कश्मिरबाट भित्रिएको कालीमार्सी, नाचगानसहित जुम्ली किसानले राखे बिउ   | Khabarhub Khabarhub

कश्मिरबाट भित्रिएको कालीमार्सी, नाचगानसहित जुम्ली किसानले राखे बिउ  


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– चर्चित जुम्लाको मार्सी धानको बिउ छरेर सकिएको छ । जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ चैतको अन्तिमसम्ममा छरिएको हो ।

तालिका अनुसार चैत १२ गते बिउ भिजाउने, १६ गते भिजेको बिउ उतारेर घाममा सुकाउने र २० गते ब्याडमा छर्ने तालिका रहेको छ । 

१२ गते धानको बिउ राख्ने दिन कर्णाली प्रदेश सरकारले बिदासमेत दिने गरेको छ । २० गते नै धानको बेर्ना राखिने जुम्ला सिंजा गाउँपालिका–५ रत्न रोकाय बताउँछन् । 

‘इतिहासदेखि चलिआएको तालिका अनुसार मार्सी धान २० गते खेतमा बिउ छरिएको सकिएको छ,’ उनले भने, ‘किसानले चैत २० गते मार्सी धानको बिउ आ-आफ्नो बेर्नामा छरेर राखेका छन् ।’

चैत १६ गते किसानले सिरौँला कुटेर खाने चलनसमेत रहेको हिमा गाउँपालिका–७ का राजबहादुर शाहीले बताए । ‘भिजाएको बिउ सुकाएको दिनमा सिरौँला र चिउरा बनाउने चलन रहेको छ,’ उनले भने,‘यो चलन परापूर्व कालदेखि चल्दै आएको छ ।’

संसारमै सबैभन्दा उचाइ अर्थात् समुन्द्र सतहबाट करिब तीन हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । उच्च भूभागमा झण्डै आठ महिना समय लिएर उत्पादन हुन्छ । 

मार्सी धानसँग जोडिएको विसुवा पर्व जुम्लाका सिंजा क्षेत्रका नरवीर बुढाका अनुसार जुम्लाको सदरमुकाम खलङ्गा वरपर र सिंजा क्षेत्रमा काली मार्सी धानको बीउ राख्ने काम हरेक सालको चैत १२ गते हुन्छ । 

बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र यही दिन एउटा तामाको खड्कुलो वा हुड्डीमा धान भिजाएर घरको कुनै ठाउँमा यसलाई सुरक्षित राखिन्छ । 

चार दिनपछि अर्थात् चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरुवा वा लिउ (उनको कपडा विशेष) मा सुकाएर ओभानो पारिन्छ । 

धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुनः पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ । त्यो रासलाई तातोस् भनेर सल्लाको झाँपो तथा कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१/२२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ ।
 
यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ र स्थानीय नाचगानसहित यसै दिन चेलीबेटीलाई बोलाएर मिठो मिठो खाना खुवाइन्छ । देउडा नाच नचाइन्छ । यही कारण यो दिनलाई विसुवा पर्व भन्ने गरिएको हो । 

बीउ छर्ने दिन भएकोले कसै कसैले यसलाई विच्छेती पर्व भनेर पनि नामकरण गरेका छन् । यहाँ चैत १२ गते कालीमार्सीको बिउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा मनाउने प्रचलन छ । यी दिनमध्ये छर्ने दिन २० गतेलाई विशेष रूपमा मनाइन्छ । बिउ छर्ने बेला यहाँ मौलिक चलन रहेको पाइन्छ ।

चैत २० गते ब्याडमा धानको बिउ छर्नुपूर्व त्यसको पूजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुङ्गा ठडाइन्छ । बाबा चन्दननाथलाई सम्झेर पूजा गरिन्छ । विवाहित र अविवाहित महिला पनि दुईपट्टि भएर नै नाचगान गर्छन्, विसुवा पर्व मनाउँछन् ।

काली मार्सी धानको इतिहास  

काली मार्सी धान जुम्लामा पहिलो पटक चन्दननाथ बाबाले भित्र्याएको पाइन्छ । तर कहिले भित्रियो भन्नेबारेमा स्पष्ट मिति भने छैन । 

चन्दननाथ बाबाले पनि कहिले र कहाँबाट यो धानको बीउ ल्याए भन्ने यकिन तथ्याङ्क छैन । बाली विज्ञका अनुसार यो १४ औँ शताब्दीभन्दा पहिले हुनसक्ने अनुमान छ ।

जुम्लाको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ बाबाले भारतको काश्मिरबाट यो धान पहिलोपल्ट ल्याएर जुम्लाको छुमजुल भन्ने ठाउँमा लगाएको भन्ने इतिहास भेटिन्छ । नेपाललाई विश्वमा चिनाउनेमध्येकै एक धान प्रजाति भएकाले नेपालमा धानको इतिहास निकै पुरानो हो । कतिपयले १२औँ शताब्दीमा काली मार्सी नेपाल भित्रिएको बताउँछन् ।

कति हुन्छ उत्पादन

दुई हजार ८९० हेक्टर धान खेती रहेकामा २० प्रतिशत रैथाने काली मार्सी धान उत्पादन भइरहेको कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए ।

मार्सी धानमा ब्लास्टर रोगले हैरान बनाएको समयमा कृषि अनुसन्धान (केन्द्र) विजयनगर नार्कले काली मार्सीको अनुसन्धानसमेत गरेको छ । नार्कले परीक्षण गरेर निकालेको धानको बिउ जिल्लाका चार स्थानमा समूह सहकारीमा बेर्ना राख्नका लागि सुरु गरिएको छ । 

त्यस्तै काठमाडौं, पोखरा, विराटनगर, सुर्खेतलगायत देशका ठुला सहरका होटेलमा मार्सी चामलको खाना ब्रान्ड भइरहेको छ । मार्सी धान जेठको पहिलो साताबाट रोप्ने, असार, साउनमा गोड्ने र कार्तिकमा भित्र्याउने चलन पनि रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १२ : ५९ बजे

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा

किस्ट अस्पतालमा तनाव बढ्यो, प्रहरीद्वारा अश्रु ग्यास प्रहार (तस्बिरहरू)

 काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन्

अझै पाँच हजार कैदी कारागार बाहिरै

काठमाडौं–  ‘जेन-जी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये