विपद् व्यवस्थापनको सारथी : पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी | Khabarhub Khabarhub

विपद् व्यवस्थापनको सारथी : पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी

    पूर्वसूचनाको वेवास्ता गर्दा मानवीय क्षति


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टीका, जमरा लगाएर ओहोरदोहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टीका थाप्न जानै बाँकी नै थियो होला ।

यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणलाई झस्कायो । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको समेत जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी ग¥यो । त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुशरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सोमबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन तीन दिनसम्म रोक्ने निर्णय गर्‍यो ।

यस निर्णयले यसपटक बाढी–पहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुलमान घिसिङले सरकारको पूर्वतयारीका कारण भौतिक पूर्वाधारमा क्षति भए पनि विगतमा जस्तो सडकमा यात्रा गरिरहेका यात्रुहरूको धनजनको क्षति हुन नपाएको बताए।

गत वर्षको असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुबाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो । रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना४ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा३ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको थियो ।

गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा गर्न नहुने भन्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता गर्‍यो । न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारीसाधन बन्द गर्न सके । यस वर्षजस्तो न त कडाइका साथ सवारीसाधन आवागमनमा रोक लगाइयो । गत वर्ष सरकार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीमा चुकेको सम्बन्धित विज्ञहरुले टिप्पणी गरेका थिए । 

गत वर्षको असोज १०, ११ र १२ गतेको भारी वर्षाले काठमाडौँ उपत्यकाको अधिकांश भाग डुबाउनमा परेको थियो । यहाँका बासिन्दाले नसोचेको विपद् बेहोर्नुपर्‍यो  । काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै पनि कयौँलाई तर्साइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । अठार जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् । 

गत असार २८ गते पनि नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको डेब्रिज बहावका कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीको मनमस्तिष्कमा नमीठो सम्झना बनेर रहेको छ । यस पटक सरकारको राम्रो पूर्वतयारीका कारण  अप्रिय घटनाहरू हुन पाएन । 

    पूर्वसूचनाको वेवास्ता गर्दा मानवीय क्षति

जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै भारीदेखि अति भारी वर्षाका कारण बाढी–पहिरो जस्ता धनजनको क्षति हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको थियो । विभागले दिएको पूर्वसूचना बेवास्ता नगरेको भए लाङ्टाङमा पदयात्राका लागि निस्किएका भक्तपुरका चार जना बेपत्ता हुने थिएनन् ।

पदयात्रा त पछि पनि जान सकिन्थ्यो नि । खतरा छ भन्ने सूचना आउँदा आउँदै त्यसरी घरबाट निस्किनु हुन्थेन । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा भक्तपुर जिल्ला ठिमी नगरपालिका–३ एकै परिवारका  संस्कृति श्रेष्ठ,  किसन श्रेष्ठ र सङ्गीता श्रेष्ठसहित भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ वेपत्ता छन् । यस्ता अप्रिय घटनाका उदाहरणले अब भने सबैलाई पाठ सिकाओस् ।

    पहिरोको पनि पूर्वसूचना आवश्यक

जल तथा मौसम विज्ञान विभागले बाढीको प्रभाव पर्ने सम्भावित क्षेत्रहरूमा पूर्वसूचना दिएर सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा बस्न सहयोग गर्‍यो । तर बाढीको जस्तै पहिरोको पनि पूर्वसूचना प्रणालीको विकास नभएकै कारण पछिल्ला वर्षहरूमा पहिरोबाट हुने धनजनको क्षति बढ्दै गएको बताउँछन्, पहिरोविद् डा. सुवोध ढकाल ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ जना, माङ्सेवुङ गाउँपालिका–१ मा तीन, देउमाई नगरपालिका–५ मा आठ, जोगमाई गाउँपालिकामा आठ, सन्दकपुर गाउँपालिकामा छ र फाकफोकथुम गाउँपालिकामा एक जनाको ज्यान गएको उनले जानकारी दिए ।

पहिरोविद् ढकालले पहिरोको जोखिम न्यूनीकरण गर्न पहिरो जानसक्ने स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुपर्ने, त्यस्ता स्थानमा नबस्न सूचना दिनुपर्ने, पहिरोको पूर्वसूचनामा राज्यको लगानी बढाउनुपर्ने, समयमा खोज तथा उद्दार कार्यलाई प्राथमिकता दिनुपर्ने, जथाभावी रूपमा खनिने सडक पूर्वाधार रोक्नुपर्ने, वातावरणमैत्री विकासमा जोड दिनुपर्ने, पहिरो रोकथामका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।

‘नेपालजस्तो भौगोलिक मुलुकमा पहिरोको वर्षेनी जोखिम छ । कतिपय स्थानमा पुराना पहिरोमा बस्ती बसेका छन् । पुराना पहिरो दोहोरिएर जाने सम्भावना हुन्छ । तसर्थ, पहिरोको जोखिम भएको बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्छ,’ उनले भने, ‘सडक यातायात आवागमनमा रोक लगाएर अझ ठूलो क्षति हुन पाएन । दीर्घकालीन समाधानका लागि जोखिम भएका स्थानमा सुरुङ निर्माण गर्नुपर्छ । नेपालजस्तो मुलुकमा सुरुङमार्ग उचित विकल्प हो ।’

प्राधिकरणको तथ्यांक अनुसार गतवर्षको वैशाख १ गतेदेखि चैत १२ गतेसम्मको तथ्यांक हेर्दा पहिरोका कारण तीन सय ५९ जनाले ज्यान गुमाए भने ४८ जना अझै पनि बेपत्ता र दुई सय ८७ जना घाइते भएका छन् । सो अवधिमा तीन हजार छ सय ९२ घर आंशिक र दुई हजार १३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । पहिरोका कारण ४० पुलमा क्षति पुगेको छ ।

त्यसैगरी, बाढीका कारण ९७ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता र ४८ जना घाइते भएका छन् । भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका छन् भने ३८ जना घाइते भएका छन् । हावाहुरीका कारण सात जनाको मृत्यु र ४२ जना घाइते भएका छन् । हिउँपहिरोका कारण एक जना बेपत्ता भएका छन् । पहिरोको पूर्वसूचना नभएकै कारण क्षति बढी भएको प्राधिकरणको भनाइ छ ।

    विगतको घटनाबाट पाठ सिकेर अघि बढेका छौँ : प्राधिकरण

गत वर्षको असोजमा मुलुकले बाढी, पहिरो र डुबानको अप्रिय घटना सामना गर्नुप¥यो । राजधानीकै जनताको समयमा उद्धार हुन सकेन । पूर्वसूचना प्राप्त भए पनि अन्तरसरकारी निकायबीचको समन्वयको अभाव देखियो । पूर्वतयारी पर्याप्त थिएन । त्यसबेला सरकारले आलोचना समेत खेप्नुपरेको थियो ।

राससबाट

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ३ : २६ बजे

बाढीपीडितको उद्धार र राहत वितरणमा विराटनगर महानगरको पहल

विराटनगर- विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण महानगर क्षेत्रमा प्रभावित परिवारलाई

मनसुनी विपदमा परी ४८ को मृत्यु, छ बेपत्ता, २८ घाइते

काठमाडौं- पछिल्लो मनसुनी विपदमा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको

भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्धार

भैरहवा– अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान

यस्तो छ फागुन २१ मा हुने चुनावको कार्यतालिका

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका

युक्रेनी ड्रोन आक्रमणपछि रुसमा व्यापक बिजुली कटौती

एजेन्सी – युक्रेनबाट भएको तीव्र ड्रोन आक्रमणपछि रुसले आफ्नो सीमावर्ती