनै खतिवडाले निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न माग राखेका थिए ।
प्रतिपक्षी सांसदसमेतको दबाबपछि असार २३ गते उक्त मामिलामा एक संसदीय छानबिन समिति गठन गरिएको थियो । सत्तारुढ काँग्रेस र एमालेका सांसदसहित समितिमा माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाका रोशन कार्की सदस्य छन् ।
ुसंघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिु लाई छानबिन निम्ति २१ दिनको समय दिइएको थियो । उक्त समय अपुग भएपछि पुनः सात दिन म्याद थपिएको थियो । थपिएको म्याद आजै सकिँदैछ ।
म्याद सकिने दिन छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहँदा सत्तारुढ दलका चार सांसद बैठक छाडेर हिँडेका हुन् ।
‘समितिको म्याद पनि नथप्ने र कारबाही प्रस्ताव गरिएको छानबिन प्रतिवेदन पनि पारित नगर्ने नियोजित उद्देश्यका साथ सत्तारुढ दलका सांसदहरू बैठकबाट हिँडेको बुझियो’, संसद् सचिवालय स्रोतले भन्यो, ‘सांसदकै यस्तो गतिविधिले संसदीय छानबिन समितिको शाखलाई नै धुमिल बनाइदिएको छ । हामी यतिखेर बैठकबाट हराउनुभएका सांसदहरूलाई खोजिरहेका छौँ ।’
*बैठक छाडेर हिँडेका सत्तारुढ सांसदहरू एमाले संसदीय कार्यालयमा प्रतिवेदनबारे छलफलमा जुटेका र अहिले छानबिन समितिको बैठकस्थलमा पुगेका छन् । (*अध्यावधिक गरिएको)
यो पनि –
माओवादी केन्द्रले पनि माग्यो रामहरि खतिवडाको राजीनामा
‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु
कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी
निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग
सङ्घीय निजामति विधेयकमाथि छेडखानी गर्नेलाई कारबाही हुनुपर्छ : प्रचण्ड
बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो
प्रतिक्रिया