काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जीको नाममा राजनीतिक दलमाथि दिनदिनै धम्की दिने शैली सही नभएको बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसको प्रतिनिधि बनेर गएका थापाले यसबारे आपत्ति जनाएका हुन्।
उनले जेन-जीका विभिन्न समूहले सरकारसँग किचकिच गर्ने र राजनीतिक दल, तीनका नेतालाई धम्क्याउने कामप्रति सरकारको ध्यानाकर्षण गराए।
‘दिनदिनै विभिन्न समूह बनेर सरकारसँग किचकिच गर्ने, राजनीतिक दल र तीनका नेतालाई धम्की दिने काम भइरहेको छ,’ बैठकमा थापाले भने, ‘हामी सरकार र यसका अंगलाई चिन्छौँ। तर‚ नेता नेतृत्व नभएको, सरकारलाई, दलहरूलाई चुनौती दिने, सरकारको कुरा नसुन्ने समूहलाई चिन्दैनौँ। उनीहरूले दिइरहने धम्की सधैँ सह्य हुँदैन।’
थापाले वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई कांग्रेसले असंवैधानिक ठहर गरेको पनि सुनाए। तर, उनले कांग्रेस संसद् पुनःस्थापनाको पक्षमा नभएको र चुनावमा भाग लिन तयार रहेको पनि बताए।













प्रतिक्रिया