एक वर्षमा पौने तीन लाख नेपाली भिजिट भिसामा बाहिरिए | Khabarhub Khabarhub

एक वर्षमा पौने तीन लाख नेपाली भिजिट भिसामा बाहिरिए


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्य मूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ ।

भिजिट भिसा प्रक्रियामा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठ्दै आएका छन् । सरकारले यसमा सुधारका लागि छानबिन समिति गठन गरी काम सुरु गरिसकेको छ । अर्कोतिर यही प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा दुई राजनीतिक दलले बैठकलाई अवरोध गर्दै आएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नेपाल प्रवेश गर्ने वा नेपालबाट बाहिरिने यात्रुहरूको राहदानी, भिसा र अन्य कागजातको जाँच गरी आधिकारिकता प्रमाणित गर्ने काम गर्दै आएको छ ।

विमानस्थलबाट बर्सेनि यसरी भिजिट भिसामा यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनका लागि स्रोतसाधन र प्रविधिमा चाप बढेको छ । अध्यागमन विमानस्थल कार्यालयमा हाल झण्डै एक सय ५० जना कर्मचारी समयतालिका अनुसार कार्यरत रहेको विभागले जनाएको छ ।

गृह मन्त्रालयले अध्यागमन क्षेत्रलाई चुस्त बनाउन भन्दै केही दिन अघिमात्र विभागको महानिर्देशकमा रामचन्द्र तिवारी र विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा नरहरि अर्याललाई खटाएको छ ।

महानिर्देशक तिवारीले विभागलाई केवल आगमन र प्रस्थानको अभिलेख राख्ने निकायमा सीमित नराखी राष्ट्रिय सुरक्षा र सुरक्षित आप्रवासनका क्षेत्रमा नीतिगत सुझाव दिने एक विशेषज्ञ निकायको रूपमा विकास गर्ने गरी काम गर्ने बताए ।

उनले अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधिलाई वर्तमान समयको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास अनुकूल परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै प्रविधिमा आधारित सुधारका विभिन्न कार्ययोजनासमेत तयार गरेको अवगत गराए ।

त्यस्तै उनले मानव संसाधन विकास र सुदृढीकरण गर्ने, विशेषज्ञता र वृत्ति विकास, उच्चस्तरको निष्ठा र अनुशासन, अन्तर निकाय समन्वय र सहकार्यका योजनाबारे पनि सुनाए ।

अर्यालले भिजिट भिसा प्रक्रियादेखि समस्या समाधानका लागि परराष्ट्र, श्रम, गृह मन्त्रालय, नेपाल प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागबीच सूचना आदानप्रदान र सहकार्यका लागि एक बलियो र स्थायी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ जना नेपालीले भिजिट भिसामा विभिन्न मुलुकमा यात्रा गरेका थिए । सन् २०२३ मा दुई लाख दुई हजार ४१९ ले यात्रा गरेका थिए, भने सन् २०२२ मा एक लाख ७५ हजार ७९० र ९० हजार १८१ नेपालीले भिजिट भिसामा यात्रा गरेको विभागको तथ्याङ्क छ ।

यो सङ्ख्या सन् २०२५ को जुलाई सम्ममा एक लाख ३४ हजार ८२५ पुगेको छ । भिजिट भिसामा जाने प्रमुख गन्तव्य मुलुकहरुमा युएई, थाईल्याण्ड, ओमान, कतार, मलेसियालगायत रहेका छन् ।

प्रस्थान व्यवस्थापन र यसको बहसमा मात्र सम्पूर्णमूलुक केन्द्रित भएको परिस्थितिमा विभागले आगामी दिनमा आगमनमा पनि प्राथमिकताका साथ कार्य गर्ने योजना तयार गरेको जनाएको छ ।

महिलाको सङ्ख्यामा उल्लेख्य वृद्धि
भिजिट भिसामा जाने महिला यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । कूल सङ्ख्यामा महिलाको हिस्सा सन् २०२१ को १४.४ प्रतिशतबाट बढेर सन् २०२४ मा ४२.१ प्रतिशत पुगेको छ । खासगरी युएई र थाईल्याण्डजस्ता गन्तव्यमा महिला यात्रुहरुको सङ्ख्या उल्लेख्य रहेको तथ्याङ्क छ । त्यसैगरी, युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ ।

भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा म्याद भएको बैध राहदानी र यात्रा प्रयोजनसम्बन्धी भिसा, दुईतर्फी हवाई टिकट, खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम् ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने प्रावधान छ । (रासस)

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १२ : ०१ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता