काठमाडौं – काठमाडौं उपत्यका उपप्रमुख सञ्जालले प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई वृहत र सुक्ष्म समीक्षा गर्ने निर्णय गरेको छ ।
कीर्तिपुर नगरपालिकाले आज आयोजना गरेको ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ को वैठकले विगतको प्रारम्भिक समीक्षा गर्दै यस्तो निर्णय गरेको हो । हरेक वैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा विज्ञको प्रस्तुतिकरणसहित छलफल गर्ने गरिएको छ ।
यसरी गरिएको छलफलको प्रभावकारिता र अधिकारको प्रयोगसँगै आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका साझा विषय बैठकमा छलफल हुनेछ । त्यो बैठक काठमाडौं महानगरपालिकाले आयोजना गर्नेछ ।
२०७९ फागुन ३० गते काठमाडौँ महानगरपालिकाले आव्हान गरेको पहिलो बैठकबाट प्रारम्भ भएको सञ्जालले आज प्रारम्भिक समीक्षासहितको १० औँ बैठक सम्पन्न भएको हो । हरेक महिना फरक पालिकाका उपप्रमुखको अध्यक्षतामा बैठक आयोजना हुने गरेको छ । हरेक बैठकले आगामी बैठक आयोजना गर्ने पालिका र बैठकमा छलफल गर्नु पर्ने विज्ञ प्रस्तुतिसहितको विषय निर्धारण गर्ने गरेको छ ।
आजको बैठकको अध्यक्षताका लागि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यलाई बैठकको निर्णय पुस्तिका हस्तान्तरण गरेकी थिइन् ।
कानुनले उपप्रमुख दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने सञ्जाल गठनको उद्देश्य रहेको बताएको छ ।
बैठकमा बोल्दै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले, सञ्जालमा आपसी ज्ञान, सिप र क्षमता आदान प्रदान गरेपछि अधिकारको व्यवस्थित प्रयोगलाई पूर्ण बनाउने मद्दत हुने धारणा राखिन् ।
उपत्यकाको एकीकृत र समन्वयात्मक विकासका लागि साझा बुझाइ निर्माण गर्न, उपप्रमुख र उपाध्यक्षहरुलाई निक्षेपण गरिएको अधिकारबाट नगरबासीलाई अधिक लाभ दिने क्षमता विकास गर्ने कार्यका लागि सञ्जालको प्रयोग गर्नु पर्ने महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले धारणा राखिन् ।
यस्तै उपप्रमुख शुभलक्ष्मी शाक्यले, नगर विकास र सेवाका लागि समान दृष्टि निर्माणका लागि सञ्जालले काम गरिरहेको धारणा राखिन् । अघिल्लो बैठकका अध्यक्ष गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले, नेपाल भाषा र तामाङ् भाषालाई कामकाजी भाषाका रुपमा प्रयोग गर्ने विषयमा अघिल्लो बैठकले दिएको पृष्ठपोषण लाभदायक भएको उल्लेख गरिन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले, उपत्यकाको एकीकृत विकासका लागि सञ्जालमा गरिने छलफलले नतिजामा योगदान दिने धारणा राखिन्।
अवलोकनपछि वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले, कीर्तिपुरका विकास पद्धति, धार्मिक, सामाजिक सम्पदा, पर्यटन तथा अन्य सहकार्यका सम्भावना, काठमाडौँ महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको युद्ध स्मारक पार्कका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
त्यस क्रममा उपत्यकाका पालिकाहरुका राजस्वको दरमा समानता प्रदान गर्ने सम्भावना, पर्यटन प्रवर्धन र व्यवस्थापनका साझा कार्यक्रम, जात्रा पर्व सञ्चालनका लागि फरक फरक पालिकामा भएका सम्पदा स्थलहरुको सम्बन्धलाई उजागर गरेर आन्तरिक धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्धनलाई महसुस योग्य नतिजामा रुपान्तरण गर्नुपर्नेमा जोड थियो । वैठक अघि टौदह, चोभारको मञ्जुश्री गुफा, बाघ भैरवलगायत स्मारकहरुको स्थलगत अवलोकन भ्रमण गरिएको थियो ।
सञ्जालमा उपत्यकाका २ वटा महानगरपालिकासहित १८ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी २१ वटा स्थानीय तहका उपप्रमुख÷उपाध्यक्ष सञ्जालका सदस्य छन् ।
सञ्जालको बैठकमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल वल्र्ड इकोनोमिक फोरमको योङ् लिडरमा छानिनु भएकोमा वधाई ज्ञापन गरिएको थियो । बैठकमा वधाई प्रस्ताव राख्दै कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले, डंगोलको नेतृत्वले फोरमको इज्जत बढेको बताए ।
प्रतिक्रिया