काठमाडौं– जेन‑जी आन्दोलन र त्यसअघि दुर्गा प्रसाईं नेतृत्वको विरोध प्रदर्शनमा राष्ट्रिय झण्डाको व्यापक दुरुपयोग गरियो। राष्ट्रिय झण्डा ओढेर राष्ट्रिय सम्पतिमा आगजनी गर्नेदेखि व्यक्ति हत्यासम्मका हिंस्रक अपराधसम्म भए ।
तर देशको सान, मान र इज्जतको प्रतीक रहेको राष्ट्रिय झण्डाको दुरुपयोग गर्नेको विषयमा राजनीतिक दल, नागरिक समाज मौन छन् । धेरैका लागि झण्डा ओढेर अपराध गर्नु सेलिब्रेटी हुनु हो । त्यही भ्रमका कारण आन्दोलनमा राष्ट्रिय झण्डा बोकेर अपराधमा उत्रिनु फेसन जस्तै बन्यो ।
त्यसो त राष्ट्रिय झण्डाको प्रयोगमा राज्यले कार्यविधि नै बनाएको छ । राष्ट्रिय झण्डाको प्रयोग यति संवेदनशील छ कि बडादशैं र नयाँ वर्षमा मात्र नयाँ झण्डा फेर्न मिल्छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समाजशास्त्री डा. दिपेश घिमिरेका अनुसार पछिल्लो समय आन्दोलनका हरेक रूपमा राष्ट्रिय झण्डाको अत्यधिक प्रयोग हुँदै आएको छ, जुन उचित होइन।
उनले भने, ‘आजकल जुनसुकै आन्दोलन होस्- राष्ट्रिय स्वार्थसँग सम्बन्धित वा व्यक्तिगत, सबै झण्डा फर्फराइरहेको छन्। तर यसले झण्डा प्रयोगका मापदण्डहरूको उल्लङ्घन गर्छ।’
डा. घिमिरेका अनुसार राष्ट्रिय झण्डा प्रयोग गर्ने तरिका र स्थानबारे स्पष्ट मापदण्ड भए पनि त्यसको पालनामा कमी देखिएको छ।
‘विदेशी देशहरूमा, जस्तै अमेरिकामा, राष्ट्रिय झण्डा जुत्ता, मोजा वा अनुहारमा समेत देखिन्छ। तर नेपालमा यस्तो प्रयोग उपयुक्त हुँदैन, किनभने हाम्रो संस्कार र मूल्य प्रणाली पश्चिमी समाजभन्दा फरक छ,’ उनले बताए।
उनका अनुसार, नेपाली समाजले झण्डालाई केवल प्रतीक होइन, आदर, माया र श्रद्धाको प्रतीकका रूपमा हेर्छ। ‘हामी हाम्रो राष्ट्रिय झण्डालाई त्यत्तिकै सम्मान गर्छौं जत्तिकै आमालाई गर्छौं- पूजा गर्छौं, आदर गर्छौं, माया गर्छौं,’ उनले उदाहरण दिए।
डा। घिमिरेका भनाइमा, हालका आन्दोलनहरूमा झण्डाको दुरुपयोग हुनुको मुख्य कारण शिक्षा र चेतनाको अभाव हो।
उनले भने, ‘झण्डा प्रयोगबारे पर्याप्त जानकारी नहुँदा र यसको प्रतीकात्मक मूल्य नबुझिँदा यस्तो अवस्था आएको हो। अब यसको सही प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक छ।’
राष्ट्रिय झण्डा हाम्रो पहिचान, गौरव र एकताको प्रतीक हो। त्यसको प्रयोगमा सतर्कता, सम्मान र मापदण्डको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो।
घिमिरेका अहिले नेपालमा राष्ट्रिय झण्डा सहजै खरिद गर्न सकिने अवस्थालाई सकारात्मक रूपमा लिन्छन्। उनका अनुसार झण्डाको पहुँच बढेसंगै नागरिकमा देशप्रेम जागृत गर्न सहयोगी बनेको छ।
‘राष्ट्रिय झन्डा अहिले जताततै किन्न पाइन्छ – बजारमा होस् वा त्रिभुवन विमानस्थल वरिपरि। विदेश अध्ययन वा रोजगारीका लागि निस्कँदा युवायुवतीहरूले आफ्नो देश नबिर्सून् भनेर झण्डा ओढ्नु स्वाभाविक र गर्वको कुरा हो।’
उनका अनुसार यस्तो अभ्यासले युवामा देशप्रतिको आत्मीयता र पहिचानको भावना बलियो बनाउँछ।
तर उनले थपे, ‘झण्डाको सम्मान र प्रयोगका मापदण्ड भने सधैं पालन हुनुपर्छ, ताकि राष्ट्रिय प्रतीकको गरिमा कायम रहोस्।’
झण्डाको सहज उपलब्धता र यसको देशभक्तिपूर्ण प्रयोग सकारात्मक संकेत हो, तर त्यससँगै सचेत प्रयोग र सम्मानपूर्ण व्यवहार अनिवार्य छ।
राष्ट्रिय झण्डा र गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ ले स्पष्ट रूपमा झण्डालाई कुनै पनि राजनीतिक, व्यावसायिक वा व्यक्तिगत प्रचारमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।
तथापि, सडक प्रदर्शन, र्याली, विरोधसभा र अन्य सार्वजनिक कार्यक्रमका क्रममा आन्दोलनकारीहरूले झण्डालाई कपडा, ब्यानर, प्लेकार्डमा प्रयोग गर्ने मात्र हैन, खुलेआम मिल्काउने र जलाउने दृश्य देखिएका छन्। यसको दुरुपयोगले मात्र प्रतीकात्मक संदेशमा असर पर्ने होइन, आम नागरिकमा पनि भ्रम र असम्मानको भावना बढाउँछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झण्डा प्रयोगका लागि बनाएको कार्यविधिमा तोकिएको कानुनी प्रावधान उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्न सकिने उल्लेख गरेको छ।
राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी कार्यविधिमा भनिएको छ–
– राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन ।
– राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न।
– राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न ।
– व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न ।
– व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन।
– शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्रीरबाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न ।
– फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओह्रालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न।
राष्ट्रिय झण्डाको सही प्रयोग र सम्मानले मात्र देशको गौरव, पहिचान र एकतालाई बलियो बनाउन सक्छ, र आगामी पुस्तालाई पनि यस प्रतीकको महत्त्व बुझ्ने अवसर दिन्छ।













प्रतिक्रिया