पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा « Khabarhub

पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार परीक्षण गर्ने राष्ट्रहरूको सूचीमा परिरहेको खुलासा गरेका छन् । 

उनले यो विषयलाई अन्य शक्तिशाली राष्ट्रहरूबीचको व्यापक प्रतिस्पर्धात्मक ढाँचाको रूपमा प्रस्तुत गर्दै अमेरिकाले पनि आफ्ना आणविक परीक्षणहरू पुनः सुरु गर्नु अपरिहार्य भएको बताए ।

सिबिएस न्युजको ‘६० मिनेट्स’ कार्यक्रममा आइतबार प्रसारण गरिएको अन्तर्वार्तामा ट्रम्पले रुस, चीन, उत्तर कोरिया र पाकिस्तानलगायतका देशहरूले निरन्तर आणविक परीक्षण गरिरहेको दाबी गरे  । उनका अनुसार, अमेरिका मात्रै यस्तो राष्ट्र बनेको छ जसले परीक्षण नगर्ने नीतिलाई निरन्तरता दिएको छ ।

‘रुसले परीक्षण गर्छ, चीनले पनि गर्छ, तर उनीहरूले त्यसबारे बोल्दैनन् । हामी भने खुला समाज हौँ, हामी फरक छौँ । हामीले यसबारे जनतालाई जानकारी दिनैपर्छ, किनभने पत्रकारहरूले यो विषयमा रिपोर्ट गर्छन् । अन्य देशमा त पत्रकारहरूले यसबारे लेख्न पनि पाउँदैनन्’, उनले भने, ‘हामी पनि परीक्षण गर्न जाँदैछौँ, किनभने अन्य सबै राष्ट्रहरूले गरिरहेका छन् । निश्चित रूपमा उत्तर कोरियाले गरिरहेको छ र पाकिस्तानले पनि परीक्षण गरिरहेको छ ।’

रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ३० वर्षभन्दा बढी समयपछि अमेरिका पुनः परीक्षणको तयारीमा रहेको प्रश्नमा उनले उक्त टिप्पणी गरेका हुन् ।

ट्रम्पले भने, ‘रुसले परीक्षण गर्ने घोषणा गरिसक्यो । उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ । अन्य देशहरूले पनि गरिरहेका छन् । परीक्षण नगर्ने एक मात्र देश हामी हौँ र म यस्तो स्थिति रहोस् भन्ने चाहन्न ।’

उनले अमेरिकासँग विश्वका सबैभन्दा बढी आणविक हतियार रहेको दाबी गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग निःशस्त्रीकरणबारे छलफल गरेको बताए ।

ट्रम्पका शब्दमा, ‘हामीसँग विश्वलाई १५० पटक नष्ट गर्न सक्ने जति हतियारहरू छन् । रुससँग पनि धेरै छन् र चीनले तीव्र रूपमा वृद्धि गरिरहेको छ । उनीहरूसँग अहिले कम भए पनि चाँडै धेरै हुनेछ ।’

यसअघि बिहीबार उनले रुसको हालैको उन्नत आणविक प्रणालीको परीक्षणलाई औँल्याउँदै अमेरिकाले तत्काल आणविक हतियार परीक्षण पुनः सुरु गर्ने घोषणा गरेका थिए । यसले दुई आणविक शक्तिहरूबीचको तनाव पुनः चर्किने सङ्केत दिएको छ ।

एयर फोर्स वानमा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,’आणविक निःशस्त्रीकरण ठूलो कुरा हो, तर जब अरूले परीक्षण गर्छन्, हामीले पनि त्यसको जवाफ दिनैपर्छ । हामीसँग अरू सबैभन्दा धेरै आणविक हतियार छन्, तर हामी मात्र परीक्षण नगर्ने राष्ट्र बन्नु उचित हुँदैन ।’

उनले परीक्षणका लागि तयारी भइसकेको तर समय र स्थान खुलाउन नमिल्ने जानकारी दिए ।

विश्वव्यापी आणविक परिदृश्य अझ अस्थिर हुनसक्ने चिन्ताबारे सोधिएको प्रश्नमा उनले जवाफ दिए, ‘मलाई लाग्छ हामीले यसलाई राम्रोसँग नियन्त्रणमा राखेका छौँ ।’

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको सन् २००० मा हस्ताक्षर गरिएको ‘प्लुटोनियम डिस्पोजल सम्झौता’ औपचारिक रूपमा समाप्त गर्ने कानूनमा हस्ताक्षर गरेका छन्  । 

उक्त सम्झौताले दुवै राष्ट्रलाई सैन्य प्रयोजनका लागि आवश्यक नभएको ३४ टन हतियार–ग्रेड प्लुटोनियम नष्ट गर्न बाध्य बनाएको थियो । रासस
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : ५० बजे

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरणको सिफारिस

बागलुङ – बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई

संविधान संशोधन बिना देश नयाँ दिशामा जान सक्दैनः अध्यक्ष यादव

सुनसरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

काठमाडौं – काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता