सिरहा– गत दुई दिनको अविरल वर्षाका कारण सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीमा आएको बाढीले तटबन्ध जीर्ण बनाएको छ । केही वर्षयता बाढी र कटानको समस्या तीव्र बन्दै गएपछि गाउँको सुरक्षाका लागि करोडौँ खर्चेर निर्माण गरिएको तटबन्ध फेरि भत्किन थालेपछि स्थानीय बासिन्दा पुनः चिन्तित बनेका छन् ।
लहान नगरपालिका–२३ तिलबोनामा नदी कटान रोक्न दुई वर्षअघि नगरपालिकाले ५० लाख, मधेस प्रदेश सरकारले रु ९५ लाख र गत वर्ष मात्रै सङ्घीय सरकारको खाडो नदी व्यवस्थापन आयोजना कार्यालय राजविराजले एक करोड रुपैयाँ लगानीमा तटबन्ध निर्माण गरेका थिए ।
तर हालको बाढीले ती तटबन्धहरूलाई कमजोर बनाएको छ । स्थानीयका अनुसार प्रदेश सरकारको बजेटबाट बनेको तटबन्ध आधा भाग बगिसकेको छभने सङ्घीय बजेटबाट बनेको तटबन्धमा चिरा परेका छन् र केही भाग भत्किन थालेका छन् ।
आज लहान नगप्रमुख महेशप्रसाद चौधरीले स्थलगत निरीक्षण गरी सम्बन्धित निकाय र निर्माण कम्पनीसँग तत्काल मर्मत कार्य गर्न समन्वय गर्ने बताए। उनका अनुसार तत्काल जेसिभी पठाएर तटबन्ध वरिपरि माटो मिलाउने काम सुरु गरिनेछ ।
नगरप्रमुख चौधरीले भने, ‘स्थानीयको सुरक्षाका लागि हामी गम्भीर छौँ । म आफैँ स्थलगत निरीक्षणमा गएँ र सम्बन्धित ठेकेदार तथा निकायलाई तत्काल मर्मत र पुनर्निर्माण कार्य अगाडि बढाउन निर्देशन दिनेछु । नगरपालिकाले पनि सक्दो सहयोग गर्नेछ ।’
दशकौँपछि बनेको स्थायी तटबन्ध बाढीले जीर्ण बनाई दिएपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । स्थानीय गङ्गाप्रसाद यादव भन्छन्, “यस गाउँकोे ५५ बिघा जमिनको लालपुर्जा घरमा छ तर जमिन खोलामा बगिसक्यो । यो तटबन्धले हाम्रो जमिन बचाउने आशा थियो, तर फेरि भत्किएपछि अब के होला भन्ने डर छ ।”
उनका अनुसार पछिल्ला दुई दशकमा लहान नगरपालिका–२३, सखुवा नन्कारकटी गाउँपालिका–४ र ५ तथा भगवानपुर गाउँपालिका–१ र २ मा कटानले झन्डै एक हजार बिघा उर्वर जमिन बगाएको छ । यसले किसानलाई आर्थिक रूपमा ठूलो मारमा पारेको छ ।
कोही सुकुम्वासी बनेका छन्भने कोही सामान्य श्रमिक जीवनयापन गर्न बाध्य छन् । तटबन्ध जीर्ण बनेसँगै सामान्य बाढीले नदी कटान गर्ने जोखिम बढेर गएको छ । स्थानीयवासीले तटबन्धलाई दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया