उद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण « Khabarhub

उद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण



राज्यले आफू पुग्ने गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्न नसकेको र सही दिशामा नहिँडेको देखेपछि युवामा थप निराशा पैदा हुन्छ । यसैकारण पनि धेरै युवा देश छाडेर बाहिरिएका छन् । त्यसैले युवाको सोचलाई राज्यले चिन्ने हो भने नवउद्यम फस्टाउन समय लाग्दैन ।

नेपालको अर्थतन्त्र अहिले जटिल परिस्थितिमा छ । अर्कोतिर नेपाल विशिष्ट विशेषतामा पनि छ किनकि यहाँको औसात उमेर ३० वर्षभन्दा तल छ । यो हाम्रो अर्थतन्त्रको विकासका लागि ठूलो अवसर र सकारात्मक विषय पनि हो ।

औसत उमेरको अवस्था सकारात्मक हुँदाहुँदै पनि हाम्रा लागि ब्रेन ड्रेन ठूलो समस्याका रूपमा देखिएको छ । अवसर अभाव वा आम्दानीका कारण क्षमतावान् युवा पुस्ता बाहिर गइरहेको छ । अल्पकालका लागि बाहिर गएका युवा पुस्ताले विप्रेषण पठाइरहेका छन र त्यही विप्रेषणले मुलुकको अर्थतन्त्र चलायमान भइरहेको छ ।

तर, दीर्घकालीन दृष्टिकोणबाट हेर्दा हाम्रो प्राथमिकता विप्रेषण हुन सक्दैन । पूरै देशलाई विप्रेषणमा निर्भर बनाउन मिल्दैन । जनशक्ति निर्यात गरेर देश चिनाउने कुरा सही रणनीति हुन सक्दैन । त्यसैले देशभित्रै युवाका लागि अवसर सिर्जना गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता छ ।

पछिल्लो १५-२० वर्षयता नेपालमा राजनीतिक अस्थिरता पैदा भएको छ । अर्थ-राजनीति सञ्चालन गर्ने विषयमा स्पष्ट दृष्टिकोण नै आउन सकेको छैन । नीं व्यवसाय सुरुआत गर्न खोज्ने, व्यवसाय क्षेत्रमा नयाँ लगानी गर्न खोज्ने युवाले देश कता गइरहेको छ भनेर सोच्छ ।

राज्यले डिजिटल पूर्वाधार, पर्यटन वा कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको छ भनेर उसले विश्लेषण गर्ने गर्छ । तर, हामीकहाँ हरेक २ वर्षमा राज्यको प्राथमिकतामा परिवर्तन आउँछ । देश कुनै एउटा दिशामा नहिँडेको देखेपछि युवामा थप निराशा पैदा हुन्छ । यसले गर्दा पनि धेरै युवा देश छाडेर विदेशिएका छन् ।

नेपाल चीन र भारतजस्ता दुई ठूला देशको बीचमा छ । यी दुवै छिमेकी आर्थिक रूपमा हामीभन्दा निकै बलिया छन् । अर्थतन्त्रमा सवल छिमेकी हुनु हाम्रा लागि अवसर पनि हो भन्ने युवा पुस्ताले बुझेको छ । यो लगानीका लागि उत्तम समय हो भनेर पनि हेर्नुपर्दछ ।

यहाँ विगतदेखि उद्यम गरिरहेका परिवारको नयाँ पुस्ताका लागि केही संघर्ष गर्न सहज होला । तर, सर्वसाधारण नयाँ पुस्ताले कुनै नयाँ व्यवसाय, उद्यम या कुनै कामको सुरुआत गर्न निकै गाह्रो छ । तर, जहाँ समस्या छ, त्यहीँ अवसर हुन्छ भन्ने मान्यता पनि राख्नुपर्दछ । यसरी हेर्दा यहाँ अवसर पनि छ ।

जहाँ विकास भइसकेको छ त्यहाँ नयाँ अवसरका लागि समस्या छ, नयाँ उद्यमी विकासका लागि सहज छैन । त्यसरी सोच्ने हो भने नेपालमा सम्भावना धेरै छन् भन्न सकिन्छ ।

नेपाल चीन र भारतजस्ता दुई ठूला देशको बीचमा छ । यी दुवै छिमेकी आर्थिक रूपमा हामीभन्दा निकै बलिया छन् । अर्थतन्त्रमा सवल छिमेकी हुनु हाम्रा लागि अवसर पनि हो भन्ने युवा पुस्ताले बुझेको छ । यो लगानीका लागि उत्तम समय हो भनेर पनि हेर्नुपर्दछ ।

आजभन्दा ३० वर्ष अगाडि नेपालको बजार निकै सानो थियो। भूमण्डलीकृत विश्व भए पनि नेपालको विश्वबजारमा पहुँच कम थियो । तर, अहिलेको समय हामीले नेपालबाटै सूचना प्रविधि, कृत्रिम बौद्धिकतालगायत क्षेत्रमा ठूलो मात्रामा सेवा निर्यात गर्न सकिन्छ ।

अहिले नेपालको एउटा गाउँमा बसेर पाइने सूचना प्रविधि पहुँच र अमेरिकाको सिलिकन भ्यालीमा बसेर पाइने पहुँचमा समानता छ भन्दा फरक पर्दैन । यसले गर्दा हामीले नेपालमै बसेर पनि सूचना प्रविधिका धेरै सेवा निर्यात गर्न सक्छौँ । यस्तो अवसर आजभन्दा पहिला कहिल्यै थिएन । नेपाली कम्पनी अमेरिकाको नास्डाकमा समेत सूचीकरण भइसकेको अवस्था छ ।

अहिले उपभोक्ता तथा ग्राहकको वस्तु तथा सेवा खरिद गर्ने तरिकामा ठूलो परिवर्तन भएको छ । उपभोक्ताले घरमै बसेर ऋणका लागि आवेदन गर्नदेखि स्वीकृति लिनेसम्मको काम प्रविधिको माध्यमबाटै गर्नसक्ने अभ्यास गोल्छा ग्रुपले पनि फिनटेक कम्पनीको माध्यमबाट गर्दै आएको छ । आगामी दिनमा अर्थतन्त्रलाई सञ्चालन गर्ने सूचना प्रविधि नै हो भनेर यकिन साथ भन्न सकिन्छ ।

सूचना प्रविधि विकासको क्षेत्रमा राज्य केही लचक हुँदै गएको छ । तर, अझै पनि हामी उद्देश्यबाट धेरै टाढा छौं । देश यति धेरै युवामय भएको अवस्थामा यदि हामीले राजनीतिक टेबलमा युवालाई राख्दैनौँ भने त्यतिबेला बन्ने नीति आउटडेटेड हुन्छ । अनुभव महत्वपूर्ण हुन्छ तर, त्यो अनुभव वास्तविकताभन्दा पर हुन्छ भने त्यसको केही अर्थ हुँदैन । त्यसैले आगामी दिनमा देशको केन्द्रीय राजनीतिक छलफलमा युवालाई सहभागी गराउन आवश्यक छ । त्यसबाट उनीहरूको सिप र दृष्टिकोण ल्याउन सकियोस् ।

राज्यमा केही न केही परिवर्तन भइरहेको छ । तर, असान्दर्भिक नीति तथा कार्यक्रम आइरहन्छन् । जस्तै, अहिले पनि धितोमा आधारित मात्रै कर्जा प्रवाह गर्ने नीति कायमै छ । यस्तो अवस्थामा एउटा नवयुवाले कसरी उद्यमको सुरुआत गर्न सक्छ ? अन्य देशमा व्यावसायिक योजनालाई आधार मानेर कर्जा प्रवाह गर्ने नीति छ । त्यसले नै उद्यमीको विकासका लागि महत्वपूर्ण काम गरिरहेको विदेशमा ।

