पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती « Khabarhub

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् ।

उनले २०७४ सालमा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन् ।

गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ्क प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो । सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उनको भनाइ छ ।

व्यवसायी गुरुङले भने, ‘फार्ममा हाल करिब २५० बोट ड्रागन फ्रुट लगाएको छु । अन्य फलफूलले वर्षमा एकपटक मात्र फल दिने भए पनि ड्रागनले वर्षमा नौ पटकसम्म उत्पादन दिन सक्छ । त्यही भएकाले आय स्थिर हुन्छ ।’

उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुँदै आएको छ । वार्षिक रूपमा चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको गुरुङले बताए । पहिले प्रतिबोट २०० देखि ४०० रुपैयाँ सम्ममा बिक्री हुने बिरुवा हाल मागअनुसार ५० देखि ७० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । ड्रागन फ्रुट भने खुद्रा मूल्य प्रतिकिलो ४०० र होलसेलमा ३५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

फार्ममा मासिक १५ हजार रुपैयाँ तलबमा दुई जना स्थायी कर्मचारी र दैनिक ७०० सय रुपैयाँ ज्यालादरमा दर्जनभन्दा बढी कामदारले काम पाइरहेका छन् । फल टिप्ने तथा मल हाल्ने याममा कामदार सङ्ख्या अझ बढी हुने गरेको छ । गुरुङले भने, ‘फार्म सञ्चालन, मलखाद्य, औजार तथा श्रमिक लागतवापत वार्षिक करिब आठ लाख खर्च हुने गरेको छ । गत वर्ष २२ मेट्रिकटन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष २७ मेट्रिकटनभन्दा बढी उत्पादन भएको छ । उत्पादित फल धरान, इटहरी, इनरुवा, विराटनगर र धेरैजसो काठमाडौं, पोखरा र हेटौँडासम्म बिक्रीका लागि पठाउने गरेको छु ।’

आम्दानी राम्रो भएकाले पछिल्लो समय यस खेतीतर्फ अन्य युवाको पनि आकर्षण बढ्दै गएको छ । अवकाशपछि कृषि उद्यममा लागेका घलेका अनुसार देशमै बसेर कृषि व्यवसायमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गर्न सकिने सम्भावना छ ।

हाल सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागन खेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरू पनि ड्रागन खेतीमा लागिरहेका छन् । (रासस)

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ५४ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका