ट्रम्प प्रशासनको नीतिविरुद्ध लाखौँ अमेरिकी सडकमा | Khabarhub Khabarhub

ट्रम्प प्रशासनको नीतिविरुद्ध लाखौँ अमेरिकी सडकमा


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रम्प प्रशासनको नीतिविरुद्ध लाखौँ अमेरिकी प्रदर्शनमा उत्रिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प र सरकारी चुस्तता विभागका प्रमुख एवम् विश्वका सबैभन्दा धनी इलोन मस्कले ‘जबरजस्ती सत्ताकब्जा’ गरेको भन्दै प्रदर्शनको आयोजना गरिएको हो । प्रदर्शनकारीले हरेक राज्यमा रहेका सरकारी कार्यालय, संसद भवन, सामाजिक सुरक्षा कार्यालय तथा अन्य संघीय भवनअगाडि प्रदर्शन गरेको जनाइएको छ ।

अमेरिकाका सबै ५० राज्य तथा विश्वका विभिन्न मुलुकमा गरी १ हजार ४ सयभन्दा धेरै स्थानमा प्रदर्शन आयोजना गरिएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ । ‘ह्याण्ड्स अफ’ नाम दिइएको प्रदर्शनमा नागरिक अधिकारकर्मी, ट्रेड युनियनका कार्यकर्ता, महिला तथा यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्दै आएका अधिकारकर्मी, पूर्वसैनिकसहित आम नागरिकको सहभागिता रहेको जनाइएको छ ।

प्रदर्शनकारीले ट्रम्प र मस्कको विरोधमा प्लेकार्ड लिएर नाराबाजी गरेका थिए । ‘अर्बपतिहरुको हातमा पुगेको अमेरिकी सत्ता फिर्ता ल्याउने’ उद्देश्यसहित प्रदर्शनको आयोजना गरिएको आयोजकलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । ‘अर्बपतिहरुको सत्ताकब्जा र भ्रष्टाचार’, ‘स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका लागि संघीय खर्च कटौती’ र ‘आप्रवासी, यौनिक अल्पसङ्ख्यक एवम् अन्य समुदायमाथिको आक्रमण’ को अन्त्य हुनुपर्ने तीन बुँदे माग सहित लाखौँ मानिसहरु सडकमा उत्रिएका हुन् ।

राजधानी वाशिंटन डीसीमा आयोजित प्रदर्शनलाई विपक्षी डेमोक्र्याटिक पार्टीका केही जनप्रतिनिधिले पनि सम्बोधन गरेका थिए । डीसीमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा मेरिल्याण्ड राज्यको प्रतिनिधित्व गर्ने प्रतिनिधि जेमी रास्किनले ‘ट्रम्पको राजनीति इटालीका तानाशाह मुसोलिनी र अर्थनीति पूर्वराष्ट्रपति होबर्ट हुभरको जस्तो भएको’ टिप्पणी गरे ।

त्यसैगरी, डेमोक्र्याटिक पार्टीका तर्फबाट हाउस अफ रिप्रेजेन्टेटिभमा मिनेसोटा राज्यको प्रतिनिधित्व गर्ने इल्हान ओमरले ‘अधिकार रक्षाका लागि लड्नुपर्ने’ टिप्पणी गरेकी थिइन् ।

ट्रम्प प्रशासनको आगमनसँगै अमेरिकामा संघीय खर्चमा व्यापक कटौती भइरहेको छ । ट्रम्पले संघीय खर्च कटौतीको जिम्मा विश्वका सबैभन्दा धनी उद्यमी इलोन मस्कलाई दिएका छन् । मस्कको सरकारी चुस्तता विभाग अर्थात् डोजले कसैको परवाह नै नगरी लाखौँ सरकारी कर्मचारी र सरकारी खर्च कटौती गरिरहेका छन् ।

सरकारी खर्च कटौतीका कारण ‘मेडिकएड’ भनिने स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा आश्रित ७ करोड ३० लाखभन्दा धेरै अमेरिकी नागरिक प्रभावित भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ०१ बजे

‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त

काठमाडौं – ‘मिसेस नेपाल वोल्र्ड २०२५’को उपाधि बुटवलकी रक्षा पन्तले

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो