उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर माओवादी उपाध्यक्ष बन्दै | Khabarhub Khabarhub

उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर माओवादी उपाध्यक्ष बन्दै

प्रचण्डले दिए हुँदै नभएको उत्पादन विभाग



काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा फर्काउने निर्णय गरेको छ । सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले पुनलाई राजनीतिमा फर्काउने निर्णय गरेको हो ।

तर, पुनलाई औपचारिक रुपमा उपाध्यक्ष बनाइएको छैन । उनलाई बैठकमा आमन्त्रित सदस्यको हैसियत मात्र दिइएको सचिव देवेन्द्र पौडेलले बताए । पौडेलका अनुसार अब बस्ने केन्द्रीय समितिबाट निर्णय गरेर पुनलाई सक्रिय राजनीतिमा फर्काइने छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा पुन पदाधिकारीकै हैसियतमा सहभागी भए ।

त्यसअघिका बैठकमा पनि पुन उपस्थित थिए । पुस २१ देखि २३ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पुनलाई उपाध्यक्षको हैसियतमा सहभागी गराएका थिए ।

वरिष्ठपछिको उपाध्यक्षमा

माओवादीमा अहिले नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष छन् । उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन् । पुनलाई वरिष्ठ श्रेष्ठ पछाडिको वरीयतासहित उपाध्यक्ष बनाउने तयारी छ ।

माओवादीले यसअगाडि सभामुखबाट बिदा भएपछि पूर्वसभामुख सापकोटालाई पनि उपाध्यक्ष बनाएको थियो । सुरुमा पुनलाई उपाध्यक्ष बनाउन नेताहरूबीच मतभेद थियो । तर, पछिल्लो समय उनलाई उपाध्यक्ष बनाउन सबै एक मत भएको सचिव पौडेलले बताए ।

‘पूर्व उपराष्ट्रपतिलाई जिम्मेवारीमा फर्काउन सबैबीच एकमत छ । उहाँलाई जिम्मेवारीमा फकाउँदा पार्टी झन् मजबुत बन्छ’, पौडेलले खबरहबलाई भने, ‘उहाँ उपाध्यक्ष हुने हो । तर वरियताबारे पार्टीले निर्णय गर्छ ।’

पौडेलका अनुसार पुनले पार्टी बैठकमा दिएको जिम्मेवारी पूरा गर्ने वचन दिएका छन् । पुनले वरिष्ठ उपाध्यक्ष पाउने सम्भावना कम छ ।

‘वरिष्ठ उपाध्यक्ष होइन, नारायणकाजी पछाडि उपाध्यक्ष दिने कुरा छ । उहाँ पनि तयार हुनुहुन्छ,’ ती पदाधिकारीले भने, ‘पहिला महाधिवेशनमा उत्पादन विभाग बनाउने कुरा थियो । उहाँ जनसेनाको कमाण्डर पनि हो । कृषि उत्पादन विभागसँगै उपाध्यक्ष दिने भनिएको छ’, ती नेताले भने ।

महरालाई मनाएर वरिष्ठ उपाध्यक्षपछि पुनलाई ल्याउने तयारीमा प्रचण्ड छन् । यदि महराले चित्त दुखाए महरापछिको पोजिशन मात्रै पाउने छन् । अहिले माओवादीमा नारायणकाजी पछाडि महरा, सापकोटा र भुसाल छन् ।

‘घर फर्किन चाहन्छु’

पुनले सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा धारणा राखेका छन् । उनले आफूलाई माओवादीले नै उपराष्ट्रपति बनाएको बताउँदै अब पार्टी काममा खटाउनुपर्ने कुरा राखेका थिए ।

‘यहाँहरूले नै उपराष्ट्रपतिमा पठाउनुभयो । म पार्टीको मान्छे हुँ । अरू पुँजीपति र बुर्जुवामा के हुन्छ ? हेर्ने कुरा भएन, हामी त कम्युनिस्ट हौँ । यहाँहरूले उपराष्ट्रपति बनाउनु भयो, अब यहाँहरूसँगै आएको छु’ पुनले भने, ‘मैले अहिलेसम्म पार्टीलाई आँच आउने काम गरेको छैन । उमेर पनि छ । यहाँहरूले दिएको भूमिकालाई कुशलतापूर्वक निभाउने छु । उद्योग र उत्पादन क्षेत्रमा पार्टीले मानक स्थापना गर्न सक्छ ।’

उनले पार्टी काममै फर्किनका लागि बैठकमा आइरहेको पनि बताएका छन् । ‘साथीहरूले म बैठकमा आएको देखिरहनु भएकै छ । पार्टीमा सेवा गर्न चाहन्छु । पार्टी नै मेरो घर हो । म यही घरमा काम गर्न चाहन्छ’, उनले विनम्र हुँदै भनेका थिए ।

पुनले यसो भनेपछि प्रचण्ड बोले । ‘पुन कमरेडले राजनीतिमा फर्किन्छु भनेपछि आमन्त्रित सदस्य बनाएर बैठकमा राखेको यहाँहरूलाई थाहा छ’, उनले भनेका थिए, ‘उहाँ आएपछि पार्टी झन् मजबुतर सक्रिय भएर अघि बढ्नेछ । जनयुद्धको कमान्डरले हामी सबैलाई कमान्ड गरेर लानुहुन्छ भन्ने छ । अहिले उहाँलाई उत्पादन विभाग दिऊँ ।’

केन्द्रीय समितिले निर्णय गर्ने

त्यसपछि अरु पदाधिकारीले पुन पार्टीमा आउने कुराको विरोध गरेनन् । उनीहरूले केन्द्रीयस समितिबाट उनलाई उपाध्यक्षमा अनुमोदन गर्नुपर्ने तर्क राखे । अहिले पुन माओवादीमा आमन्त्रित सदस्य मात्रै छन् । माओवादीले आगामी जेठमा केन्द्रीय समिति बोलाउने तयारी गरेको छ । त्यसबेलासम्म पुन पार्टी पदाधिकारी बैठकमा आमन्त्रित सदस्यका रुपमा उपस्थित हुनेछन् । उनलाई तत्कालका लागि उत्पादन विभाग दिइएको छ । माओवादीमा अहिले ३५ वटा विभाग छन् ।

तर पुनलाई बन्ने प्रक्रियामै रहेको उत्पादन विभाग दिने भनिएको छ । उत्पादन विभाग बन्ने प्रक्रियामा रहेको माओवादीका एक पदाधिकारी बताउँछन् । पुनले पनि उत्पादन विभाग हेर्न इच्छा देखाएपछि पार्टीले यस्तो निर्णय गरेको सचिव पौडेलले बताए ।

९ वर्षपछि राजनीतिमा

माओवादी शान्ति प्रक्रिया आएपछि अध्यक्ष दाहालपछिका चर्चित व्यक्ति थिए नन्दकिशोर (बहादुर) पुन पासाङ । पुन माओवादी लडाकुका कमान्डर थिए । १० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियासम्म जनसेनालाई नेतृत्व गरेका उनी बाहिर पनि चर्चित थिए । उनले सातवटै लडाकु शिविरको कमान्ड गरेका थिए ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा उनी नेपाली कांग्रेसका गगन थापासँग पराजित भए । त्यसपछि २०७२ कात्तिक १३ गते उनलाई पार्टीले उपराष्ट्रपति बनाएको थियो । त्यसपछि उनी राष्ट्रपति विद्या भण्डारीसँगै दोस्रो कार्यकालका लागि पनि उपराष्ट्रपति बने ।

पार्टी राजनीति छाडेको ९ वर्षपछि उनी माओवादीमा जोडिएका हुन् । उनी उपराष्ट्रपति पदबाट बिदा भएको २२ महिना पूरा भएको छ ।

राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते रामसुर र मनसरा पुनका माहिला छोराका रुपमा उनको जन्म भएको हो । पुन अहिले ६० वर्ष लागेका छन् । उनका श्रीमती र दुई छोरा छन् । एक छोरा दीपेश पुन विद्यार्थी राजनीतिबाट भर्खरै बिदा भएका छन् । दीपेश सहकारी ठगी र सुन तस्करीसहितका विभिन्न प्रकरणमा मुछिँदै आएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : ४६ बजे

रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मध्य

किन नुहाउने ?

काठमाडौं- नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले

भारतमा एक वर्षमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’

काठमाडौं– पछिल्लो १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरको आइफोन

स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने

काठमाडौं- प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ भइरहेका छन् ।

उब्रेको दालबाट बनाउनुहोस् परौठा; खाजालाई उत्कृष्ट, मुखलाई स्वादिष्ट

काठमाडौं– खाना खाइसकेपछि धेरै उब्रिने खानेकुरा हो दाल । दाल