नबिल बैङ्क : ढड्डादेखि कम्प्युटर क्रान्तिसम्म ! | Khabarhub Khabarhub

नबिल बैङ्क : ढड्डादेखि कम्प्युटर क्रान्तिसम्म !


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको बैङ्किङ क्षेत्रमा कुनै समय ढड्डै पल्टाएर काम गर्ने, शाखामै पुगेमात्र कारोबार गर्न मिल्ने र हस्ताक्षर मिलाउनै दिनभर लाग्ने अवस्था थियो ।

बैङ्किङ क्षेत्रमा सरकारी बैङ्कहरूकै एकाधिकारजस्तो अवस्था थियो । नेपाल बैङ्क लिमिटेड, नेपाल वाणिज्य बैङ्क र कृषि विकास बैङ्कजस्ता केही सरकारी बैङ्कहरूले मात्र बैङ्किङ सेवा दिने गरेका थिए । बैङ्किङ प्रणाली पूरै हस्तलिखित प्रणालीमा आधारित थियो ।

त्यसैबीच सन् १९८४ मा निजी क्षेत्र र विदेशी लगानीमा ‘नेपाल अरब बैङ्क’ अर्थात् हालको नबिल बैङ्क स्थापना भयो । नबिल बैङ्कले पनि सेवा सुरुवात उही ढड्डाबाटै थालेको थियो ।

समयान्तरमा नबिल बैङ्कले आफ्ना हकमा मात्र होइन, नेपालका बैङ्क तथा वित्तीय संस्थाको सेवाप्रवाहमै क्रान्ति ल्याइदियो । विदेशी लगानीकर्ता भएकाले आधुनिक बैङ्किङ प्रणाली भित्र्याउन नबिल सफल भयो ।

वि.सं. २०४० को दशकअघि नेपालको बैङ्किङ क्षेत्रमा सरकारको एकाधिकार जस्तै थियो । मुलुकका प्रमुख शहरहरूमा तीनवटा बैङ्कका मात्र शाखा थिए । ती बैङ्कले दिने सेवा निकै ढिलो, सीमित र हस्तलिखित प्रणालीमा आधारित थिए । त्यहीबीच निजी क्षेत्र र विदेशी लगानीसहित नेपालको बैङ्किङ क्षेत्रमा नबिलको प्रवेश भएको थियो ।

निजी क्षेत्रबाट पहिलोपटक स्थापित यस बैङ्कले न केबल सेवा दिने तरिका बदल्यो, बरु सरकारी बैङ्कहरूमाथि प्रतिस्पर्धात्मक दबाबसमेत सिर्जना गर्‍यो । नबिल बैङ्ककै कारण पछि अन्य निजी बैङ्कहरू खुल्न मार्गप्रशस्त पनि भयो ।

नेपालको बैङ्किङमा पहिलो डिजिटल पाइला

नबिल बैङ्क नेपालमै कम्प्युटर प्रणाली ल्याउने पहिलो संस्था बन्यो । सन् १९८४ मा सरकारी बैङ्कहरूमा सबै कारोबार हातैले लेखिन्थ्यो । खाताको विवरण, हस्ताक्षर मिलाउने काम, हिसाबकिताब लगायत सबै काम ढड्डा पल्टाएरै गरिन्थ्यो ।

यही झन्झट हटाउन नबिलले डिजिटल प्रणाली सुरु गर्‍यो । नेपालमा पहिलोपटक कम्प्युटराइज्ड बैङ्किङ सिस्टम ल्याएको नबिल बैङ्कका रिटेल ट्रान्जेक्सन बैङ्किङ प्रमुख निरज शर्मा बताउँछन् ।

‘नेपालमा कम्प्युटर प्रणाली ल्याउने पहिलो बैङ्क नबिल नै हो’, शर्माले भने, ‘ढड्डामा हुने विवरणलाई कम्प्युटरमा राख्ने अभ्यास हाम्रो बैङ्कले सुरु गर्‍यो ।’

नबिल बैङ्कले सेवा सुरु गर्दा नेपालको बैङ्किङ क्षेत्रमा सेवाप्रवाह अवस्था कस्तो थियो भने; मानौँ कसैको बैङ्क खाता न्यूरोडमा छ । सेवाग्राहीले पैसा जम्मा गर्न र झिक्न बैङ्कको त्यही शाखासम्म धाउनुपर्थ्यो । त्यसमाथि पनि खातावाला व्यक्तिको हस्ताक्षर मिलेको छ कि छैन भनेर उसले खाता खोल्दा गरेको हस्ताक्षर हेर्नुपर्थ्यो ।

उसको चेक र पहिले हस्ताक्षर गरेको सबै हस्ताक्षर मिल्यो भने बल्ल उसको कारोबार हुन्थ्यो, अर्थात् बैङ्कले रकम राख्न या झिक्न दिन्थ्यो । निकै लामो त्यस्तो प्रक्रिया पूरा गर्न दिनभरजसो लाग्थ्यो ।

तर, अब नबिल बैैंकले सन् १९८९ मा कम्प्युटराइज्ड स्टिम भित्र्यायो । त्यसपछि भने विगतमा जस्तो ढड्डामा हेरेर हस्ताक्षर रुजु गर्नुपर्ने समस्या समाधान भयो ।

बैङ्कमा चेक साट्न कोही व्यक्ति आउँदा उसको हस्ताक्षर कम्प्युटरमा फोटोजस्तै बनाएर राखिएको हुन्थ्यो र त्यसैका आधारमा उसको खाताको विवरण हेर्न गरिन्थ्यो ।

त्यो बेलामा पनि एउटा शाखामा खाता हुँदा अर्को शाखामा कारोबार गर्ने पाइने स्थिति भने नबनेको शर्मा बताउँछन् । आफ्नो खाता जुन बैङ्कको जुन शाखामा छ, त्यहाँमात्र त्यस्तो सुविधा दिने गरिएको शर्माले सम्झिए ।

‘अहिलेजस्तो एउटा बैङ्कमा रहेको रकम अर्को बैङ्कबाट निकाल्न सक्ने अवस्था त थिएन’, शर्माले भने, ‘तर खाता म्यानेजमेन्ट, जनरल लेजर म्यानेज, कर्जा प्रवाह गर्ने खाताका काम हुन थाल्यो ।’

अब बैङ्कका काम क्रमशः कम्प्युटरबाट गर्न थालियो । नबिलले बैङ्किङ सेवा प्रवाहमा ल्याएको उक्त परिवर्तनलाई तत्कालीन समयमा क्रान्तिकै उपमा दिइन्थ्यो ।

‘कान्तिपथमा ग्राहकको डाटा हुन्थ्यो, म्यानेजरले र कर्जा विभागका कर्मचारीले फाइल नपठाइ डाटा हेर्न सक्नेसम्मको सर्भर त्यो बेला नबिलकै थियो’, शर्माले भने, ‘त्यो भन्दा अघिसमम एउटा चेक पाँच ठाउँमा भेरिफाइ भएर मात्र साट्ने गरिएको थियो । अब भने एक ठाउँबाटै सबै काम हुन थाल्यो ।’

अनि एटीएम…

अहिलेहाल अटोमेटेड टेलर मेसिन (एटीएम)बाट पैसा निकाल्नु आम मानिसकै लागि सामान्यजस्तो लाग्छ ।

तर, सन् १९८५ अघि ‘मेसिनबाट पैसा आउँछ’ भन्दा मान्छेलाई मजाक नै लाग्थ्यो । विदेशमा त्यस्तो मेसिन देखेर आएका कसैले नेपालमा त्यसबारे कुरा गर्दा उल्टै हाँसोको पात्र हुनुपर्थ्यो ।

नबिल बैङ्कले सन् १९८५ मा नेपालमै पहिलोपटक एटीएम सुरुवात गरेर सबैलाई छक्क पारिदियो । त्यसबेला एटीएम सेवा विश्वमा सामान्य भइसके पनि नेपालका लागि निकै नौलो भुक्तानी प्रविधि थियो ।

त्यसबेला जसको जुन शाखामा खाता हुन्थ्यो, उसले त्यही शाखामा रहेको एटीएमबाट मात्रै रकम निकाल्न सक्थ्यो । मानौँ – कान्तिपथको शाखामा कसैले खाता खोलेको छ भने उसको एटीएम पनि त्यही शाखाबाट जारी हुन्थ्यो । अनि त्यो एटीएम पनि त्यही शाखामा मात्र चल्थ्यो ।

‘ कम्प्युटराइज्ड नभएका कारण नेपाल बैङ्क र वाणिज्य बैङ्कले एटीएम ल्याउन सकेका थिएनन्’, शर्माले भने, ‘तर नबिलले आफ्ना ग्राहकको डाटा कम्प्युटरमा राखेका कारण एटीएमसञ्चालनमा ल्याउन सम्भव भएको थियो ।’

बैङ्क धाउनुपर्ने बाध्यता अन्त्य

डिपार्टमेन्टल स्टोर, विभिन्न होटेल तथा रेस्टूराँमा तपाईँले एटीएम कार्ड ‘स्वाइप’ गरी रकम तिर्ने तरिका अहिले सामान्यजस्तो लाग्छ । तर, १९९० भन्दा अघि अधिकांश नेपालीले यस्तो प्रविधि देखेकै थिएनन् ।

नबिलले १९९० मै एटीएम स्वाइप मेसिन भित्र्यायो । तर त्यो मेसिनमा आजको जस्तो कार्ड हाल्नसाथ सीधै पैसा तिर्न सक्ने प्रविधि जडित थिएन ।

त्यसबेला आफ्नो कार्ड हालेपछि त्यहाँ आफ्नो विवरण एउटा कागजमा प्रिन्ट हुन्थ्यो । त्यो प्रिन्ट भएको विवरण टेलेक्समार्फत बैङ्कमा पठाइन्थ्यो । सबै विवरण र खर्च गर्ने रकम सहितको विवरण बैङ्कमा फोन गरी भेरिफाइ (प्रमाणित) गरिन्थ्यो । अनि मात्र ग्राहकले रकम भुक्तानी गरेको मानिन्थ्यो ।

शर्माका अनुसार, केन्द्रीय कार्यालयमा फोन उठाउन टेलेक्स अपरेटर नै राखिन्थ्यो । ‘इन प्रिन्टर मेसिन भन्ने गरिन्थ्यो, त्यो अहिलेजस्तै पसल–पसलमा दिने गरिएको थियो’, शर्माले भने, ‘प्रायः पर्यटक हुने क्षेत्रमा बढी मात्रामा हुन्थ्यो । ठमेलमा, पोखरामा, पाँचतारे होटेलमा बढी मात्रामा वितरण गरिएको थियो ।’

ग्राहकले नबिलको हटलाइनमा फोन गर्थे र यति रकमका लागि अथराइज गरिदिन भन्थे । नेपालमा विगतदेखि नै विदेशी पर्यटक आउने भएकाले नबिलले पर्यटकलाई नै लक्षित गरी टेलेक्स सेवा सुरु गरेको शर्मा बताउँछन् ।

‘अहिले त्यही प्रविधि (भेरिफाइ गराउने साइकल) अटोमेटेड भयो’, शर्माले भने, ‘अहिले पनि त्यो सबै प्रक्रिया पूरा गर्नुपर्छ, तर विद्युतीय माध्यमबाट आफैँ हुन्छ ।’

शाखा सीमा तोडेको नबिलको कोर बैङ्किङ प्रणाली

अहिले नबिल बैङ्कको जुन शाखामा खाता छ – त्यही शाखामा मात्र एटीएम र चेक साट्न वा पैसा जम्मा गर्ने पाइन्छ भनिए सेवाग्राहीले सेवा नै नलिइ आफ्नो बाटो तताउँछन् । नेपालको बैङ्किङ क्षेत्रमा अहिलेहाल यस्तो हुँदैन पनि !

तर, सन् २००३ भन्दा अगाडि नेपालको बैङ्किङ क्षेत्रमा त्यस्तै हालत थियो । बैङ्कहरू त खुल्न थालेका थिए । तर, जुन शाखामा आफ्नो बैङ्क खाता छ, त्यही शाखाबाट मात्र कारोबार हुने गर्थ्यो ।

सन् २००३ मा नबिलले कोर बैङ्किङ सिस्टम सुरु गर्‍यो । यसले बैङ्किङ क्षेत्रमा ठूलो परिवर्तन ल्यायो ।

मानौँ – कान्तिपथको शाखाबाट एटीएम लिइएको थियो भने अब चाबहिलको शाखाबाट पनि पैसा निकाल्न मिल्ने भयो । आवश्यक सफ्टवेयर आएपछि केन्द्रीय कार्यालयमा सबै डाटा हुने र कुनै शाखामा भएको व्यक्तिले अर्को शाखामा गएर कारोबार गर्दा ग्राहक पहिचान गरी कारोबार हुने प्रविधि भित्रियो ।

नबिलले फिनाकल भन्ने सफ्टवेयर बैङ्किङ क्षेत्रमा भित्र्याएकाले त्यस्तो सेवाप्रवाह सम्भव भएको थियो । नबिल बैङ्कमा खाता भएपछि जुनसुकै शाखाबाट पनि चेक, एटीएम वा अन्य कुनै पनि कारोबार सेवा लिन सकिन्थ्यो । सम्बन्धित ग्राहक उही शाखामै निर्भर हुनुपर्ने बाध्यता हट्यो ।

‘नेपालमा यस्तो सफ्टवेयर ल्याउने पहिलो बैङ्क नबिल नै हो’, शर्माले भने, ‘अहिले पनि नेपालका बैङ्कहरूले यही सफ्टवेयर चलाउने गरेका छन् ।’

इन्टरनेट बैङ्किङ सुरुवात

अहिलेहाल बैङ्किङ सेवाका प्रायः काम कम्प्युटर या फोनको सहयोग लिएर आफू रहेकै स्थानबाट गर्न सकिन्छ । सन् २०११ भन्दा अघिसम्म खाता खोल्न पनि बैङ्कमै गएर लाइन बस्नुपर्थ्यो ।

‘आफ्नो पालो आउँछ, अनि सबै डकुमेन्ट बुझाउनू’ भन्ने हुन्थ्यो । कुनै डकुमेन्ट छुटे त ‘अब अर्को दिन’ भन्ने अवस्था थियो ।

तर, सन् २०११ यता भने नबिल बैङ्कले घरमै बसेर खाता खोल्न सकिने सुविधा ल्यायो । अनलाइनबाटै खाता खोल्न सुविधा नेपालमा नबिलले नै सुरु गरेको थियो । उक्त सुविधा ग्राहकहरूले अहिले पनि उपयोग गरिरहेको शर्मा बताउँछन् ।

आवश्यक सामान कार्डबाटै !

पछिल्लो दशकमा विश्वसँगै नेपालमा पनि इन्टरनेट विकास/ विस्तार तीव्र भयो । धेरै कामहरू इन्टरनेटकै माध्यमबाट हुन थालिसकेको थियो ।

त्यहीबीच सन् २०१२ मा नबिल बैङ्कले इन्टरनेटबाट ‘फन्ड ट्रान्सफर’ (रकम पठाउने) सेवा नेपालमा पहिलोपटक सुरु गर्‍यो ।

‘त्यो बेला नेपालमा ई–कर्मश (अनलाइनकासामान किन्ने ठाउँ) त थिएनन्, तर विदेशमा रहेकाका लागि लक्षित गरी सुरक्षित इन्टरनेट बैङ्किङ सुरुवात गरिएको थियो’, शर्माले सुनाए, ‘नबिलका ग्राहकले भारतमा टिकट किन्न र विदेशमा होटल बुकिङ गर्नसक्ने खालको सुविधा पाएका थिए ।’

सन् २०१७ मा आएर नबिलले नेपालमा भएका व्यवसायीलाई पनि सामान किन्दा सीधै भुक्तानी सुविधा दिन थाल्यो । ‘अहिले पनि दराजबाट सामान किन्दा आफ्नो कार्डको डिटेल हालेर सबै सामान किन्न सकिन्छ त्यही प्रविधि नबिलले ल्याएको हो’, शर्माले भने, ‘अहिले होटेल तथा एयरपोर्ट लगायत २०० भन्दा बढी ठाउँमा यो सेवा सञ्चालनमा छ ।’

अनि आयो हातमा बैङ्क

अहिले सबैको हातमा बैङ्क छ । रकम पठाउन, सामान किनेको बिल भुक्तानी गर्न, इन्टरनेट, टेलिफोन वा बिजुलीको बिल तिर्न सबै काम डिभाइसबाटै गर्न सकिन्छ ।

अहिले बैङ्कबाट हुने अधिकांश काम मोबाइलमा भएको बैङ्कको एपबाटै हुन्छ, नगद बोकेर हिँड्ने चलन नै हराउँदैछ ।

भुक्तानीलाई यति सजिलो बनाउन नबिल बैङ्कको पनि योगदान छ । नबिल बैङ्कले भन्दा अघि अरू बैङ्कले पनि मोबाइल बैङ्किङको सुरुवात त गरेका थिए, तर त्यतिबेला एसएमएसबाट चल्नेगरी मोबाइल बैङ्किङ सुरु भएको थियो ।

त्यहीबीच नबिल बैङ्कले सन् २०१३ मा बैङ्किङ एप बनाएर मोबाइल बैङ्किङ सुरु गर्‍यो । सुरुमा अहिलेजति धेरै सुविधा थिएन । तर, त्यहाँ आफ्नो खातामा रहेको रकम हेर्न मिल्ने, नबिलमै खोलिएको अर्को खातामा रकम पठाउन मिल्ने र फोनको बिल तिर्नेजस्ता न्यूनतम सुविधाहरू थिए ।

‘हामीले त्यसलाई क्रमशः परिष्कृत गर्दै विभिन्न फिचरहरू थप्दै गयौँ’, शर्माले भने, ‘अहिले पनि हामी मोबाइल बैङ्किङमा थुप्रै सुविधाहरू थप्ने योजनामा छौँ, त्यसमा अहिले काम भइरहेको छ ।’

मोबाइल कर्जाको युगमा बैङ्किङ क्षेत्र

यतिबेला सरकारले बजेटमार्फत डिजी बैङ्कको परिकल्पना गरेको छ ।

तर, नबिल बैङ्कले भने यो परिकल्पना सन् २०२० मै गरेको थियो । आफूले डिजी बैङ्क सुरु गरे पनि सम्बन्धित कानुन नभएकाले नबिलले ‘एन बैङ्क’का रूपमा अघि बढायो ।

यही प्रविधिमार्फत नबिल बैङ्कले नेपालमा पहिलोपटक मोबाइल एपबाटै कर्जा प्रवाह गर्न थाल्यो । यससँगै बैङ्किङ क्षेत्र मोबाइल कर्जाको युगसम्म प्रवेश गर्‍यो ।

‘सबै सेवा मोबाइल बैङ्किङबाटै होस् भन्ने हाम्रो लक्ष्य हो’, शर्माले भने, ‘अहिले यो प्रविधिमार्फत दुई लाख रुपैयाँसम्म ऋण दिने गरिएको छ ।’

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : ११ बजे

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