‘तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु « Khabarhub

‘तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पर्वत– ऊर्जा नदीका रुपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युतलाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । 

कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ । 

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड बराबरको जग्गा अधिग्रहण भइसकेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । 

आयोजना प्रमुख अग्रवालका अनुसार यो प्रसारण लाइन करिब साढे आठ किलोमिटर लम्बाइको हुनेछ । तल्लो मोदीदेखि नयाँ मोदी सबस्टेसनसम्मको प्रसारण लाइन करिब सात÷आठ महिनाअगाडि  निर्माण भइसक्नुपर्ने थियो, जग्गा अधिग्रहणकै कारण ढिला भएको उनले बताए। सम्झौता मिति अझै बाँकी भए पनि यो काम पूरा गर्न डेढ वर्ष लाग्न सक्ने अग्रवालको भनाइ छ । 

कुश्मादेखि नयाँ मोदीसम्म प्रसारण लाइनले जोडेपछि विद्युत् व्यवस्थापनका लागि ‘रिङ लाइन’ निर्माण हुने भएको छ ।

‘अहिले कुश्माबाट बुटवल हुँदै भरतपुर, दमौली, लेखनाथ, लाहाचोक हुँदै न्यू मोदीमा आएको छ । अब यो न्यू मोदी र कुश्मा जोडियो भने प्रसारण लाइनको सर्कल बन्छ’, आयोजना प्रमुख अग्रवालले भने, ‘यो सर्कल बनेपछि कुनै एक ठाउँमा सिस्टम फेल भए पनि विद्युत्को आपूर्ति दुरुस्तै रहन्छ ।’

यो प्रसारण लाइन एक सय ३२ केभी डबल सर्किट रहेको अग्रवालले जानकारी दिए । आयोजनाको काम सम्पन्न गर्न ३५ करोडमा ठेक्का सम्झौता भएको भए पनि जग्गा व्यवस्थापनसहितका अन्य कामहरू गर्दा करिब ५० करोड खर्च लाग्ने अनुमान गरिएको छ । 

एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर फाउन्डेसन निर्माणका लागि विभिन्न २६ वटा कित्ता जग्गाहरू अधिग्रहण गरी एक करोड पाँच लाख मुआब्जा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए। अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण भएकाले रकम बुझ्न आउन जिल्ला प्रशासन कार्यालयले जग्गाधनीहरूलाई सूचना जारी गरेको छ । 

प्रसारण लाइनका टावर निर्माणका लागि पहिलो चरणमा मोदी गाउँपालिका–५ बाजुङ तथा कुश्मा नगरपालिका–३ दुर्लुङ, कुश्मा नगरपालिका–७ खरेहा तथा वडा नं ८ चुवामा अधिग्रहण गरिने जग्गाको मुआब्जा दिन लागिएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ बमोजिम मुआब्जा प्राप्त गर्नेहरूलाई  मुआब्जा बुझ्नका आह्वान गरिएको प्रजिअ घिमिरेले बताए। 

पर्वतको मोदीखोलाबाट हाल चारवटा विद्युत् आयोजनामार्फत करिब ७४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने केही आयोजनाहरू निर्माण हुने चरणमा छन् । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ११ बजे

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी