राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन « Khabarhub

राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्‍याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा सङ्घ संस्थासँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित गन्तव्यसम्म पुर्‍याउन, बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको ‘बर्थिङ सेन्टर’सम्म पुर्‍याउन व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको मन्त्रालयका उपसचिव निशानराज गौतमले जानकारी दिए ।

बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देश गरिएको पनि उनले बताए ।

प्रतिकूल मौसमलाई मध्यनजर गर्दै वर्षातका कारण बाढीपहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित हुने व्यवस्थाका लागि परिपत्र गरिएको छ

बाढी, पहिरोका सन्दर्भमा गरिएका कामको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशित गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचनाअनुसार लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनको आवतजावत आजदेखि असोज २० गते सोमबारसम्म बन्द गर्न÷गराउन पनि मन्त्रालयले पत्राचार गरेको छ । त्यसको अनुगमन र निगरानी गर्न निर्देशन दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि असोज २० सम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो निर्देशन गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । विभागको पूर्वानुमानअनुसार हाल देशभर वर्षा भइरहेकाले मनसुनजन्य विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आह्वान गरेको जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : २९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक