पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम | Khabarhub Khabarhub

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ । 

पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरू बेनी–जोमसोम सडक मार्फत हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ आवत जावत गर्छन् । 

बेनीदेखि करिब नौ किलोमिटर उत्तरतर्फ अवस्थित पुलाश्रम सधैँ सुनसान हुने गरेको पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाले जानकारी दिए । 

‘श्रीमद् भागवत् महापुराणको पञ्चमस्कन्ध आठौँ अध्यायमा जयन्ती, मङ्गला र कालीको सङ्गमस्थलमा पुलत्स्य एवं पुलह ऋषिले तपस्या गरेको र पुलस्त्य ऋषिका नाती हिन्दु धर्मग्रन्थ रामायणका पात्र रावणको जन्म भएको उल्लेख छ,’ उनले भने ‘पुलत्स्य, पुलह ऋषिले तपस्या गरेकै कारण यो ठाउँलाई पुलाश्रम भनिएको विभिन्न अध्ययन तथा तथ्यहरूले पुष्टि गरेको छ ।’

रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलस्त्य र पुलह ऋषिले होम गरेको तथा रावणको नाभी गाडेको ठाउँ पुलाश्रमको धार्मिक महत्व तथा इतिहाँसको साक्षी हुन् । पुलाश्रममा रहेको मन्दिर परिसरको हवन कुण्डमा ऋषिहरुले हवन गरेर शेर रहेको चरु पाइन्छ । 

धार्मिक महत्वको प्रचारप्रसार र प्राकृतिक सौन्दर्यको बिशेषता प्रचारप्रसारको कमी तथा सहज सडक यातायतको सुविधा नहुँदा पुलाश्रम ओझेलमा परेको उपाध्यक्ष बानियाले बताए । ‘धेरैलाई पुलाश्रमको महत्व र विशेषता जानकारी छैन,’ उनले भने, ‘पुलाश्रमको बारेमा जानकारी भएका तिर्थयात्रीहरु आएपनि गाडीमा आउन नसकेर पुलाचौर र तिनमानेबाट फर्किन बाध्य छन् ।’

समुन्द्रि सतहदेखि एक हजार सात सय मिटर उचाइमा रहेको पुलाश्रमलाई स्थानीयबासीहरुले पछै पनि भन्ने गर्छन् । यहाँबाट अन्नपूर्ण, धौलागिरि हिमाल, म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्ति अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको कालीगण्डकी र म्याग्दी नदी देखिन्छ । नजिकै बस्ति नभएकाले पुलाश्रमको एकान्त र शान्त वातावरणमा रमाउन पाइन्छ । 

बेनी देखि पैदलयात्रा गरेर दुई घण्टा र सवारी साधनमा तीन मिनेटको यात्रा गरेर पुलाश्रम पुगिन्छ । पुलाश्रममा तिर्थयात्री र भक्तजन आउन नसक्नुको प्रमुख कारण व्यवस्थित पदमार्ग र स्तरीय सडक सुविधाको अभाव भएको स्थानीय शान्ति शर्माले बताए । पौलत्स्य क्षेत्र विकास कोषले महायज्ञबाट संकलन गरेको रकमबाट दश वर्षअघि मन्दिर निर्माण गरेको थियो । 

बेनी नगरपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा पुलाश्रम परिसरमा रावण पार्क निर्माण कार्य अन्तिम चरणमा पु¥याएको बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाले बताए  । 

‘ढलोट धातुको २१ फिट अग्लो रावणको मुर्तीमा १० वटा टाउको, जनै राख्ने र सरसफाई गर्ने बाहेकको काम सकिएको छ,’ उनले भने, ‘चार रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क घेराबार, प्रवेशद्धार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ ।’

रु. एक करोड ७६ लाखमा ठेक्का मार्फत ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको छ । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनी देखि पुरुण्डी सम्मको छ किलोमिटर सडक पक्की बनेको जानकारी दिदै चनौटे देखि पुलाश्रम जोड्ने सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसँग प्रस्ताव गरेको बताए । 

विभिन्न धार्मिक गन्थको अध्ययन र तथ्य पहिचान गरेर दक्षिण भारत र श्रीलंकाका धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ पछैमा रावण पार्क बनाएको उनले बताए । गण्डकी प्रदेश सरकार मार्फत बेनी नगरपालिका–९ मा रहेको गलेश्वर देखि पुलाश्रम र अर्को धार्मिक स्थल जगन्नाथ जोड्ने सडकको काउलेगौडा खण्डमा स्तरोन्नति शुरु भएको छ । 

बेनी, पुलाश्रम, घतानकोत, ढोलथान, जगन्नाथ र गलेश्वरलाई धार्मिक कोरिडोरको रूपमा विकास गर्ने अवधारणा अनुसार पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा प्राथमिकता दिएको नगर प्रमुख केसीले बताए । धार्मिक कोरिडोरको विकास गरेर मुक्तिनाथ जाने आउने भक्तजन तथा तीर्थयात्रीलाई बेनीमा भुलाउने, बसाइ लम्बाइ पर्यटन विकास गर्ने गर्ने उद्देश्य राखिएको छ । रासस

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : ३१ बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको