गभर्नर नियुक्तिमा दुईतिहाइ सरकारको नालायकी | Khabarhub Khabarhub

टिप्पणी

गभर्नर नियुक्तिमा दुईतिहाइ सरकारको नालायकी



काठमाडौं– एउटा सामाजिक मान्यता छ– ‘कुनै एउटा व्यक्ति त्यतिबेलासम्म सफल हो, जतिबेलासम्म अर्को सफल व्यक्तिले उसलाई जित्न सकिरहेको हुँदैन’ ।

नेपाली राज्यसत्ता सञ्चालन गर्नेमाथि लामो समयदेखि जनताले धारे हात लाउँदै आएको यथार्थ छर्लङ्गै छ । जुन कुरा अहिले सामाजिक सञ्जालमा नेताहरूमाथि देखिएको आक्रोशले पनि पुष्टि गर्छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा चुनावी घोषणापत्रमा लेख्ने र ‘आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचारीको मुख पनि नहेर्ने’ भनाइ स्थापित गर्ने व्यक्ति केपी शर्मा ओलीले यतिबेला सरकारको नेतृत्व गरिरहेका छन् । तर, बिडम्बना देशको बैङ्किङ क्षेत्रजस्तो संवेदनशील र महत्वपूर्ण नियामक निकाय नेपाल राष्ट्र बैङ्कमा भने तीनै प्रधानमन्त्रीले दुई महिनादेखि गभर्नर नियुक्त गर्न सकिरहेका छैनन् ।

के ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई अङ्गीकार गर्छ ? यदि गर्छ भने उसलाई राजनीतिक पूर्वाग्रह नबोकेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने मेरिटको आधारमा अब्बल गभर्नर चाहिन्छ ।

दोस्रो सवाल, यदि प्रधानमन्त्री ओलीले भनेकै कुरा उनले भ्रष्टाचार गर्दैनन् र भ्रष्टाचारीको मुख पनि हेर्दैनन् भनेर मान्ने हो भने उनले कानुनअनुसार बन्ने सिफारिस समितिलाई मेरिटको आधारमा प्रतिस्पर्धात्मक ढङ्गले योग्य गभर्नर छान्न वातावरण बनाएर काम गर्न निर्देशन दिन्छन् वा सहजीकरण गर्छन् ?

तर, के आममान्छेको पङ्तिमा उभिएर हेर्दा प्रधानमन्त्री ओलीले त्यसो गरिरहेका छन् त ?

पहिलो गैरजिम्मेवार कदम : ऐनले दिएको समय गुजारियो

पछिल्लो एक महिनादेखि नेपाल राष्ट्र बैङ्क गभर्नरविहीन छ । अहिले कामु गभर्नर नीलम ढुंगानाको नेतृत्वमा छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा डेढ महिना अगाडि नै अर्थात् बहालवाला गभर्नरको कार्यकाल सकिन एक महिना अगाडि नै गभर्नर नियुक्ति गर्ने व्यवस्था छ । जसलाई प्रयोग नगरेर सरकारले समय खेर फाल्यो ।

समय खेर फाल्ने पहिलो असफल व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । किनकि ऐनअनुसार बहालवाला गभर्नरको कार्यकाल सकिनुअघि नियुक्त गर्न उनले दुई महिनाअगाडि नै मन्त्रिपरिषद्को बैठकबाट निर्णय गर्न सक्थे । तर, उनी उक्त विषयमा जिम्मेवार देखिएनन् । जुन समिति बनाउने निर्णय उनले निकै ढिलो चैत ११ गतेमात्रै गरे ।

दुई नेताको सहमतिमा गभर्नर, सिफारिस समिति पङ्गु

नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्तिसम्बन्धी स्पष्ट व्यवस्था छ । गभर्नर सरकारले नियुक्ति गर्ने भएपनि सरकारले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार बनाएको समितिले सिफारिस गरेको व्यक्तिमध्ये एकजनालाई नियुक्त गर्नुपर्ने हुन्छ ।

सरकारले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन १३ दिनअघि मात्रै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल रहेको गभर्नर सिफारिस समिति बनायो । तर, अहिलेसम्म समितिको एउटा पनि बैठक बस्न सकेको छैन ।

गभर्नर नियुक्तिका लागि सिफारिस हुने पात्र पहिला प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट स्वीकृत अनिवार्य स्थिति बनाइयो । तर, उक्त तहबाट थप कानुनी जटिलता र नियुक्तिमा सहज हुने गरी सहमति बन्न सकेन । जसकारण सरकारले नै बनाएको गभर्नर सिफारिस समिति पङ्गु बन्न पुग्यो ।


समितिलाई पङ्गु बनाएर आफूलाई गलत ढङ्गले प्रयोग गर्न खोजेको अनुभूतिपछि सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले वैशाख ९ गते नै राजीनामा दिइसकेका छन् । समिति पङ्गु भएको अवस्थामा भट्टराईले राजीनामा दिनुमा प्रधानमन्त्री ओलीले मुख्य कारण हुन् । उनले बेलैमा सहमतिका लागि सहजीकरण गर्न नसक्दा अहिलेको अवस्था आएको हो ।

मापदण्ड संशोधनमा दाँतमा ढुङ्गा

संसदले बनाउनेबाहेक धेरै कानुन सरकारले आफैँले बनाउने र त्यसलाई कार्यान्वयन गर्ने अभ्यास पनि गर्ने गर्छ । कतिपय अवस्थामा अध्यादेश ल्याउने, नियमावली बनाउने वा संशोधन गर्ने, कार्यविधि तथा मापदण्ड तयार वा संशोधन गर्ने काम सरकारको अधिकार क्षेत्रको विषय हो । तर, अर्थमन्त्री पौडेलले फागुनको २७ गते नै ‘अर्थमन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ को दोस्रो संशोधन गरे । जसमा उमेरसम्बन्धी व्यवस्था हटाइएको थियो ।

अर्थले बनाएको मापदण्ड गभर्नरमा मात्रै लागू हुने नभएर मन्त्रालयअन्तर्गतका सम्पूर्ण नियुक्तिमा लागू हुन्छ । तर, सरकारले गभर्नर नियुक्तिलाई सरल ढङ्गले अगाडि बढाउन नसक्दा यो विषय गिजोलिएको छ । सरकार अनिर्णयको बन्दी बनेपछि मापदण्डमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा चैत ३० गते रिट नै पर्‍यो । जुन रिट अहिले अदालतमा विचाराधीन छ । यसका साथै मापदण्ड संशोधनसँग जोडेर चर्चामा ल्याइएका पात्र पनि अहिले गभर्नरको दौडबाट ‘रिङआउट’ भएका छन् ।

समितिमा विवादित अभ्यास

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भर्खरै गभर्नरबाट बाहिरिएका महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ ले बहालवाला गभर्नर वा गभर्नर बाहिरिने बित्तिकै त्यही व्यक्ति गभर्नर नियुक्ति सिफारिस समितिमा रहने कल्पना गरेको देखिँदैन ।

किनकि ऐनमा बहालवाला गभर्नरको पदावधि सकिन एक महिनाअघि नै सरकारले गभर्नर नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ । खबरहबसँग कुराकानी गर्दै एकजना पूर्वअर्थसचिवले भने, ‘सरकारले अहिले गर्नै नहुने निर्णय गरेको छ ।’

सर्वोच्चको आदेश : भट्टलाई सहज तर विवाद कायमै

अर्थमन्त्रालयले पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड संशोधनको विषयलाई लिएर सर्वोच्चमा रिटपछि गुणाकर भट्टको विषयमा परेको पुरक निवेदन सर्वोच्चले खारेज गरिसकेको छ । जसले उनलाई गभर्नरको बाटो खोलिदिएको छ ।

बुधबार महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा मनोनित गरिसकेपछि पनि समितिको बैठक सोमबारसम्म बस्न सकेको छैन । बैठक बस्न नसक्नुको कारण सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेको आ–आफ्नै अडान भएको स्रोतले जनाएको छ । यसअघि नै बैठक बसेर टुंग्याउने तयारी थियो । तर दुई सत्ता साझेदारबीच कुरा नमिलेपछि झन् समस्या भएकव छ ।

आगामी गभर्नरका लागि कांग्रेसले नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टलाई अगाडि सारेको छ । उता एमालेको अडान हाल राष्ट्र बैङ्ककी कायम मुकायम तथा वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानालाई बनाउनुपर्नेमा छ । दुवैको अडानका कारण सोमबार बिहान बस्ने भनिएको सिफारिस समितिको बैठक भाँडिएको स्रोतले खबरहबलाई बताएको छ ।

नेपाल राष्ट्र बैङ्कको स्वायत्ततामै ठाडो हस्तक्षेप गर्ने गरी गभर्नर नियुक्तिमा सत्ता गठबन्धनले सक्रिय भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । तर अझै पनि यस विषयलाई टुंगोमा पुर्‍याउने दिशामा कांग्रेस र एमाले देखिएका छैनन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : १० बजे

किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?

काठमाडौं- जेन-जी अभियन्ता सुदन गुरुङ निर्वाचन आयोग पुगेका छन्। बिहीबार

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

त्रिवेणी– धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट

चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/ ०८३ मा

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई

‘असाधारण अवस्थामा जिम्मेवारी पाएँ, प्रहरीको मनोबल उठाउन काम गर्छु’

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार