अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा  | Khabarhub Khabarhub

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

गर्भवती आमाहरूलाई बर्थिङ सेन्टर पुग्न धौ धौ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु भएको छ । काठमाडौँ उपत्यकामा विगतका वर्षहरूमा मंसिर महिनामा हुने जस्तो चिसो यसवर्ष कात्तिकमै हुनथालेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपातसँगै वर्षा भएपछि त्यहाँको जनजीवन थप कष्टकर बनेको छ । 

आन्तरिक तथा बाह्य पर्यटकहरूको लर्को लाग्ने मनाङ, मुस्ताङ, अन्नपूर्ण हिमालमा पर्यटकलाई जान रोक लगाइएको छ । ती क्षेत्रहरूमा पुगेका पर्यटकहरू पनि समस्यामा परेका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि उनीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । कति पर्यटकहरूलाई लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ । 

त्यस्तै हिमाली जिल्ला हुम्ला तथा डोल्पामा पनि यसवर्ष समयमै परेको हिमपात तथा वर्षाले जनजीवन प्रभावित भएको स्थानीहरू बताउँछन् । चिसोले सबैभन्दा धेरै स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको त्यहाँका चिकित्सक बताउँछन् । 

गर्भवती सर्वाधिक प्रभावित

चिसो मौसम सुरु भएसँगै डोल्पामा दम तथा निमोनियाका बिरामीहरू बढिरहेका जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए । कात्तिकमै चिसो बढ्दा बिरामीहरूको सङ्ख्या बढेको हो । यस्तो बेलामा अक्सिजनको आवश्यकता हुन्छ । तर हामीसँग अक्सिजन उपलब्ध नभएकाले प्रदेश अस्पतालतिरै रेफर गर्नुपर्ने हुन्छ, उनले भने । 

डा. उपाध्यायका अनुसार तल्लो डोल्पाभन्दा पनि अपर डोल्पाका बासिन्दालाई स्वास्थ्य सेवा पाउन अत्यन्तै कठिन छ । अहिलेदेखि नै हिमपात हुन थालेपछि सबैभन्दा धेरै गर्भवतीहरुलाई असहज भएको छ । उनले भने, ‘बर्थिङ सेन्टरसम्म पुग्न उनीहरूलाई धौ धौ हुन्छ । त्यसमाथि केही विशेषज्ञ सेवा लिनुपर्ने अवस्था आयो भने जिल्ला अस्पताल डोल्पासम्म पुग्न पनि उनीहरूलाई तीनदेखि सात दिनसम्म लाग्छ । त्यसैले धेरै आमाहरू घरमै बच्चा जन्माउन बाध्य हुन्छन् ।

अपर डोल्पामा भएका कतिपय बर्थिङ सेन्टरहरू कर्मचारी पुग्न नसक्दा बन्द छन् । स्थानीय तहले समन्वय गरेर नियमित खोप सेवा तथा गर्भवती जाँच लगायतका सेवाहरू दिने गरिएको छ । 

कात्तिक अन्तिमदखि फागुनको पहिलो हप्तासम्मै अपर डोल्पाका नागरिकले स्वास्थ्य सेवा पाउँदैनन् । स्थानीय स्वास्थ्यकर्मीहरूले सकेसम्म नियमित सेवामा पर्ने खोप, गर्भवती तथा प्रसूति सेवा दिने प्रयास गर्छन् । तर धेरै हिमपात भयो भने त्यो पनि प्रभावित हुने गरेको छ । 

 त्यस्तै हुम्लामा चिसो मौसममा स्वास्थ्य सेवा धेरै प्रभावित हुने गरेको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताए । उनका अनुसार कात्तिकमै पानी परेर उच्च भेगमा हिमपात भएपछि जाडो एक्कासि बढेको छ । बिहान बेलुका चिसो भएपनि दिउँसो घाम लागेकाले स्वास्थ्यमा त्यति प्रभाव त पारेको छैन । तर अब क्रमिक रुपमा तापक्रम घट्दै जान्छ । 

चिसो मौसममा वर्षे बाली भित्र्याएर पाखोबारी पनि सुख्खा हुन्छ भने बनजङ्गलहरु उजाड हुँदै जाने भएकाले जताततै धुलो उडेर वातावरण प्रदुषित हुने, त्यसमाथि चिसो बढ्दा रुघाखोकी, निमोनिया दम लगायत स्वासप्रस्वासका बिरामीहरू यतिखेर धेरै आउने गरेको चिकित्सकको भनाइ छ । 

‘यो वर्षेनीकै समस्या भएकाले हामीले त्यही अनुसारको तयारी गरिरहेका हुन्छौँ ।’ त्यस्तै चिसोका कारण हाडजोर्नी दुख्ने समस्या भएका बिरामी पनि धेरै आउने गरेको प्रमुख उपाध्यायको भनाइ छ । 

अहिले तत्काल भने सदरमुकाम रहेको गाउँपालिका सिमकोटमा हिमपात भइसकेको अवस्था छैन । अन्य उच्च क्षेत्रमा रहेका स्थानीय तहहरूमा हिमपात शुरु भइसकेको छ ।

धेरै चिसो भएपनि गर्भवती जाँच, प्रसूति लगायत आमा सुरक्षा, खोप, बच्चाको तौल, पोषण लगायतका कार्यक्रमहरू नियमित भइरहेका हुन्छन् । हिमपात वा वर्षा भएको बेला केही दिन अघि पछि गरेर मौसम सफा भएको दिन वा घाम लागेको दिन गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।

गर्भवती आमाहरूको हकमा भने चौबीसै घण्टा सेवा दिन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको र त्यही अनुसार सेवा प्रवाह भइरहेको उनले बताए । 

औषधी अभाव 

भौगोलिक बिकटताका कारण विभिन्न समस्या झेल्दै आएका हुम्लाका बासिन्दाले चाहिएको बेलामा औषधी पनि नपाउने गरेको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए । 

यसवर्ष भर्खरै मात्र हुम्लामा सडक यातायात पुगेको छ । नभए जहाजकै भरमा ढुवानी गर्नुपर्ने, उनीहरूले समयमै ल्याइ नपुर्‍याउने समस्या हुन्थ्यो भने औषधी उपकरण तर्फ बजेट पनि कम हुन्छ । केन्द्र सरकार र स्थानीय सरकारले औषधी उपकरण भन्दा अन्य विकासका कामलाई बढी प्राथमिकता दिँदा यो समस्याकै विषय बनेको भण्डारीको अनुभव छ । 

औषधीको व्यवस्थापन हामी आफैले गर्नुपर्ने भएकाले कतिपय अवस्थामा निकासाहरु ढिलो आउने र खरिद प्रक्रिया पनि अलि लामो भएका कारण बेलाबेलामा अभाव हुने गरेको उनले बताए । 

भण्डारीले गुनासो गर्दै भने– ‘नीतिगत रुपमा संघीय सरकार र प्रदेश सरकारले औषधीजन्य सामाग्री र औषधी उपकरणहरू स्थानीय सरकारलाई दिनुपर्ने हो । तर अहिलेसम्म खरिद गनुपर्ने कुराहरु केही पनि उपलब्ध हुँदैन ।’ 

उनका अनुसार स्थानीय तहमा आफै औषधीहरू खरीद गर्नुपर्ने हुन्छ । त्यही पनि सकेसम्म हामीले गरिरहेकै हुन्छौँ । त्यति गर्दागर्दै पनि कहिलेकाहीँ भौगोलिक बिकटताका कारण चाहिएको बेलामा औषधीहरू हुँदैन । 

 पर्यटकको उपचारमा कठिनाइ 

सडक यातायातको पहुँच भएकाले डोल्पाको फोक्सुण्डो ताल पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बनेको छ । चारपाङ्ग्रे गाडी तथा बाइकको माध्यमबाट पनि आन्तरिक तथा बाह्य पर्यटकहरू धेरै आउने गरेको डा. उपाध्याय बताउँछन्। 

तर उनीहरूमा सामान्य स्वास्थ्य समस्या आउँदा पनि रेफर गर्नुपर्ने वाध्यता रहेको छ । जिल्ला अस्पताल डोल्पामा अक्सिजन समेत उपलब्ध नभएको डा. उपाध्यायले बताए । 

उनले भने विदेशी पर्यटकहरू बिरामी हुँदा उनीहरूको उद्धार हेलिकोप्टरमार्फत छिटो हुन्छ र उपचारका लागि काठमाडौं पोखरा लैजाने गरिन्छ । यहाँ उपचार गराउने भनेको नेपाली हो । धेरै उचाइ भएका कारण लेक लाग्ने र  खानपान नमिल्दा झाडापखाला लाग्ने गर्दछ । त्यस्तो अवस्थामा उनीहरूको उपचारमा कठिनाइ हुने गरेको छ । 

त्यसका साथसाथै अहिले वर्षा तथा हिमपात भएकाले ढुङ्गाहरू खसेर घाइते भएका केसहरू पनि छन् । तर धेरै जसोलाई लेक लाग्ने र झाडापखालाको समस्या रहेको बताइन्छ । 

हुम्ला मानसरोवर कैलाश तर्फ जाने मार्ग भएकाले भारतीय पर्यटकहरू धेरै नै आउने गरेको सिमकोटका स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए । तल्लो सतहबाट आउने भएकाले लेक लाग्ने समस्या धेरै देखिने गरेको छ । लेक लागेकै कारण गतवर्ष २ जना भारतीय पर्यटकको मृत्यु भएको स्मरण गर्दै यसवर्ष अवस्था गम्भिर भएर २, ३ जनालाई हेलिकोप्टर मार्फत काठमाडौं रेफर गर्नुपरेको भण्डारीले बताए । 

मोटोपनको समस्या भएका पर्यटकहरूमा श्वासप्रश्वास सम्बन्धी समस्याले चाँडो समात्ने गरेको उनको भनाई छ । 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ०० बजे

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित

प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भनव