‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’ « Khabarhub

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

तीन महिनामै सञ्चालनमा आयो भाटभटेनीको गोदाम


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते भाटभटेनी सुपरमार्केट र मीनबहादुर गुरुङले अकल्पनीय क्षति ब्यहोरे ।

त्यसदिन नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका १२ स्टोरमा आन्दोलनकारीका नाममा अराजक समूहले आगो झोसे ।

उक्त दिन बौद्धस्थित भाटभटेनी जलाउन उत्रिएकामध्ये कम्तीमा ७ जना जलेर मारिए । उनीहरूको आजसम्म पहिचानसमेत हुन सकेको छैन । पहिचान नभएका तीसहित ७६ जना जेन-जी आन्दोलनका कारण मारिएको सरकारको तथ्यांकमा छ ।

भाटभटेनीले अर्बौँको क्षति भोगे पनि गत मंसिर १ गते जेन-जीकै बलमा बनेको अन्तरिम सरकारले गुरुङलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित गर्‍यो ।

उत्कृष्ट करदाता भएपछि बोल्ने क्रममा त्यस दिन उनले आफ्नो विरह पनि पोखे । ‘जेन-जी आन्दोलनका क्रममा १२ वटा भाटभटेनी शाखा पूर्ण रूपमा नष्ट भएका छन् । अरु धेरै शाखामा लुटपाट र तोडफोड भयो’, उनले सरकारबाट सम्मान मिलेपछि भनेका थिए, ‘दशैँ, तिहार र छठ नजिकिएकाले धेरै सामान स्टक राखिएको थियो । त्यो समयमा परेको नोक्सानी अत्यन्त गम्भीर थियो ।’

गुरुङले आफूले ठूलो क्षति बेहोरे पनि अघि बढ्ने निर्णय जिम्मेवारीका कारण भएको बताएका थिए। ‘बैंकको लगानी, मसँग जोडिएका हजारौँ कर्मचारी र देशप्रतिको जिम्मेवारीले मलाई अघि बढ्न प्रेरित गर्छ,’ उनले भनेका थिए ।

भाटभटेनीमाथि आक्रमणका कारणबारे बोल्दै उनले कुनै पार्टीलाई भवन सहयोग दिएको भनेर गलत बुझाइ फैल्याइएको बताए। ‘कर तिरेपछि बाँकी रकमबाट म सामाजिक काममा लगानी गर्छु’, उनले त्यसदिन अर्थमन्त्री रामेश्वर खनालसामु भनेका थिए, ‘यही मंसिरमा डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल उद्घाटन गर्ने तयारीमा थियौँ, आन्दोलनले ढिला भयो ।’

जेन-जी आन्दोलनका नाममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भोग्न बाध्य भएको उही भाटभटेनी राज्यद्वारा सम्मानित पनि भयो । त्यसका सञ्चालक मीनबहादुरले खरानीको थुप्रो कुल्चिँदै उभिएर देखाउने वाचा गरेअनुसार मुख्य गोदाम तीन महिनामै सञ्चालमा आयो।

उनको त्यही वाचाअनुसार ठूलो क्षति ब्यहोरेको तीन महिनामै भाटभटेनीले बालुवाटारस्थित मुख्य गोदाम सञ्चालनमा ल्याएको छ । बालुवाटारस्थित मुख्य गोदाम हिन्दु धर्मअनुसार बिहीबार रुद्री पूजा गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

त्यसबेला आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापनस्थल पुनःनिर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो ।

उक्त कार्यक्रममा ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाएर गोदाम सञ्चालनमा ल्याउन सम्भव भएको मीनबहादुरले बताए ।

मीनबहादुरको बिन्ती

गुरुङले गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली अब सहज हुने बताएका छन् । उनले यसो भनेर सम्बोधन गरिरहे पनि भाटभटेनीको मुख्य गोदाम सञ्चालनका क्रममा टाँसिएको एउटा पोस्टरले गहिरो सन्देश दिइरहेको थियो ।

मुख्य गोदाको भित्तामा टाँसिएको पोस्टरमा जेन-जीका नाममा जलाइएपछि आगो दन्किरहेका सिंहदरबार, सर्वोच्च अदालत र नयाँबानेश्वरस्थित संसद् भवन देखाइएको छ ।

अर्कातिर आन्दोलनकारीले जलाएपछि आगोको लप्कामा परेका भाटभटेनीका विभिन्न शाखाको तस्बिर पनि त्यहाँ छन् । जलाइसकेपछि खण्डहर बनेको भाटभटेनीको भित्री भागको दृश्य पनि पोस्टरमा छन् ।

त्यही पोस्टरकै पल्लो कुनामा ढाका टोपी लगाएर हात जोड्दै उभिएका मीनबहादुर देखिन्छन् । मीनबहादुर नजिकै हिन्दुहरूका आराध्यदेव भगवान् पशुपतिनाथको तस्बिर पनि राखिएको छ। पशुपतिनाथको उक्त तस्बिर अगाडि उभिएर मीनबहादुर बिन्ती गरिरहेका देखिन्छन् ।

पशुपतिसामु दुई हात जोडिरहेका मीनबहादुर भनिरहेका छन्- हे भगवान्, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ७ : ०९ बजे

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते

ढोरपाटन– बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्