हाइटेक टनेलमा च्याउखेती, वार्षिक १० लाख आम्दानी « Khabarhub

हाइटेक टनेलमा च्याउखेती, वार्षिक १० लाख आम्दानी


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् ।

अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी  च्याउ उत्पादन गर्दै वार्षिक १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन् । खर्च कटाएर उनले वर्षमा झण्डै १० लाख नाफा कमाउने गरेका छन् ।

रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन् । मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनको भनाइ छ । पिँकी च्याउको पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यो खेती स्थगित गरिएको रानाले बताए।

महेन्द्रनगर र झलारी बजारमा बेमौसमी कन्या च्याउको थोक मूल्य प्रतिकिलो रु ३५० र मौसमी समयमा रु १०० मा बिक्री गरेको छभने मिल्की च्याउ प्रतिकिलो रु ४०० मा बिक्री हुने गरेको छ । माग बढेसँगै उनले बाह्य बजारमा पनि च्याउको आपूर्ति गर्दै आएका छन्  ।
 
विवाह, भोजभतेर र चाडपर्वमा च्याउको माग बढी हुने गरेको छ । हाल उनले मोटरसाइकलमार्फत माग आएका ठाउँमा च्याउ ढुवानी गर्दै आएका छन् । विसं २०७७ मा जेटिए अध्ययनका क्रममा विद्यालयमा पढेको ज्ञानलाई व्यवहारमा उतार्दै उनले घरकै गोठको एक कुनामा पहिलोपटक च्याउखेती गर्न सुरु गरेका थिए । घरमा उपलब्ध भाँडाकुँडामै पराल उमालेर, खटियामा सुकाएर २५ वटा परालका डल्ला बनाएर बीउ राख्दा राम्रो उत्पादन भएपछि उनले यसलाई व्यावसायिक रूपमा विस्तार गरे । 

पहिलो सफलतापछि उहाँले बाँसको झुपडीमा ५०० परालका डल्ला राखेर मौसमी च्याउखेती सुरु गरे । बजारमा सहज बिक्री भएपछि व्यवसाय विस्तारको हौसला मिलेको उनले सम्झिए। हाल रानासँग च्याउखेतीका लागि फलामका छवटा हाइटेक टनेल रहेका छन् । छवटै टनेलमा निरन्तर बाह्रै महिना च्याउ उत्पादन भइरहेको छ । पराल काट्न, उमाल्न र सुकाउन आधुनिक मेसिनको प्रयोग हुने गरेको छ । केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि धेरैजसो उपकरण उनले आफ्नै आम्दानीबाट खरिद गरेका हुन्  ।
 
आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च तीनैमा बचत हुने उनको भनाइ छ । च्याउ उत्पादनमा उनका श्रीमतीसहित घर परिवारका सदस्यले साथ दिने गरेका छन् । कामको चाप अधिक भएका बेला कामदारलाई ज्यालादारीमा राखेर काम लिने गरेका छन् ।

‘बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ’, उनले भने, ‘त्यसका लागि अहिले आधुनिक इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने योजना बनाएको छु ।’ हाल उनको च्याउ उत्पादनमा झण्डै रु २० लाख बराबरको लगानी रहेको छ । भविष्यमा लगानी बढाएर डल्ले च्याउको उत्पादन सुरु गर्ने तयारीमा छन्

रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताए। ‘बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ”, उनले भने, ‘त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ ।’

च्याउमा पनि अन्य बालीजस्तै रोगब्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुने रानाको भनाइ छ । उनले विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलताको बाटो देखाएको बताए । ‘च्याउखेतीलाई अझै विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ’, उनले भने, ‘कृषिसम्बन्धी निकायले त्यसमा चासो देखाउनुपर्छ ।’

हालसम्म आफ्नै प्रयासमा च्याउखेती विस्तार गर्दै आएका राना अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेका छन् । गाउँमा बस्दै आधुनिक प्रविधिबाट सफल हुन सकिन्छ भन्ने सन्देश उनको सफलताले दिएको छ । 
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : ४९ बजे

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक