काठमाडौं– बाटो काट्न जेब्रा क्रसिङमा पाइला राखेर तपाईँ फेरि ब्याक हुनुभएको छ ? रफ्तारमा आएको सवारीसाधन देखेर डरले पछाडि हट्नुभएको छ ? बाटो काट्ने क्रममा आएको सवारी जेब्रा क्रसिङमा रोकिएला, नरोकिएला भन्ने लागेर घरी यता घरी उता दोमनको अवस्थामा अलमल पो पर्नुभएको छ कि ? बाटो काट्ने आकासे पुल हुँदाहुँदै पुलमुनिबाट बाटो काट्न रहर गर्नेहरूको भीड पनि उत्तिकै देखिन्छ ।
अन्तर्राष्ट्रिय ट्राफिक नियमअनुसार पैदलयात्रीले जेब्रा क्रसिङमा खुट्टा टेक्ने बित्तिकै कुनै पनि सवारीसाधन गाडी रोकिनुपर्छ । तर पैदलयात्रु ज्यान जोगाउँदै यताउता गर्नुपर्ने अवस्था छ । प्रायः हरेक पैदलयात्रुसँग झण्डै गाडीले हानेन, भाग्यले बाँचियो जस्ता अनुभव हुन्छन् ।
अर्कोपक्षबाट हेरौ, निजी घरको आँगन जस्तो गरेर जेब्रा क्रसिङमा टहलिने, बिस्तारै हिँड्ने र आँखाले दायाँबायाँ नहेरी हातको इरासाले ‘गाडी रोक’ भन्ने भाव पस्किएर हिँड्ने पैदलयात्रु व्यवहार उत्तिकै भद्दा लाग्छ । त्यसैगरी ट्राफिक अनुशासनको मर्यादाले लाज मान्ने गरी आकाशेपुलको मुन्तिरबाट बाटो काट्ने पैदल यात्रु पनि उत्तिकै छन् ।
दुर्घटना भएपछि सवारी चालक, पैदलयात्रुलाई दोष दिन चाहन्छ । पैदलयात्री सवारीचालकलाई दोष दिएर उम्कन चाहन्छ । ट्राफिक अनुशासन पैदलयात्रु र सवारी चालक दुवैले मान्नुपर्छ । कानुनतः र मानवीय हिसाबले सडकमा सवारी चालकको जिम्मा अझ बढी हुने गर्दछ ।
जेब्रा क्रसिङमै भएका केही दुर्घटना
बुधबार मात्रै काठमाडौं पुतलीसडकमा माइक्रोबसको ठक्करबाट दुई जना घाइते भए । धनकुटाका ५ वर्षीया आशिका राई र ९ वर्षीय विवेक तामाङले जेब्रा क्रसिङबाट बाटो काटिरहेकै अवस्थामा माइक्रोले ठक्कर दिएको थियो ।
माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको उनीहरूमध्ये विवेकको अवस्था गम्भीर रहेको छ । माइक्रोका चालक सिन्धुपाल्चोकका २९ वर्षीय रामहरि विष्ट प्रहरी नियन्त्रणमा छन् ।
त्यस्तै, केही समय अगाडी पनि चितवन भरतपुरमा बसको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भयो । जेब्रा क्रसिङमा बुवासँग हिँडिरहेका ९ वर्षीय आरुष पौडेलको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भयो । घटनास्थल र छोराको शव देखेपछि बुवा विक्रम बेहोस भएका थिए ।

त्यस्तै, गत वर्ष जेब्रा क्रसिङबाट बाटो काट्न लाग्दा वसुन्धरामा बसको ठक्करबाट सुनसरीकी २३ वर्षीया रविना चौधरीको मृत्यु भयो । चालक विनय तामाङले चलाएको ना४ख ४२६२ नम्बर बसले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भयो ।
अर्को अनामनगरमा जेब्रा क्रसिङमै मोटरसाइकलको ठक्करले पूर्वगृह सचिव पद्मराज सुवेदीको मृत्यु भयो । ८० वर्षीय सुवेदी ‘मर्निङ वाक’ मा निस्केका थिए । सिंहदरबारको पूर्वी गेट अगाडि बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बा ठाउँको ठाउँ ढलिन् ।
धेरैजसो दुर्घटनाको कारण भनेको कमजोर पूर्वाधारलाई मानिन्छ । तर दुर्गमको बाटोमा भन्दा धेरै सहरको पिच सडकमा बढी दुर्घटना भएको देखिन्छ । अर्को, पूर्वाधार पैदलमैत्री नहुनु सरकारको उदासीनता स्पष्ट झल्किन्छ ।
बलियो पूर्वाधारको बाबजुद पनि दुर्घटना हुनु भने मानवीय कमजोरी हो । ट्राफिक अनुशासनको अभावमा दुर्घटना हुनु सभ्य समाजको लागि लज्जास्पद हो । जेब्रा क्रसिङ पैदलयात्रीको लागि मात्र होइन । तर गाडीको लागि पुरा एक मिनेटको पनि समय दिइएको हुँदैन ।
उदाहरणकै लागि संसद् भवन अगाडी बानेश्वर केन्द्रबाट पानीट्याङकी, पीपलबोट जाने सवारीको लागि जम्मा ३० सेकेण्डको समय दिइएको छ । सवारी चालक उक्त ३० सेकेण्डभित्र पार गर्ने ध्याउन्नमा तँछाडमछाड गरिरहेका हुन्छन् ।

कतिपय ट्राफिक लाइट १० देखि १२ सेकेण्डको राखिएको छ । पद्मकन्या कलेज, त्रिचन्द्र कलेजका ट्राफिक बत्ती आँखा झिम्क्याउँदा रंग फेरिन्छन् । त्यो अत्यन्तै अवैज्ञानिक देखिन्छ । हतारमा बाटो काट्ने मनसायले दुर्घटना निम्त्याउँछ । यस्तोमा सवारी चालक र पैदलयात्री मात्रै नभएर ट्राफिक प्रहरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कमजोरी हो ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार जरिवाना गराए पनि नागरिकमा ट्राफिक सचेतना नआउँदासम्म लापरबाहीबाट हुने दुर्घटना कम नहुने बताउँछन् । उनी भन्छन्, ‘हरेक दिन २ हजार बढीलाई ट्राफिक नियम उल्लघंनका क्रममा जरिवाना गरिएको छ । तर उल्लघंनमा कमी आएको छैन ।’
‘जति पढाए पनि नेपालीहरूमा अझै पनि ट्राफिक नियम उल्लंघन गर्नु हुँदैन भन्ने सचेतना छैन । नेता तथा कर्मचारीहरू नै कारबाही परेको देखिराख्नु भएकै छ, थप उनले भने, ‘जसले आफैँ नियम बनाएका छन्, उनीहरूले नै आफैँ उल्लङ्घन गर्दै हिँडेका छन् ।’
ट्राफिकको काम राजस्व जम्मा गर्ने नभएको भन्दै उनले जरिवाना मात्रैले सडक अनुशासनको लक्ष्य पुरा नहुने बताउँछन् । भन्छन्, ‘जानाजान लापरबाही गरी सडक अनुशासन उल्लघंन गर्नेको संख्या बढी छ । जेब्रा क्रसिङमा नरोक्ने चालकलाई सजाय कम भएको हो । जेब्रा क्रसिङमा अनुशासन उल्लंघन गर्ने चालकलाई दण्ड जरिवाना नै कम भयो । ऐनमै सुधार भए चालकलाई कारबाही गर्न सजिलो हुने थियो ।’
सवारी तथा यातायात ऐनअनुसार जेब्रा क्रसिङमा नरोक्ने चालकलाई ५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान छ । उपत्यकामा भएको सवारी दुर्घटनाको अनुपात केलाउँदा जेब्रा क्रसिङ होस् वा फुटपाथमा, गाडीको ठक्करबाट मृत्यु हुने पैदलयात्रीको संख्या धेरै छ ।
प्रत्येक वर्ष पैदलयात्रीको दुर्घटनामा हुने मृत्युको अनुपात बढ्दै गएको छ । ट्राफिक प्रहरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सरोकारवाला निकायले ट्राफिक नियमको साक्षरतामा ध्यान दिँदै पालनामा कडाइ गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया