धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु | Khabarhub Khabarhub

बितेको पुस्ता

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु



सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र पञ्चायतभर ‘सुब्बा’ भनी सम्बोधन गरियो । पुराना लेखोटहरूमा सबैैभन्दा बढी सुब्बा पदवी याक्थुङ लिम्बू समुदायले पाए ।

अघिकांश याक्थुङ लिम्बूहरूका नागरिकता वा राष्ट्रिय परिचयपत्र वा सरकारी कागजपत्रमा नामका पछाडि अहिले पनि ‘सुब्बा’ फुर्को झुण्ड्याएको पाइन्छ । त्यसैले पहिले ‘सुभाङ्गी प्रथा’ थियो भनी बुढापाकाहरूले भन्ने गरेका छन् ।

तर, पछिल्लो समयमा याक्थुङ लिम्बूहरूले आफ्नो नामको पछाडि सुब्बा भन्ने पदावली राख्दा मिङ्श्रा (कुल–थर को इतिहास नै मेटिने) भएपछि अचेल सुब्बा नलेखेर आफ्नै थर लेख्न थालेका छन् ।

सुब्बा पदवी प्रयोग हुनुअघि अरूण पश्चिमका खम्बुका अगुवा र पूर्वका याक्थुङ लिम्बूलाई सेन, शाह र राणाहरूले ‘राय’ पद दिए थिए । अहिले त्यो पदावली राई भएको छ । खम्बु वा किराती भनेर आफूलाई चिनाउनेहरूले अचेल आफ्नो नामको पछाडि कूल चिनाउन किराती राई नै लेख्न रुचाएको पाइन्छ ।

यसको ठीक विपरीत अरूण पूर्वका याक्थुङ लिम्बूले भने राय (पछि बोलिचालीमा र अप्रभंश भएर राई) पदवीको फुर्कोलाई फुकालेर फालिदिइ आफ्नो मिङ्श्रामात्र प्रयोग गर्न थालेका छन् । याक्थुङ लिम्बूहरूले राय पदावली प्रयोग गर्न छाडेको करिब डेढरदुई सय वर्ष पुग्छ भने सुब्बा पदको टोपी फुकाल्न थालेको पञ्चायत कालको मध्यतिरदेखि हो । लिम्बूहरूले यो सुब्बा पद सरकारी कार्यालयका पाँचौँ तहका कर्मचारीलाई जिम्मा दिए ।

हो ! यो सुब्बा भन्ने पद पाउने व्यक्ति राणाकालमा निकै शक्तिशाली मानिन्थ्यो । राणाहरूले खुशी भएमा कसैलाई लेखेर त कसैलाई मुखैले ‘लु आजदेखि तँ सुब्बा भइस्’ भनी सुब्बा पद दिएर खटाउने गरेका थिए ।

राणा शासकबाट सुब्बा पद पाएर मोरङ अन्तर्गत पर्ने विजयपुरको फेदीको चारकोशे जङ्गल फँडानी गरी बस्ती विस्तार गर्ने आधुनिक धरानको संस्थापक सुब्बा रत्नप्रसाद श्रेष्ठलाई धेरै बिर्सेका छन् । उसबेलाको मोरङ अहिलेको झापा, मोरङ र सुनसरी अर्थात् पूर्वमा मेची नदी र पश्चिममा कोशी र उत्तरमा भेडेटार–सागुरीगढी र दक्षिणमा भारतको सीमासम्मलाई बुझिन्थ्यो ।

धरानको अतितसँग जोडिएका सुब्बा रत्नप्रसाद

धरान बजार विस्तारको अतीत कोट्याउँदा कतिपयले विजयपुरको इतिहाससँग जोड्ने गरेका छन् । विजयपुरको इतिहास तत्कालीन याक्थुङहाङ अर्थात् १० राजा (थिबोङ याक्थुङ) र ८ राजा (येत्हाङ) का इतिहाससँग जोडिन्छ ।

यहाँ ‘येत्हाङ’ भनेको याक्थुङ मुन्धुममा आउने येहाङ र येत्हाङहरू होइनन् । इसापूर्वदेखि १६ औं शताब्दीका विजयनारायण र अन्तिम सेन शासक कामदत्त सेन र बुद्धिकर्ण रायसँग विजयपुरको प्राचीन, मध्य र उत्तर मध्यकालका इतिहास जोडिन्छ ।

आधुनिक धरान स्थापना र बस्ती विस्तारको इतिहास भने राणाकाल, त्यो पनि चन्द्र शमशेर र जुद्ध शमशेरको पालामा मात्र सुरु भएको देखिन्छ । जुनबेला अहिलेको घना बस्ती धरान सखुवाको जङ्गलले ढाकिएको थियो । त्यो बेला सुब्बा रत्नप्रसाद श्रेष्ठ (कायस्थ) धनकुटाबाट मधेश झर्ने तरखर गर्दै थिए ।

सुब्बा रत्नप्रसादबारे प्रारम्भिक तिथिमिति सहितको विस्तृत लिखत तथ्य भने अझै प्राप्त हुन सकेको छैन । उनकी कान्छी बुहारी सरला कायस्थ (कान्छा छोरा गोपाल श्रेष्ठ ‘कायस्थ’ का श्रीमती) र नाति कृष्णप्रसाद श्रेष्ठका अनुसार सुब्बा रत्नप्रसाद धनकुटामा वि.सं. १९३० तिर जन्मेका थिए । बुहारी सरलाको उमेर अहिले ८८ वर्ष पुगेको छ, शारीरिक रूपमा केही खस्किएपनि उनको स्मरणशक्ति भने ताजै छ । उता नाति कृष्णप्रसादको उमेर ८४ वर्ष पुगेको छ । धनकुटाको बजारमा सुब्बा रत्नप्रसाद जन्मेको घर अझै छ ।

सुब्बा रत्नप्रसादकी कान्छी बुहारी सरला कायस्थ ।

व्यापारिक दिमाग चलाउँदै आएका सुब्बा रत्नप्रसाद जवान भएपछि कलकत्तासम्म पुगेर नेपालको सामान बिक्री गर्ने र त्यहाँको सामान नेपालमा ल्याएर बिक्री गर्ने गरेका थिए । त्यसैले उनी ‘कलकत्ते साहु’ भनेर चिनिन्थे । गाउँघरमा कतिपयले ‘नेपाले साहू’ पनि भन्थे । उसबेला काठमाडौँलाई नेपाल भनेर चिनिने र त्यहीँबाट आएका साहु व्यापारी भएकाले उनलाई ‘नेपाले साहु’ भनेर पनि सम्बोधन गरेको हुनसक्ने कान्छी बुहारी सरला कायस्थको बुझाइ छ ।

पारिवारिक स्रोतअनुसारस बनेपामा पुख्र्यौली थलो भए पनि रत्नप्रसादका बाबु जयन्तनारायण श्रेष्ठ व्यापार व्यवसाय र तामाखानीको काम गर्दै गुल्मीको पूर्तिघाट पुगे । लामो समय पूर्तिघाटमै उसबेलाको जमाना अनुसारको व्यापार व्यवसाय गर्दागर्दै विवाह पनि उतै गरे । उनका नौ छोरी थिए । ती सबैै छोरीहरूको विवाह पुर्तिघाटकै कुटुम्बसँग गरिदिए ।

तामाखानीको काम छाडेर उनी पूर्तिघाटदेखि व्यापार व्यवसाय गर्दै धनकुटा आइपुगे । धनकुटामा स्थायी बसोबास गरेपछिको केही समयमा छोराहरू मणिरत्न र रत्नप्रसादको जन्म भयो । थप दुई छोरीहरू पनि जन्मिए ।

बाबुकै बिँडो थाम्दै रत्नप्रसाद पनि व्यापारीरव्यवसायी बने । धनकुटादेखि जोगवनीसम्म व्यापार विस्तार गरे । जोगवनीदेखि पनि व्यापार व्यवसायको दायर बढाउँदै राणाकालमै कलकत्तासम्म पुगे । उनी धनकुटा–जोगवनी–कलकत्ता ओहोरदोहोर गर्दा धरानको जन्म नै भएको थिएन । बरु, विजयपुर भने पुरानो लिम्बूवानकालीन बस्तीको रूपमा रहेको थियो ।

व्यापारिक उद्देश्यले कलकत्ता र धनकुटा ओहोरदोहोर गर्दागर्दै रत्नप्रसादको सम्पर्क तत्कालीन इष्ट इण्डिया कम्पनीका मानिसहरूसँग भयो । आफ्नो बाजेबारे सुनेको आधारमा वृद्ध कृष्णप्रसाद भन्छन्, ‘बाजे (अजा) अरूको तुलनामा अलिक चलाख, बुद्धिमान थिएछन् । नत्र सर्वसाधारण व्यापारीले अङ्ग्रेज शासन चलिरहेको बेला इष्ट इण्डियाका अङ्ग्रेजसँग सितिमिति सम्पर्क बनाउन सक्थ्यो र !’

ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम र धनकुटाबाट विभिन्न उद्देश्यले तराइमा झर्नेहरू विजयपुरबाटै पैदल ओरालो झर्दै चारकोशे जङ्गल छिचोलेर यात्रा गर्थे । रत्नप्रसादको जीविकाको माध्यम व्यापार–व्यवसाय नै भएकाले धनकुटाबाट कलकत्तासम्म पुगेर लाइट, रेडियो, लालटिन, मट्टीतेल र साबुन आदि ल्याउँथे । सामान बोक्ने भरियाहरू पूर्वी पहाडकै हुन्थे ।

००००

ब्रिटिश राज भएको बेला भारतका विभिन्न प्रान्तमा रेल लाइन विस्तार भइरहेको थियो । इष्ट इण्डिया कम्पनीलाई रेलको पटरीमा ओच्छ्याउने सखुवाको काठ चाहिएको थियो । त्यसलाई स्लिपर भनिन्छ ।

स्लिपरका लागि सखुवाका काठ आपूर्तिकर्ता बने रत्नप्रसाद । उनले विजयपुर मुनिको घनाजङ्गल फँडानी गरेर काठ टुना बनाउँदै (टुक्य्राउँदै) स्लिपरका लागि आरा धरान थापेर चिर्न लगाए ।

यो समयमा नेपालमा चन्द्र शमशेर श्री ३ प्रधानमन्त्री भइसकेका थिएनन् भन्ने अनुमान छ । चन्द्र शमशेर वि.सं. १९५८ मा देव शमशेरलाई धनकुटा लखेटेर श्री ३ महाराज बनेका थिए । चन्द्र शमशेरले रत्नप्रसादलाई जङ्गल फँडानी गरेर ब्रिटिश इष्ट इण्डिया कम्पनीलाई रेलको स्लिपरका लागि काठ आपूर्ति गर्न ठेक्का दिएको हुनसक्ने अनुमान गरिएको छ । तर, त्यस्तो लिखित कागजात भने फेला पर्न सकेको छैन ।

तानाशाही जहानियाँ राणाकालमा सर्वसाधारणले आफूखुशी जङ्गल फँडानी गरेर ब्रिटिश शासकलाई ठूलो मात्रामा काठ बिक्री गर्न सक्ने कुरा पनि भएन । रेलको स्लिपरका लागि काठ बेच्न थालेपछि रत्नप्रसादले ‘सिलेभरको ठेकदार’ उपनाम पनि पाए । त्यसबेला मानिसले ‘स्लिपर’ भन्न नजानेर ‘सिलेभर’ भन्थे ।

रत्नप्रसादले काठको ठेकेदारीको काम कहिलेदेखि कहिलेसम्म गरे, तिथिमितिबारे भने यकिन अभिलेख उनका सन्ततीसँग नभएपनि बेजोडले काठको कारोबार गरेको समय साल वि.सं. १९६६ भएको अनुमान गर्छन् नाति कृष्णप्रसाद । रत्नप्रसादको देहान्त वि.सं. १९९६ सालमा भएको परिवारले बताउँदै आएका छन् । तर, उनले कहिलेदेखि कहिलेसम्म विजयपुर मुनिको जङ्गल फँडानी गर्ने ठेक्का पाएर इष्ट इण्डिया कम्पनीलाई निर्यात गरे, त्यो भने अज्ञात छ ।

सुब्बा रत्नप्रसादको परिवार ।

रत्नप्रसादको ठेकेदारी भनौँ वा जिम्मेवारीमा विजयपुर फेदीको चारकोशे जङ्गल फँडानी गरेर ब्रिटिश इष्ट इण्डिया कम्पनीलाई काठको निकासी गर्न थालेपछि बस्ती बसाउन योग्य हुन पुग्यो । आजभन्दा करिब १२२ वर्ष अगाडि अर्थात् राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा वि.सं. १९५८ तिर आजको पुरानो बजार (हालको चिनियाँँ चोक आसपास)मा बस्ती विस्तार भयो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा घरबास बसाउने काम गरिएकाले उनको नाममा बजारको नाम ‘चन्द्रपुर’ राखियो भने अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरको नाममा वि.सं. १९९२ तिर हालको नयाँबजारलाई ‘जुद्धनगर’ नाम राखियो । जुद्धनगरको नाम २०१६ सालमा फेरिएर ‘लक्ष्मीसडक’ बन्यो । उक्त नाम महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्युपछि राखिएको हो ।

जङ्गल फँडानी गरेपछि बस्न योग्य भएको जमिनमा कतिपय विजयपुरदेखि झरे । कतिपय विभिन्न ठाउँबाट आएर टहरा बनाएर बस्न थाले । रत्नप्रसादले पनि धनकुटाका आफ्ना छर छिमेकी, चिनेजानेकालाई बोलाएर बस्न दिए । त्यसबेला जग्गाको मूल्य कौडीको भाउ जति पनि नभएकाले खासै किनबेच हुँदैनथ्यो । वि.सं. १९५८ देखि वि.सं. १९९२ साल अर्थात् करिब ३४ वर्ष समय घर्किँदा विषेशगरी चिनियाँचोक (सोही चोकको पश्चिम हालको रत्नरोडमा रत्नप्रसादले भव्य चारतले घर निर्माण गरेका थिए), चन्द्रनगर, जुद्धनगर, हालका भानुचोक, छाताचोक, फुश्रे, देशीलाइन र पुतलीलाइनमा बस्ती विस्तारका नक्सा तयार हुँदै थियो, ‘धरान’ नाम करिब पाइसकेको थियो ।

जानकारहरूका अनुसारस वि.सं. १९९७ सालमा नापी टोली आएपछि हालको भानुचोकदेखि छाताचोक हुँदै लक्ष्मी सडक र जिरो प्वाइन्टसम्मको ठाडो बाटोलाई मूल सडक बनाउने निर्णय गर्‍यो । रत्नरोडदेखि भानुचोकसम्म रत्नप्रसादको स्वामित्वमा करिब १२ बिघा जमिन परेको थियो । भानुचोक परिसर पनि उनैको पथ्र्यो ।

बजारीकरण हुँदै गएपछि उनले करिब एक बिघा जति निःशुल्क दिएर बटुवाहरूको सुविधाका लागि काठका चारवटा ठूला चौतारी–फलैँचा र पाटी बनाइदिए । चोकको आकार लिँदै गएपछि ती पाटीपौवा भएको ठाउँँमा बजार समेत लाग्न थाल्यो । हालको बसस्टेण्डमा पनि उनले एउटा पाटी बनाइदिए । चोकमा पाटी बनेपछि वरपरका युवाहरू जम्मा हुन थाले । त्यहाँ दिनभर गफिने, आराम गर्ने र भेटघाट गर्ने गर्थे ।

भानुचोकस्थित घण्टाघर परिसरमा रहेको गणेश मन्दिरमा २०६२ पुस २० गतेको मितिमा राखिएको एउटा अभिलेख छ । त्यहाँ लेखिएको छ,

‘…समर्पण साविकको बजार–अड्डा एवम् हालको घण्टाघरस्थित भानुचोकदेखि प्रारम्भ गरी उत्तरतर्फ फैलिएको धरान नगरिको जुद्धनगर बसाउँदा हाटखोलाको प्रयोजनको लागि हाम्रा बाजेहरू स्व. गङ्गाप्रसाद श्रेष्ठ र सु. रत्नप्रसाद श्रेष्ठद्वारा आफ्नो नम्बरी जग्गामध्येबाट भानुचोकमा संयुक्त रूपमा निःशुल्क प्रदान गरिएको जग्गा (१–०–०) बिघा हाल निर्माण गरिएको विघ्नहर्ता मङ्गलकर्ता भगवान श्रीगणेशको मन्दिरको मूलद्वारमा, उदारमना जग्गादाताका वंशजमध्ये हामी सु. रत्नप्रसादका नाति, कालीप्रसादंशक्तिदेवी श्रेष्ठका छोरा कृष्णप्रसाद श्रेष्ठ, बुहारी सीतादेवी श्रेष्ठ, पनाति कुञ्जन श्रेष्ठ, पनातिने बुहारी जिनी श्रेष्ठ र पनातिहरू सन्दीप श्रेष्ठ एवम् निराजन श्रेष्ठले पूर्वजको कीर्ति संरक्षण गर्न एवम् देशको कला र संस्कृतिको सम्वद्र्धन गर्न पुर्खाको कार्यबाट प्रेरित भई यो कलात्मक द्वार (ढोकारखापा) निर्माण गराई प्रीतपूर्वक समर्पण गर्‍यौँ ।’

वि.सं. २०३१ सालको पुस महिनामा भाषाशास्त्री महानन्द सापकोटाको बाहुलीबाट आदिकवि भानुभक्तको प्रतिमा शिलान्यास गरेको तीन वर्षपछि अर्थात् २०३४ साल चैत्र २ गत प्रधानमन्धी कीर्तिनिधि विष्टले त्यसको अनावरण गरेपछिमात्र हालको भानुचोक नामले पूर्णता पाएको हो । जानकारहरूका अनुसार पूर्वाञ्चल मोटर सिण्डिकेटको आर्थिक सहयोगमा आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा निर्माण गरेर राखिएको हो ।

धरान बजार विस्तार भएसँगै रत्नप्रसादले हालको छाताचोक मास्तिर एउटा अस्पताल निर्माण गरिदिएका थिए । अस्पताल बनाउन राणा शासकबाट स्वीकृति लिनै ६ महिना लागेको थियो । खासगरी वि.सं. १९९० सालमा आएको विनाशकारी भूकम्पले धरानलाई पनि क्षतविक्षत् बनाएको थियो ।

रत्नप्रसादको चारतले घर भत्किँदा आधा दर्जनको मृत्यु भएको थियो । भूकम्पमा परेर मर्ने त मरिगए, तर घाइतेहरूको उपचार गर्न परम्परागत बाहेक अर्को विधि थिएन । रत्नप्रसादले ती घाइतेहरूको नाजुक अवस्था देखेर वि.सं. १९९२ तिर छाताचोकमा अस्पताल निर्माण गरेका थिए ।

अस्पताल निर्माण गर्न रत्नप्रसादले गरेको प्रयास र योगदान पनि अतुलनीय रहेको छ । वि.सं. १९९० सालको भूकम्पपछि रत्नप्रसादले राणा प्रधानमन्त्री जुद्धशमशेरलाई एउटा पत्र लेखेर पठाए, ‘सरकार, सरकारका जनता भूकम्पले घाइते भएर उपचार नपाएर मरणासन्न अवस्थामा पुगेका छन् । धरानभरी एउटा पनि स्वास्थ्य उपचार गर्ने संस्था छैन । त्यसैले अविलम्ब एउटा डाक्टर र अस्पतालको व्यवस्था गरिपाऊँ ।’

करिब तीन महिनापछि लिखित जवाफ आयो, ‘तिम्रो माग जायज छ, तर अहिले सरकारसँग पैसा छैन । अर्को व्यवस्था नभएसम्म ६ महिनाको लागि तिमी आफैँले डाक्टर ल्याएर जनताको सेवा गर ।’

सुब्बा रत्नप्रसादको तस्बिर ।

राणाशासकबाट यस्तो पत्र पाउनासाथ उनी भारत गए । कलकत्ताबाट एकजना बङ्गाली डाक्टर लिएर आए । ती डाक्टरको नाम थियो द्वारिकाप्रसाद । हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषामात्र बोल्ने द्वारिका नेपाली भाषा नजाने पनि उपचार गर्न जान्दथे । उनलाई पुरानो बजारस्थित बद्रिनाथ बास्तोलाको घरमा बस्ने व्यवस्था गरिदिएर त्यहीँ नै अस्थाई अस्पताल चलाउन लगाएका थिए रत्नप्रसादले । त्यसको ६ महिनापछि भने बल्ल अस्पतालको स्वीकृति आइपुग्यो । ती बङ्गाली द्वारिकाप्रसादका सन्तान हाल नेपाली भइसकेका छन् ।

राणा सरकारबाट अस्पताल सञ्चालन गर्ने स्वीकृति प्राप्त भएपछि हालको छाताचोक नजिकै भवन निर्माण गरिदिए । अस्पताल बनेको जमिन सरकारको भएपनि भवन बनाउने बजेट सरकारबाट नपाउने स्थिति देखिएपछि रत्नप्रसाद आफैँले नयाँ भवन बनाइदिए । तर, उक्त भवन ०४५ साल भदौ ५ मा आएको भूकम्पले ध्वस्त बनायो । उनले त्यही अस्पतालको वरपर सरकारबाट अनुमति लिएर बस्ती बसाए । छाताचोकदेखि भानुचोकसम्मको खाली जमिनमा उनैले बस्ती बसाएको मानिन्छ ।

सुब्बा रत्नप्रसादले धरानमा दुई जनालाई सुवेदार पद पनि दिलाएका थिए । एक कम्पनी राखेर ढोग्दा सुब्बाले साक्षी सुविदारसम्मको पद दिने चलन थियो । उनले लालबहादुर आचार्य र अर्का एकजना श्रेष्ठलाई साक्षी सुविदारको दिएका थिए । साक्षी सुविदार पद पाउनेहरू रत्नप्रसादको मातहतमा रहेर काठकै काम गर्थे ।

रत्नप्रसादलाई पैसासँगै मानपदवी पनि

पूरै भारतमा औपनिवेशिक शासन चलाइरहेको ब्रिटिश इष्ट इण्डिया कम्पनीलाई पूर्वी नेपालको सखुवाको काठ बेचेवापत रत्नप्रसादले सम्पत्ति त जोडे नै, राणा सरकारबाट ‘सुब्बा’ को मान पनि पाएको सरला कायस्थको भनाइ छ । रत्नप्रसादले सुब्बा पद पाएको वि.सं. १९८८ सालतिर मानिएको छ । त्यही वर्ष उनले छोरा कालीप्रसादको विवाह गरिदिएका थिए । छोराको विवाहको ६ महिनामै उनले उक्त मान पाएका थिए ।

रत्नप्रसादले काठको ठेकेदारी गरेर कमिसनबाटै वार्षिक एक लाख भारु कमाउँथे । नेपाले साहु, कलकत्ते साहु हुँदै सिलेभर (स्लिपर) को ठेकदार भनेर चिनिएका उनी सुब्बा रत्नप्रसाद श्रेष्ठ भनेर चिनिन थाले । तर, यो सुब्बा पदवी कहिले र को राणाबाट पाए भन्ने बारे यकिन तिथिमिति र लिखत फेला पार्न सकिएको छैन ।

यसबारे जानकार बुद्धिजीवी डा। राजेन्द्र शर्मा भन्छन्, ‘उहिले राणाकालमा राणा शासकहरूले कतिलाई मुखैले पद बाँड्ने गरेका थिए । रत्नप्रसादले पनि शायद काठको कारोबार गर्दा गर्दै राणाहरूलाई चाकडी गरेर रिझाउने, खुशी बनाउने गर्दागर्दै चन्द्र शमशेरबाट सुब्बा पदवी पाएका हुनसक्छ । सुब्बा पद पाएकै कारण ढाकाटोपी लगाउँदै आएको उनको शिरमा किम्ती धातुको चाँदमारी टोपी जडिएको श्यामश्वेत तस्बिरहरूमा देख्न पाइन्छ । ती तस्बिरहरू अदवका छन् । राणाकालमा जोसुकैले त त्यस्तो टोपी लगाउने कुरो पनि भएन त्यसबेला ।’

दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर र बराहक्षेत्र मन्दिरसँग पनि सुब्बा रत्नप्रसादको इतिहास जोडिएको छ । विजयपुरस्थित पिण्डेश्वर मन्दिरको भवन वि.सं. १९९० मा बनाइ व्यवस्थित गराउने काम गरे । उनले मूल मन्दिरको भित्तामा कलात्मक रूपको सिङ्गमरमर कलकत्ताबाट ल्याएर जडान गर्न लगाए । मन्दिरभित्र प्रवेश गरिने ढोकैमा ‘सुब्बा रत्नप्रसाद’ भनेर लेखिएको सिङ्गमरमर ओछ्याउन लगाएका थिए, जहाँ भक्तजनको पाइला पर्छ । आफ्नो नाममाथि जति भक्तजनले कुल्चिन्छन् – त्यति धर्म कमाइन्छ भन्ने विश्वासले उनले त्यसो गरेका थिए । पिण्डेश्वरमै उनले पद्मेश्वरी पार्वतीको मूर्ति पनि राखिदिएका थिए । वि.सं. ०४५ मा आएको भूकम्पले मन्दिरमा क्षति पुर्‍याउँदा मूल मन्दिरको भित्तामा टाँसिएका रङ्गीन सिङ्गमरमर फुटे ।

सप्तकोशी र कोकाहानदीको सङ्गमस्थलमा रहेको बराहक्षेत्र मन्दिरसम्म जाने बाटोमा त्यतिखेर घनघोर जङ्गल थियो । उनले पटेर जङ्गलमा बाटोका लागि गोरेटो तयार गरिदिएर आफ्नै खर्चमा फराकिलो बनाइदिए । धरानबाट करिब २५ किलोमिटर दूरीको बाटोलाई पनि ठूलो बनाउन लगाए । वि.सं. १९९० को भूकम्पमा परेर बराहक्षेत्र मन्दिर भत्कियो । मन्दिर भत्किएको सूचना राणा सरकारसम्म पुर्‍याए । भत्केको भागको मर्मत पनि तुरुन्तै भयो । त्यसपछि सुब्बा रत्नप्रसादले मन्दिर परिसरमा तामाका १०८ वटा पाला राखिदिए । ती पालामा भक्तजनहरूले बत्ती बाल्न पाए । सुब्बा रत्नप्रसादले ९० सालमा राखिदिएको पाला आज पनि बराहक्षेत्र मन्दिरमा छ । उनले यस्तै १०८ पाला दन्तकाली मन्दिरको परिसरमा पनि राख्न लगाए ।

०००

काठको कारोबारी रत्नप्रसाद जोगवनीबाट रेल चढेको बेला ब्रिटिश इष्ट इण्डिया कम्पनीका कर्मचारीहरूले समेत सम्मान गर्थे । उनी रेल चढेबारे एउटा किम्वदन्ती नै छ । किम्वदन्ती अनुसार उनलाई कर्मचारीले सम्मानजनक व्यवहार गर्थे । कलकत्ताबाट जोगवनी आउने जाने रेल पाँच मिनेटमात्र रोकिने जक्सनमा रत्नप्रसाद ओर्लिएमा एक घण्टासम्म रोकिन्थ्यो रे ! त्यो एक घण्टा समयमा उनी आनन्दले खानपीन गरेर फेरि रेलको डब्बामा चढ्थे रे ! त्यसपछि मात्र रेल हिँड्थ्यो रे !

०००

हालको चिनियाँचोक पश्चिममा बनेको सुब्बा रत्नप्रसादको चारतले घरलाई धेरैका आँखा लगाएका थिए । ‘यो मान्छेले आफ्नो हैसियतभन्दा ठूलो घर बनायो’ भनेर गाउँभर कुरा हुन्थ्यो ।

सरला कायस्थले सासु ससूरा नदेखे पनि अरूबाट ससुराबारे आफूले सुनेको कथा खबरहबलाई सुनाइन्, ‘सुब्बा रत्नप्रसादले आफ्नो हैसियतभन्दा ठूलो घर बनाएको भनेर चारतले घरबारे राणाजीकोमा कसैले पोल सुनाएछन् । राणाजीले पनि किन चारतले भव्य घर बनाएको भनेर स्पष्टीकरण मागेछन् । मेरा ससुरा रत्नप्रसादले जवाफमा भनेछन्, ‘सरकार, आफूसँग भएको सम्पत्ति संरक्षण गर्न चारतले घर बनाएको हो ।’

रत्नप्रसादले वार्षिक कमाउने एक लाख रुपैयाँ सिक्का नै हुन्थे । वर्षौँ कमाएका सिक्का राख्न त्यसबेला र्बङ्क त थिएनन् नै, कागजी नोटको चलन आएको थिएन । सिक्का (सम्पत्ति) राख्नकै लागि अग्लो घर बनाएको बुझ्न सकिन्छ । यसको अर्थ उनले काठको व्यापार गर्दा धेरै सिक्का कमाए भन्ने पनि बुझिन्छ ।

०००

धरान बजार विस्तार गर्ने श्रेय पाएका सुब्बा रत्नप्रसाद वि.सं. १९८८ मा सुब्बा पद पाएपछि धरान छाडेर विरानगर मालअड्डा अगाडि बसाईँ सरेर गए । रत्नप्रसादले पहिले धरान नै माइत भएकी पदमकुमारी लाखेसँग विवाह गरेका थिए । तर, पदमकुमारीका तर्फबाट एक छोरी एक छोरा जन्मिए ।

छोरा कालीप्रसाद (कृष्णप्रसादका पिता) जन्मने बेलामा पदमकुमारीको स्तन अज्ञात रोगले सङ्क्रमित भयो । कलकत्ता पुगेर नाम चलेको डाक्टरलाई देखाउँदा डाक्टरले ‘यो घाउ अप्ठ्यारो खालको छ, अप्रेशन नगरी हुँदैन । तर अप्रेशन गर्दा पेटको बच्चा मर्छ । अप्रेशन नगर्ने हो भने सहेरै बस्नुपर्छ, निको भने हुँदैन’ भनेछन् ।

डाक्टरको कुरा सुनेपछि रत्नप्रसादले ‘बच्चो मर्नुहुँदैन, बरु त्यसै फर्केर जान्छौँ’ भनेर दुबैजना नेपाल फर्किए । धरानमा थप औषधोउपचार हुन सकेन । कालीप्रसाद जन्मेको केही महिनामै पदमकुमारीको देहान्त भयो ।

पहिलो श्रीमतीको देहान्त भएपछि उनले काठमाडौँ माइत भएकी जोशी कुलकी चम्पादेवी जोशीसँग विवाह गरे । चम्पादेवीबाट दुई छोरा भागवतप्रसाद र गोपालप्रसाद तथा दुई छोरी विष्णुदेवी र नारायणदेवी जन्मे । तिनै भागवतप्रसादका छोरा र सुब्बा रत्नप्रसादका नाति हुन् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै नियुक्त भएका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ ।

सुब्बा रत्नप्रसादका कान्छी बुहारी सरला कायस्थ र उनका छोरा मुकुल तथा कोशी प्रदेशकी सांसदसमेत रहेकी यशोधाले पुर्खाको सम्मानमा ‘सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन् । ४१ हजार रुपैयाँ नगद राशी समेतको उक्त पुरस्कारबाट अग्रज पत्रकार हर्ष सुब्बा, गोपाल देवान र कृष्णविनोद लम्साल लगायत पुरस्कृत भइसकेका छन् । यस्तै, ५१ हजार रुपैयाँको चम्पादेवी सामाजिक सम्मान एवम् पुरस्कार प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य लगायतले पाइसकेका छन् ।

सुब्बा रत्नप्रसादको घर ।

सुब्बा रत्नप्रसादको दुःखान्त मृत्यु

सुब्बा रत्नप्रसादको मृत्यु अहिलेसम्म रहस्य बनेको छ । वि.सं. १९८६ मा मृत्यु भए पनि परिवारले भने तत्काल थाहा पाउन सकेनन् । उनको मृत्यु काठमाडौँमा भएको थियो ।

नाति कृष्णप्रसाद भन्छन्, ‘हामीले अरू अग्रजहरूबाट सुन्दा त्यसबेला अजा (बाजे) को उमेर त्यस्तै ६६/६७ वर्षको मात्र थियो । रोगव्याधी के लागेको थियो थाहा भएन । विष दिएर मारेको हल्ला पनि चल्यो रे ! तर कसले किन विष खुवाएर हत्या गर्‍यो ? बाजेको लाश कसले उठायो ? कसले घाटमा पुर्‍याएर जलायो वा सदगद गर्‍यो ? केही जानकारीमा आउन सकेन ।’

उनको दुःखान्त मृत्यु भएको जानकारी धरान र विराटनगर बसेका उनका आफन्त परिवारजनले तत्काल जानकारी पाउन नसक्दा मृत्युको कारण अझै रहस्यमय भएको हो । राणाकालको बेला काठमाडौँबाट खबर आउन नै तीन महिना लाग्थ्यो । यातायात र सञ्चार नभएको अवस्थामा रत्नप्रसादको दुःखान्त मृत्युको समाचार तत्काल परिवारसम्म पुग्नु कल्पना बाहिरको कुरो छँदैथियो ।

‘समाज सेवामा नारीरत्नः सरला कायस्थ अभिनन्दन ग्रन्थ’मा सरला कायस्थ आफैँले लेखेको लेखमा भने काजमा काठमाडौँ गएको बेला ससुरा सुब्बा रत्नप्रसादको मृत्यु भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो घरपरिवार आधुनिक विचारधाराको भएकाले सहज नै भयो । मेरा श्रीमान गोपालप्रसाद तीन वर्षको हुँदा नै पिताश्री (ससुरा) सुब्बा रत्नप्रसाद काजमा काठमाडौँ जानुहुँदा स्वर्गे भएका र सासूआमा पनि नौ वर्षको कान्छा छोरा गोपाल (१० जना सन्तानमा कान्छा छोरा ४५ वर्षको उमेरमा जन्माउनुभएको) छोडेर स्वर्गे भैसक्नुभएको थियो । घरमा जेठाजु भागवतप्रसाद, जेठानी दिदी साधनादेवी, तीनजना नानीहरू, सात जनाको परिवार । कहिलेकाहीँ नजिकै भएकाले ठूली आमाजू विष्णुदेवी र सानी आमाजू नारायणदेवी आउनुहुन्थ्यो ।’

नेपाल रेडक्रस सोसाइटी, सुनसरीले प्रकाशित गरेको उक्त पुस्तकमा रत्नप्रसादबारे लेखिएको छ, ‘व्यापारको उत्कर्षमा पुगेको बेला रत्नप्रसादले तिव्बतबाट हिराको हार खरिद गरेर ल्याएका थिए । तर चोरीको दोष लगाएर काठमाडौँ हिरासतमा १४ महिना नजरबन्दमा राखे । हिरासतमै रहँदा धनकुटा गौँडाका कर्णेल शिवप्रताप राणासँग बिन्ती बिसाउँदै आफू निर्दोष रहेको बताएर हिरासतमुक्त भए । त्यसपछि लकडीको ठेक्का प्राप्त गरेर ब्रिटिश इस्ट इण्डिया कम्पनीलाई बिक्री गर्न थाले ।’

उनले पुस्तकमा लेखेकी छन्, ‘धरन (आरा धरान)मा लकडी चिरान गर्ने गरेको हुनाले त्यस स्थानको नाम धरन धरन भन्दा भन्दै धरान नामकरण रहन गयो । उक्त स्थानको जङ्गल फँडानी गरेको खुल्ला जग्गा वि.सं. १९५७ सालतिर रैती लगाई एक दशमलव पाँच लग्गाको दरले वितरण गरी बस्ती बसालिएको थियो ।’

सुब्बा रत्नप्रसादको योगदानको कदर गर्दै धरान नगरपालिकाले २०५७ सालमा मनाएको ‘धरान शतवार्षिकी महोत्सव’ अवसरमा धरान बजार बसाएको व्यक्ति भनी मरणोपरान्त सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ६ : ४० बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा