स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप | Khabarhub Khabarhub

स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ । स्थानीयले अध्यक्ष भरत रोकायामाथि भ्रष्टाचार आरोपको छानबिन गर्न माग राखेका छन् । अध्यक्ष रोकायाले विधि प्रक्रिया विपरीत मनोमानी शैलीमा पालिका चलाएको र कमिसनको लोभमा डुबेको आरोप उनीहरूको छ ।

अध्यक्ष रोकायामाथि २ वर्षयता आर्थिक अनियमितता र कमिसनको आरोप लागेको छ । कर्मचारी, हाकिम र अध्यक्ष स्वयं मिलेर नै कमिसन लिने गरेको, ठेक्का मिलाउने गरेको, आफन्त र पार्टी निकटलाई योजना मिलाएर आर्थिक हिनामिनाको आरोप अध्यक्षमाथि लागेको छ ।

प्रमाणसहित बुझाउँदा पनि अध्यक्षले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेर प्रमाण सार्वजनिक गर्नु परेको स्थानीय पत्रकार अनिल शाहीले बताए ।

शाहीले कमिसनका नाममा अति गरेपछि प्रमाणसहित सार्वजनिक गर्न लागिएको बताए । उनले पालिकाले डिपीआरको नाममा हरेक वर्ष ४० लाख रुपियाँ खर्च गर्ने गरेको प्रमाण जुटाएका छन् । डीपीआरका लागि पनि आफन्त र कमिसन दिनेलाई मात्रै रोज्ने गरेको दाबी उनीहरूको छ । समान खरिद विना प्रतिस्पर्धा आफन्तलाई दिएको अध्यक्ष, कार्यकारी र अन्य शाखा कर्मचारीबीच मिलेमतो देखिएको दाबी बन्दकर्ताको छ ।

स्थानीयका अनुसार अध्यक्ष रोकायाको भाइबुहारीको नाममा समिति गठन गरी ढुकुरी खोला जलविद्युत आयोजनाका लागि पोल, तार खरिद तथा लाइन विस्तारको नाममा नक्कली बिल पेस गरेर दुई आर्थिक वर्षमा १० लाख र ८ लाख रकम भुक्तानी लिएको दाबी छ ।

पालिकामा निर्माण गरिएको क्याम्पस भवनको भुक्तानीको समयमा २ लाख कमिसन मागेको, जोरु गोठीगाउँ सडकको ठेका मिलेमतोमा कमिसन खाएर आफ्नो पार्टी निकट कम्पनीलाई दिन लगाएको, पालिका कार्यालय सुईजीउलादेखि मिगुसम्मको सडकमा २७ लाखको काम दिएर उपभोक्तालाई २० लाख दिएर ७ लाख कमिसन लिएको दाबी सहीतका कागजपत्र बन्दकर्ताले तयार पारेका छन् ।

पालिका कार्यालयदेखि मुक्तीकोटसम्मको सडकमा पालिकाकै कर्मचारीका आफन्तको नाममा रहेको खापर मष्टो निर्माण सेवा कम्पनी मार्फत बिल मिलाएर १० लाख रकम भुक्तानी लिएको, आर्थिक वर्ष २०८०/८१ मा सुईजिउला वाइदेखि मिगुसम्म सडकमा नेपाली काँग्रेस पालिका सभापति महेश कटेलकी श्रीमतीको नाममा रहेको विन्दासैनी निर्माण सेवाको कम्पनीले काम नै नगरी १० लाख भुक्तानी गरेको आरोप समेत उनीहरूले लगाएका छन् ।

पछिल्लो समय मुक्तीकोठ खाद्य डिपो निर्माणको विषयलाई लिएर थप विवाद बढेको छ । ५ करोड ७० लाखको ठेका आह्वान लगत्तै पालिका अध्यक्षले आफन्त वा निकटकालाई दिन खेल गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको स्थानीय अगुवा समेत रहेका एमाले नेता मेघराज शाहीले बताएका छन् ।

मंसिर १२ गते ठेक्का खोलेर फागुनसम्म रोकेर राखेको र अन्तिममा आएर आफू निकटले नपाउने भएपछि रद्द गरिएको आरोप उनीहरूको छ । तर, अध्यक्ष भरत रोकायाले भने पालिका इन्जिनियर योगेश शाहीले नै आफन्तलाई ठेका दिन बल गरेको उल्टो आरोप लगाएका छन् । अध्यक्षको आरोप अनुसार ती कर्मचारीका आफन्तको आवेदन भने नपरेको देखिन्छ ।

डिपो निर्माणका लागि तीन वटा आवेदन परेको देखिन्छ । आशिष बडालाको नाममा रहेको चाँदनी सनराईज जेबी धनगढी, दिपविक्रम विष्टको नाममा रहेको विष्ट ईन कप्रोरेशन काठमाडौं र जनम धामीको नाममा रहेको जसलिङ्ग सिआई प्रतीक जेबी बाजुराले आवेदन दिएका थिए ।

तीन वटा आवेदन मध्ये इन्जिनियरको आफन्त कोही देखिँदैन । जनम धामी भने अध्यक्ष रोकाया निकट पार्टीका नेता हुन् । अध्यक्षको रोकायाको चाहना नै धामीकै फर्मले ठेका पावस् भन्ने रहेको र कर्मचारीलाई समेत दबाब दिएको आरोप छ । त्यही दबाब पछि इन्जिनियर योगेश शाहीका बुबाले अध्यक्ष रोकायालाई अश्लील र अमर्यादित असभ्य गाली समेत दिएका छन् ।

अध्यक्ष रोकायाले आफ्नै कार्यकक्षमा बसेर बाजुराकै छिमेकी पालिका हिमाली र जगन्नाथमा पैसा बाँडेर ठेक्का मिलाउने गरेको रहस्य समेत सुनाएको प्रसंग भाइरल भएको छ । एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य रंगमान शाहीसहित बसेको बैठकमा अध्यक्ष रोकायाले हिमाली र जगन्नाथमा मिलाए, हामीले पनि मिलेर काम गर्न भनेको हो, भन्ने भिडियो नै सार्वजनिक भएको छ ।

स्थानीयले अध्यक्ष रोकाया पढेलेखेको भए पनि आर्थिक लाभका लागि मात्रै काम गर्ने मानसिकता भएको व्यक्तिका रूपमा आरोप लगाउने गरेका छन् । आफूले बनाएको सहकारीका पैसा हिनामिना गरी बचतकर्तालाई अहिलेसम्म बेहाल पारेको आरोप समेत रोकाया माथि लाग्ने गरेको छ । रोकाया पालिका अध्यक्ष निर्वाचित हुनु पूर्व सहकारी सञ्चालक थिए ।

मनोमानी र एकलौटी गर्ने गरेको र आर्थिक हिनामिना गरेको आरोप स्थानीयको छ । उनीहरूले ७ बुँदे लिखित पत्रसहित तालाबन्दी गरेका हुन् । तर लामो समय ताला नखुल्दा सेवाग्राही समस्यामा परेका छन्।

मनोमानी र एकलौटी गर्ने गरेको र आर्थिक हिनामिना गरेको आरोप स्थानीयको छ । उनीहरूले ७ बुँदे लिखित पत्रसहित तालाबन्दी गरेका छन् । रोकाया नेपाली  कांग्रेसबाट उम्मेदवार बनेर जितेका थिए । उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार नैनादेवी जोशीले जितेकी थिइन् । पालिका भित्रका ५ वटा वडा मध्ये ३ वडा उनकै पक्षमा छन् । जोशीको मृत्युपछि उपनिर्वाचनबाट हाल नेकपा एमालेका उम्मेदवार सुलोचना भण्डारी बुढा उपाध्यक्ष बनेकी छन् । त्यो हुँदा पनि रोकाया कार्यपालिकामा बहुमतमै छन् ।

कार्यपालिका भित्रको बहुमतको दम्भ र भ्रष्ट मानसिकताले काम गरेको आक्रोश स्थानीयको छ । ठेक्का समेत भित्रै मिलाउने, सामान खरिदमा टेण्डर नै नगर्ने र डिपीआरमा लाखौँ रकम कुम्ल्याउने र पालिकाकै डोजरले बनाएको बाटोमा समेत आफू अनुकूल निर्माण कम्पनीलाई काम दिएर कमिसन लिने गरेको आरोप स्थानीयको छ ।

तालाबन्दीमा दुई दलको समर्थन

पालिकामा स्थानीयले गरेको तालाबन्दीमा दुई दलले समर्थन गरेका छन् । पालिकामा रहेका एमाले र नेकपा एकीकृत समाजवादीले लिखित विज्ञप्तिमार्फत तालाबन्दीको समर्थन गरेका हुन् ।

दुवै पार्टी छानबिन नभएसम्म बन्द जारी राख्ने शर्त राखेका छन् । पार्टीका तर्फबाट एमाले गाउँ कमिटी सचिव नवराज कट्टेल र समाजवादीका गाउँ कमिटी अध्यक्ष मञ्जल विकले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

नेपाली  कांग्रेसबाट उम्मेदवार बनेर जितेका रोकायालाई साना योजनामा समेत कमिसन माग्ने गरेको, कर्मचारीलाई दबाबमा राख्ने गरेको दुवै पार्टीले आरोप लगाएका छन् । एमालेबाछट जितेकी उपाध्यक्षलाई समेत कुनै परामर्श समेत नगरेको आरोप उनीहरूको छ ।

यता अध्यक्ष रोकायाले भने सबै आरोपको खण्डन गरेका छन् । आफू अनुकूल नभएपछि तालाबन्दी गरेको अध्यक्ष रोकायाको दाबी छ । ‘काम गर्नै पर्छ, भुक्तानी गर्ने काम अध्यक्षको होइन, हाकिम र लेखापालले गर्ने हुन् । यतिसम्म आरोप लगाउनुको कुनै अर्थ नै छैन’, अध्यक्ष रोकायाले भने । डोजरले काम गरेको विषय र अन्य फर्मलाई प्रक्रिया जनताको सहजताका लागि मिलाएर काम दिँदा, आफूले नपाएकै रिसमा प्रहार गरिएको अध्यक्षको भनाइछ ।

उनले आवश्यक छानबिन गर्न माग गरेका छन् । ‘बदनाम गराउनु राम्रो होइन, विधि प्रक्रिया र अधिकार प्राप्त निकायबाट छानबिन गराए भयो, कुनै स्थान र बस्ती विशेषका मान्छेले दिने धम्की, गाली र प्रहारको पनि छानबिन हुनु गर्नुपर्छ’, उनले भने । रोकायामाथि असभ्य र अमर्यादित गाली दिएको अडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तीन दिनदेखि कामकाज बन्द भए पनि अध्यक्ष पालिकाकै काम लिएर जिल्ला बाहिर छन् । पालिकामा अधिकार पाएको प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । सेवाग्राही मर्कामा छन् । कामकाज ठप्प हुँदा समेत पालिकामा लगाएको तालाबन्दी खोलिने सुरसार छैन ।

यो पनि

स्वामिकार्तिक खापर गाउँपालिकामा तालाबन्दी, अध्यक्षमाथि भ्रष्टाचारको आरोप

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ९ : ०५ बजे

शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ

किएभ– युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार

कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका

पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)

काठमाडौं– देशका पश्चिमी क्षेत्रका जिल्ला र संघीय राजधानी काठमाडौंलाई जोड्ने

‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नुपर्छ’

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले लेखा परीक्षणका सम्बन्धमा औँल्याइएको विषय तथा

बालेनलाई धक्का : गौशालाको धर्मशाला अब मारवाडी समितिकै जिम्मा

काठमाडौं- गौशलास्थित धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिकै हातमा गएको