उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर माओवादी उपाध्यक्ष बन्दै | Khabarhub Khabarhub

उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर माओवादी उपाध्यक्ष बन्दै

प्रचण्डले दिए हुँदै नभएको उत्पादन विभाग



काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा फर्काउने निर्णय गरेको छ । सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले पुनलाई राजनीतिमा फर्काउने निर्णय गरेको हो ।

तर, पुनलाई औपचारिक रुपमा उपाध्यक्ष बनाइएको छैन । उनलाई बैठकमा आमन्त्रित सदस्यको हैसियत मात्र दिइएको सचिव देवेन्द्र पौडेलले बताए । पौडेलका अनुसार अब बस्ने केन्द्रीय समितिबाट निर्णय गरेर पुनलाई सक्रिय राजनीतिमा फर्काइने छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा पुन पदाधिकारीकै हैसियतमा सहभागी भए ।

त्यसअघिका बैठकमा पनि पुन उपस्थित थिए । पुस २१ देखि २३ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पुनलाई उपाध्यक्षको हैसियतमा सहभागी गराएका थिए ।

वरिष्ठपछिको उपाध्यक्षमा

माओवादीमा अहिले नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष छन् । उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन् । पुनलाई वरिष्ठ श्रेष्ठ पछाडिको वरीयतासहित उपाध्यक्ष बनाउने तयारी छ ।

माओवादीले यसअगाडि सभामुखबाट बिदा भएपछि पूर्वसभामुख सापकोटालाई पनि उपाध्यक्ष बनाएको थियो । सुरुमा पुनलाई उपाध्यक्ष बनाउन नेताहरूबीच मतभेद थियो । तर, पछिल्लो समय उनलाई उपाध्यक्ष बनाउन सबै एक मत भएको सचिव पौडेलले बताए ।

‘पूर्व उपराष्ट्रपतिलाई जिम्मेवारीमा फर्काउन सबैबीच एकमत छ । उहाँलाई जिम्मेवारीमा फकाउँदा पार्टी झन् मजबुत बन्छ’, पौडेलले खबरहबलाई भने, ‘उहाँ उपाध्यक्ष हुने हो । तर वरियताबारे पार्टीले निर्णय गर्छ ।’

पौडेलका अनुसार पुनले पार्टी बैठकमा दिएको जिम्मेवारी पूरा गर्ने वचन दिएका छन् । पुनले वरिष्ठ उपाध्यक्ष पाउने सम्भावना कम छ ।

‘वरिष्ठ उपाध्यक्ष होइन, नारायणकाजी पछाडि उपाध्यक्ष दिने कुरा छ । उहाँ पनि तयार हुनुहुन्छ,’ ती पदाधिकारीले भने, ‘पहिला महाधिवेशनमा उत्पादन विभाग बनाउने कुरा थियो । उहाँ जनसेनाको कमाण्डर पनि हो । कृषि उत्पादन विभागसँगै उपाध्यक्ष दिने भनिएको छ’, ती नेताले भने ।

महरालाई मनाएर वरिष्ठ उपाध्यक्षपछि पुनलाई ल्याउने तयारीमा प्रचण्ड छन् । यदि महराले चित्त दुखाए महरापछिको पोजिशन मात्रै पाउने छन् । अहिले माओवादीमा नारायणकाजी पछाडि महरा, सापकोटा र भुसाल छन् ।

‘घर फर्किन चाहन्छु’

पुनले सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा धारणा राखेका छन् । उनले आफूलाई माओवादीले नै उपराष्ट्रपति बनाएको बताउँदै अब पार्टी काममा खटाउनुपर्ने कुरा राखेका थिए ।

‘यहाँहरूले नै उपराष्ट्रपतिमा पठाउनुभयो । म पार्टीको मान्छे हुँ । अरू पुँजीपति र बुर्जुवामा के हुन्छ ? हेर्ने कुरा भएन, हामी त कम्युनिस्ट हौँ । यहाँहरूले उपराष्ट्रपति बनाउनु भयो, अब यहाँहरूसँगै आएको छु’ पुनले भने, ‘मैले अहिलेसम्म पार्टीलाई आँच आउने काम गरेको छैन । उमेर पनि छ । यहाँहरूले दिएको भूमिकालाई कुशलतापूर्वक निभाउने छु । उद्योग र उत्पादन क्षेत्रमा पार्टीले मानक स्थापना गर्न सक्छ ।’

उनले पार्टी काममै फर्किनका लागि बैठकमा आइरहेको पनि बताएका छन् । ‘साथीहरूले म बैठकमा आएको देखिरहनु भएकै छ । पार्टीमा सेवा गर्न चाहन्छु । पार्टी नै मेरो घर हो । म यही घरमा काम गर्न चाहन्छ’, उनले विनम्र हुँदै भनेका थिए ।

पुनले यसो भनेपछि प्रचण्ड बोले । ‘पुन कमरेडले राजनीतिमा फर्किन्छु भनेपछि आमन्त्रित सदस्य बनाएर बैठकमा राखेको यहाँहरूलाई थाहा छ’, उनले भनेका थिए, ‘उहाँ आएपछि पार्टी झन् मजबुतर सक्रिय भएर अघि बढ्नेछ । जनयुद्धको कमान्डरले हामी सबैलाई कमान्ड गरेर लानुहुन्छ भन्ने छ । अहिले उहाँलाई उत्पादन विभाग दिऊँ ।’

केन्द्रीय समितिले निर्णय गर्ने

त्यसपछि अरु पदाधिकारीले पुन पार्टीमा आउने कुराको विरोध गरेनन् । उनीहरूले केन्द्रीयस समितिबाट उनलाई उपाध्यक्षमा अनुमोदन गर्नुपर्ने तर्क राखे । अहिले पुन माओवादीमा आमन्त्रित सदस्य मात्रै छन् । माओवादीले आगामी जेठमा केन्द्रीय समिति बोलाउने तयारी गरेको छ । त्यसबेलासम्म पुन पार्टी पदाधिकारी बैठकमा आमन्त्रित सदस्यका रुपमा उपस्थित हुनेछन् । उनलाई तत्कालका लागि उत्पादन विभाग दिइएको छ । माओवादीमा अहिले ३५ वटा विभाग छन् ।

तर पुनलाई बन्ने प्रक्रियामै रहेको उत्पादन विभाग दिने भनिएको छ । उत्पादन विभाग बन्ने प्रक्रियामा रहेको माओवादीका एक पदाधिकारी बताउँछन् । पुनले पनि उत्पादन विभाग हेर्न इच्छा देखाएपछि पार्टीले यस्तो निर्णय गरेको सचिव पौडेलले बताए ।

९ वर्षपछि राजनीतिमा

माओवादी शान्ति प्रक्रिया आएपछि अध्यक्ष दाहालपछिका चर्चित व्यक्ति थिए नन्दकिशोर (बहादुर) पुन पासाङ । पुन माओवादी लडाकुका कमान्डर थिए । १० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियासम्म जनसेनालाई नेतृत्व गरेका उनी बाहिर पनि चर्चित थिए । उनले सातवटै लडाकु शिविरको कमान्ड गरेका थिए ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा उनी नेपाली कांग्रेसका गगन थापासँग पराजित भए । त्यसपछि २०७२ कात्तिक १३ गते उनलाई पार्टीले उपराष्ट्रपति बनाएको थियो । त्यसपछि उनी राष्ट्रपति विद्या भण्डारीसँगै दोस्रो कार्यकालका लागि पनि उपराष्ट्रपति बने ।

पार्टी राजनीति छाडेको ९ वर्षपछि उनी माओवादीमा जोडिएका हुन् । उनी उपराष्ट्रपति पदबाट बिदा भएको २२ महिना पूरा भएको छ ।

राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते रामसुर र मनसरा पुनका माहिला छोराका रुपमा उनको जन्म भएको हो । पुन अहिले ६० वर्ष लागेका छन् । उनका श्रीमती र दुई छोरा छन् । एक छोरा दीपेश पुन विद्यार्थी राजनीतिबाट भर्खरै बिदा भएका छन् । दीपेश सहकारी ठगी र सुन तस्करीसहितका विभिन्न प्रकरणमा मुछिँदै आएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : ४६ बजे

हमासले भोलि थप तीन बन्दीलाई छाड्ने

एजेन्सी – प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासले इजरायलबाट नियन्त्रणमा

रविलाई पौने तीन करोड जुट्दा उनकै कार्यकर्ता एक लाख धरौटी बुझाउन नसकेर जेल चलान

काठमाडौं – सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह

नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

काठमाडौं – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने