चितवन– भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रूपमा देखा परेको ‘ट्रोपिलाप्सिस माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखा परेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकले जिल्लाको मौरी घारको निरीक्षणका क्रममा सो माइट फेला पारेका हुन् ।
विश्वविद्यालयको कृषि संकायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट देखिएको हो ।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्मेलन समितिका सदस्य अनुसन्धान तथा प्रसार उपनिर्देशक सहप्राध्यापक रामहरि तिमिल्सिनाका अनुसार विश्वविद्यालयको मौरी तथा परागसेचनविज्ञ डा केदार देवकोटा, मौरी विकास कार्यालय चितवनका प्रमुख सुजन अमगाई, आङ्दोङ् विश्वविद्यालय दक्षिण कोरियाका वैज्ञानिक चुलिआइ जुन र नेस्नल चुङ् सिङ विश्वविद्यालय ताइवानका वैज्ञानिक जेन यानसहितको टोलीले गरेको निरीक्षणका क्रममा माइट भेटिएको हो ।
सम्पूर्ण प्रमाण समावेश गरी नेपाल सरकारलाई पेस गरेपछि आधिकारिक रूपमा सरकारले माइट भएको प्रमाणित गर्नुपर्ने हुन्छ । हालसम्म नेपाल सरकारले यहाँ मेलिफेरामा सो रोग नदेखिएको जनाउँदै आएको छ । खाग र भिर मौरीमा देखिएको भने पनि व्यावसायिक रूपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन । मौरी तथा परागसेचनविज्ञ देवकोटाले विदेशी वैज्ञानिकहरूले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गरेका हुन् ।
सोही क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्तमा थप बढ्ने भएकाले सतर्क रहन कृषक र नेपाली विज्ञलाई समेत उनीहरूले सुझाव दिएको देवकोटाले जानकारी दिए । उनका अनुसार तीन महिनाअघि नेदरल्यान्डमा भएको मौरीको रोग कीरा व्यवस्थापनसम्बन्धी सम्मेलनमा एसियाका देशमा ट्रोपिलाप्सिस ठूलो समस्या भएको भन्दै नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।
वैज्ञानिकहरुसँगै रहेका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब कृषक सतर्क भएर काम गर्नुपर्ने बताए। माइट फैलन नदिन सावधानी अपनाएर काम गर्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयको कृषि संकायका डिन प्रा.डा अर्जुनकुमार श्रेष्ठले सम्मेलनका क्रममा अन्य विभिन्न महत्त्वपूर्ण उपलब्धि भएको भन्दै यो नयाँ समस्या पहिचान भएको बताए।
करिब ७०० भन्दा बढीले सम्मेलनबाट लाभ लिएको उनले जानकारी दिए। सम्मेलनमा विश्वविद्यालयले गरेको अनुसन्धानका विषयमा छलफल, अन्तरराष्ट्रियस्तरमा कृषिसम्बन्धी भएका अनुसन्धान र अवस्थाका बारेमा छलफल, विश्विद्यालयले आगामी दिनमा गर्ने अनुसन्धानका विषयको पहिचान एवं प्राथमिकीकरण लगायत विषयमा बृहत् रूपमा अन्तरक्रिया गरिएको छ ।
यससँगै बाहिरबाट आएका वैज्ञानिकहरूले यहाँका कृषिसित सम्बन्धित विभिन्न विषयमा स्थलगत अध्ययन गरी सुझाव दिएका छन् ।
प्रतिक्रिया