नेपालमा क्षमतावान् युवाको कमी छैन । तर, राज्यले युवालाई सही मेन्टरसिप दिन सकेको छैन । राज्यले या आइडियामा सहजीकरण गर्न सक्ने हो भने उनीहरुमार्फत् ठूलो उद्यमशील वातावरण तयार गर्न सकिन्छ । नेपालको शिक्षा प्रणाली किताबमा आधारित भएकाले युवा पुस्तालाई मेन्टरसिपको ठूलो अभाव छ ।

कुनै पनि देशको मेरुदण्ड भनेको उद्यमी हो । जबसम्म उद्यमीको विकास हुन सक्दैन तबसम्म सो देशको विकास हुन सक्दैन । उद्यमशील उत्पादनका लागि विद्यालय तथा विश्वविद्यालय शिक्षामै त्यस विषयलाई महत्व दिएर समावेश गरिन आवश्यक छ ।

अहिले उद्यम गर्दा संख्यात्मक विषय निकै महत्त्वपूर्ण हुन्छ । अहिलेको सन्दर्भमा विश्वमा सजिलै पहुँच प्राप्त गर्न सक्ने भनेको सूचना प्रविधि नै हो । त्यसैले अबको सम्भावनालाई राज्यले डिजिटल ल्यान्डस्केपबाट हेर्न जरूरी छ ।

पर्यटन क्षेत्र नेपालको सन्दर्भमा निकै महत्वपूर्ण छ । तर, सम्भाव्यताको आधारमा नेपालमा पर्यटक आगमन संख्या भने अति न्यून छ । थाइल्यान्ड, भियतनाम लगायत मुलुकको तुलनामा नेपालमा भएको पर्यटक आगमन केही पनि होइन । संस्कृति पर्यटन, साहसिक पर्यटनलगायतका धेरै पर्यटनको सम्भावना नेपालमै छ । तर, हामीले अहिलेसम्म संस्कृति पर्यटनभन्दा बाहिर धेरै काम गर्न सकेको देखिँदैन । यो क्षेत्रमा पनि नयाँ युवा पुस्तालाई लगानीका लागि आकर्षित तथा प्रवर्द्ध गर्न सकिन्छ ।

मुलुकभित्र लगानी वातावरण तयार गर्न र सद्यमी बन्ने वातावरण निर्माण गर्न सही नीति र राजनीतिक स्थिरता महत्वपूर्ण विषय हो । स्मार्ट नीति र स्थायित्व हुँदा निजी क्षेत्रले सहज सम्भावना देख्न सक्छ । तर, अहिले राज्यको दृष्टिकोण हरेक २ वर्षमा परिवर्तन हुँदा निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न गाह्रो भइरहेको अवस्था छ ।

त्यसैले राज्यले पहिला स्पष्ट रोडम्याप तयार पारोस्, हामी एक दशकमा कहाँ पुग्ने हो ? त्यसका लागि के कस्ता नीति र प्राथमिकता तय गर्ने हो ? त्यसका लागि निजी क्षेत्र आफूलाई त्यसअनुकूल बनाउन तयार हुन्छ । सोही आधारमै निजी क्षेत्रले नयाँ उद्यमी विकास गर्न सक्छ ।

अहिले भर्खरै जेनजी पुस्ताले गरेको आन्दोलनमा समान अवसर पाउन सकिएन भन्ने आक्रोश देखिएको थियो । त्यो आन्दोलनले पनि शिक्षा र भौतिक पूर्वाधार क्षेत्रमा राज्यले गम्भीरतापूर्वक लगानी गर्न आवश्यक छ भन्ने देखाएको छ । एउटा देश रातारात परिवर्तन त हुँदैन, तर पनि सकारात्मक इच्छाशक्तिसहित सुरुआत गर्‍यौँ असम्भव असम्भव छैन ।

गोल्छा युवा व्यवसायी हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ११ : ३३ बजे

मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

जनकपुरधाम– मधेश प्रदेशकी महिला तर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं– एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली– भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

मुम्बई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

बेलबारी–  स्थानीयस्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना