‘टिपर चालकलाई प्रहरी र नेताले मान्छे मार्ने लाइसेन्स दिए’ | Khabarhub Khabarhub

शंखरापुर घटना

‘टिपर चालकलाई प्रहरी र नेताले मान्छे मार्ने लाइसेन्स दिए’


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामी कसैले पनि कल्पना गर्न सक्दैनौँ, मृत्यु ओछ्यानमासम्मै आइपुग्छ भनेर । चीर निद्रामा भएकालाई कहिल्यै नउठ्नेगरी सुताउँछ भन्ने सोच्न पनि सकिँदैन । यो स्वभाविक मृत्युका लागि भनिएको हो । कुनै जटिल रोगले थला परेको र उमेर पुगेको मान्छे ओछ्यानबाट सदाका लागि बिदा हुनुलाई अप्रत्यासित मान्न सकिन्न ।

तर, शुक्रबार बिहान सवा ३ बजे काठमाडौंको शंखरापुरस्थित एक आश्रयस्थलमा सुतिरहेका २१ वर्षीय आकाश नेपाली, सुमन नेपाली र ४५ वर्षीय हरिजनलाई बेगिएर आएको टिपरले थिच्यो । उनीहरू बोल्न नसक्ने अवस्थाका ‘घ’ वर्गका शारीरिक अपांगता भएकाहरू हुन् । उनीहरूको अभिभावकका रुपमा आश्रमबाहेक अरु कोही थिएनन् ।

शंखरापुर नगरपालिका–६ साँखुको सलम्बुटारमा द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमै उनीहरुको प्राणपखेरु गयो । आकाश र सुमन १० वर्षदेखि आश्रयमा थिए । हरिजनलाई चार वर्षपहिले प्रहरीले सडकबाट उठाएर आश्रममा छोडेको थियो ।

आश्रयका सबै आफ्ना सन्तानसरह भएकाले संस्थापक युवराज थापा विक्षिप्त छन् । उनले मलिनो स्वरमा भने, ‘२०६२ सालदेखि बेघरहरूको अभिभावक बनेर बसेँ । ती तीनैजना मेरा आफ्ना थिए । उनीहरूलाई गुमाउन पर्दा सहन गर्न गाह्रो भएको छ । धेरै बोल्ने अवस्थामा छैन । उनीहरूको न्यायका लागि लड्छु ।’

उक्त आश्रयस्थलमा ६१ जना छन् । तीमध्ये उक्त टहरामा १२ जनालाई राखिएको थियो । टहरा मुख्य सडकबाट थोरैै भित्र छ । शुक्रबार बिहान टिपर अनियन्त्रित हुँदै ती १० जना सुतिरहेको टहरामा बज्रियो । टिपर सुरूमा सडकछेउको बिजुलीको पोलमा ठोक्किएर टहराभित्र छिरेको थियो ।

घटनामा आधा भाग पोलनिरै छुट्टिएको थियो । आधा भाग अर्थात् अगाडीको थुतुनो टहराभित्र पस्यो । बिजुलीको पोलमा ठोक्किएकाले निकै ठूलो आवाज आयो । आवाजले स्थानीय ब्युँझिए । बिजुली आपूर्ति बन्द भएपछि स्थानीयले लाइट र मोबाइल बालेर टहरामा सुतिरहेकालाई निकाले ।

दुर्घटनामा घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी लगिएको थियो । तर, चिकित्सकले बिहान साढे ४ बजे तीनै जनालाई मृत घोषणा गरे । बा २ क ६५८० नम्बरको टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझी हुन् । उनले टिपर चलाउँदा चलाउँदै निदाएकाले दुर्घटना भएको बताएका छन् ।

स्थानीयवासी धर्म कार्की चालकको लापरबाही नै तीनजनाको ज्यान जाने कारण बनेको बताउँछन् । उनले खबरहबसँग भने, ‘त्यत्रो ठूलो बाटो, जहाँ २२ मिटर फराकिलो छ । बिहानको ३ बजे ब्यस्त सडक पनि होइन । चालकको लापरबाहीले दुर्घटना भएको हो । साँखुरोड भएर मेलम्ची जाने टिपर खस्नेबित्तिकै हामी पुगेका थियौँ ।’

उनका अनुसार टिपरको आधा भाग बाटो र आधा टहरामा छिरेको थियो । ‘दगुर्दै पुग्दा आधा टिपर बाटो र अर्को भाग आश्रमभित्र घोप्टिएको अवस्थामा थियो । टिपरले थिचेको देखेपछि मेशिन बोलाएर तान्यौँ । त्यहाँ तीनजना थिचिएका रहेछन्’, कार्कीले थपे, ‘हामीले मृत–जीवित ख्याल गरेनौँ । बेहोस् भएका होलान् भन्ने ठान्यौँ । जतिसक्दो अस्पताल लग्यौँ । तर अस्पताल पुर्याइसकेपछि डाक्टरले मृत घोषणा गरिदिइए ।’

दुर्घटनापछि त्यहाँका अरु निकै त्रसित रहेको उनले बताए । टिपर चालकलाई स्थानीय जनप्रतिनिधिले नै संरक्षण गर्ने भएकाले पटक–पटक लापरबाही गर्दै आएको कार्कीको आरोप छ ।

‘यस दुर्घटनाको जिम्मेवार जति चालक छन् । उति नै यहाँका स्थानीय प्रतिनिधि र प्रहरी हुन् । यसको उचित छानबिन गरी ज्यान गुमाएकाले न्याय पाउनुपर्छ ।आश्रममा भएका अरू तीनजनाको मृत्युले निकै त्रसित छन्,’ उनले भने ।

स्थानीयले यो आकष्मिक दुर्घटना नभएर नियोजित हत्या भएको आरोप लगाएका छन् । उनीहरुले भने, ‘ट्राफिक प्रहरी र नगरपालिकाले कानमा तेल हालेर बस्दा अनाथहरूले ज्यान गुमाउनुपर्यो । लापरवाही गरेर चलाएका टिप्परहरू नियन्त्रण गर्न ध्यानाकर्षण गराएका थियौँ । तर, हाम्रा कुराको सुनुवाइ नहुँदा अकालमा अनाथले ज्यान गुमाए । टिपर चालकलाई ट्राफिक प्रहरी र स्थानीय जनप्रतिनिधिले मान्छे मार्ने लाइसेन्स दिएका छन् । उनीहरूको संरक्षणमा नागरिकको जीवनको कुनै मूल्य छैन ।’

उनीहरूले टिपरलाई पूर्णरुपमा बन्द नगरे आफूहरू ढुक्कले बाँच्न नसक्ने बताएका छन् । सञ्चालक थापाका अनुसार अब आउने जेठ २० गते उक्त आश्रयको जग्गाको सम्झौता पनि सकिँदैछ । अब त्यहाँका बाँकीहरूको व्यवस्थापन पनि चुनौती बनेको छ । उनले त्यसका लागि सरकारसँग गुहार लगाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ४ : ३७ बजे

ढुकुटीको भ्वाङ बढाएका अर्थमन्त्री पौडेल तनावमा, खर्च बढाउन सचिव गुहारे

काठमाडौं – संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका

कांग्रेसमा विचित्र : नेताजति असहमत, निर्णयकर्ता अदृष्य !

काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार