विद्युतीकरणपछि चन्द्रनगरका किसान मकै खेतीतर्फ आकर्षित « Khabarhub

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकै खेतीतर्फ आकर्षित


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सर्लाही- चन्द्रनगर गाउँपालिकाका किसान  विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दै आएका थिए ।

यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–२ का पुनित महतोले बताए । तीस कट्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाएका उनी विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटिए । विद्युतीकरणपछि खेतीपाती गर्न सहज भएको महतोको भनाइ छ ।

‘यसअघि खेतमा पानीको उपाय नै थिएन’, उनले भने, ‘पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्ने गरेको थिए ।’ पम्पसेटबाट पानी तान्न खर्चिलो हुने उनको भनाइ छ ।

‘पहिला यही खेतमा एकपटक पानी तान्न रु तीन हजारदेखि रु चार हजारसम्म डिजेलको खर्च हुन्थ्यो’, महतोले भने, ‘अहिले त्यही लागतमा सिजनभरि (चारपटक) पानी तान्न पुग्छ ।’

स्थानीय तहले दुई वर्ष अघि खेत खेतमा (कृषि विद्युतीकरण) पोल गाडेर बिजुली पुर्‍याएको थियो । त्यसयता महतोलगायत यहाँका एक हजार २३५ बढी किसानले कृषि मिटर जडान गरिसकेका छन् । सिँचाइको व्यवस्था नहुँदा अकासे पानीको भरमा गहुँ, मसुरो, चना, उखुलगायत खेती लगाउने गरेका चन्द्रनगर–६ बबरगन्जका किसान सुवोध साहले बताए । यसरी गरेको खेतीमा लागत धेरै र उत्पादन थोरै हुँदा लागतसमेत नउठ्ने गरेको उनको अनुभव छ ।

‘यहाँका खेत प्राणबिनाका शरीरजस्तै बनिसकेका थिए’, साहले भने, ‘गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हराभरा बनेका छन् ।’ अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको  साहले बताए । उनले दुई वर्षदेखि आफ्नो र ठेक्का गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गरेका छन् ।

पानीको सुविधापछि तरकारीखेती फस्टाएको स्थानीय जितेन्द्र महतोले बताए । अहिले आफूसँग भएको दुई कट्ठा खेतमा लगाएको तरकारी बिक्रीबाट पाँच जनाको परिवार पालनपोषण गर्न सकेको उनको भनाइ छ । अहिले यस क्षेत्रमा ठुलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ । मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीलगायतको तरकारी प्रशस्त उत्पादन हुने गरेको महतोले बताए ।

विद्युत् महसुल गाउँपालिकाले तिर्ने

चन्द्रनगर गाउँपालिकाकाले किसानको खेत खेतमा विद्युतीकरण गर्ने, निःशुल्क कृषि मिटर वितरण गर्नेमात्र नभई किसानले सिँचाइ गर्दा उठेको विद्युत् महसुलसमेत आफैँले तिरिदिने गरेको छ । 

आफ्नो पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेकाले उनीहरूलाई सुविधा पुर्‍याउने उद्देश्यले योजना सुरु गरेको अध्यक्ष राजकुमार महतोले बताए । यसले नागरिकको जीवनस्तर सुधारमा मद्दत पुगेको उनको भनाइ छ । नजिकै खोला, नहरलगायत सिँचाइ व्यवस्था नभएका कारण किसान समस्यामा परेका उनले बताए । 

चालू आर्थिक वर्षको विद्युत् महसुल बिल सङ्कलन भइरहेकाले केही दिनभित्रमा विद्युत् महसुल भुक्तानी गरिने अध्यक्ष महतोले बताए । कृषि विद्युतीकरणपछि गाउँपालिकाका किसानले बाँझो छाडेको खेतबाट समेत मनग्य उत्पादन लिन थालेका छन् । यसरी प्रदान गरिएको कृषि मिटरबाट दुईदेखि १२ बिघासम्म खेतमा सिँचाइ गर्न सकिने कृषि प्राविधिकको भनाइ छ । 

कृषि विद्युतीकरणबाट विगत दुई वर्षमा मात्र यस पालिकाको नौ हजार बिघा खेत सिँचाइ गर्न सकिएको थियो । आगामी दिनमा पालिका क्षेत्रमा पानीका स्रोत संरक्षणका लागि अध्ययन भइरहेको अध्यक्ष महतोले बताए । यसअघि पालिकामा कृषि सिँचाइका लागि पोखरी निर्माण गरेर वर्षात्मा जमेको पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो ।   

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ०६ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने