मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित « Khabarhub

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुख्खा छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।

खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

सिरहाको लहान नगरपालिका– २३ का किसान रामकुमार यादव भन्छन्– ‘समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी पर्‍याे, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।’

उनका अनुसार, यसपटक असार सुरु भएदेखि नै वर्षा कमजोर रहेकाले खेत सुकेको छ । बोरिङ गर्ने सुविधा नभएकाले आकाशे पानीकै भर पर्नुपरेको छ । ‘अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डिएपी मल पाइँदैन । मल नहुँदा बीउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ,’ उनले दुःखेसो गरे ।

आकाशे पानीकै भरमा किसान
तराईका धेरैजसो जिल्लाजस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशे पानीमा भर पर्न विवश छन् ।

कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ ।

डिएपी मलको अभाव
पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने पाँच हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र आठ सय २५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।

डिएपी मलको अन्तर्राष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ भएको प्रबन्धक पौडेलको भनाइ छ । युरिया र पोटास भने कार्यालयमा पर्याप्त रहेको उनले जानकारी दिए ।

समयमै रोपाइँ सम्पन्न भए आगामी बाली गहुँ, तोरी, सागसब्जीलगायतमा पनि राम्रो प्रभाव पर्ने नेपाल राष्ट्रिय कृषक समूह सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारको भनाइ छ ।

सरकारले समयमै मल आपूर्ति र दीर्घकालीन सिँचाइ समाधानमा ध्यान नदिए किसानको वर्षभरको मेहनत खेर जाने खतरा बढ्दै गएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : २१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन