रविले नै रोके सुमनाको राजीनामा | Khabarhub Khabarhub

रास्वपा

रविले नै रोके सुमनाको राजीनामा

महाधिवेशनसम्म कुर्न आग्रह, नेता थप्नुपर्ने जवाफ



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद/नेतृ सुमना श्रेष्ठले दिएको सहमहामन्त्री पदको राजीनामा रोकिएको छ ।

पार्टी सभापति रवि लामिछानेले नै उनको राजीनामापत्र स्वीकृत नगरी महाधिवेशनसम्म पर्खन आग्रह गरेपछि राजीनामा तत्काल स्वीकृत नहुने भएको रास्वपा नेताहरू बताउँछन् ।

सुमनाले चैत्र १७गते नै सभापति रवि लामिछानेलाई आफू सहमहामन्त्री पदमा नबस्ने भन्दै राजीनामा बुझाएकी थिइन् । तर, ४ वैशाखमा मात्र उनको राजीनामा पत्रबारे पार्टी केन्द्रीय समिति बैठकमा छलफल भएको थियो । छलफल क्रममा सुमनालाई अधिकांश केन्द्रीय सदस्यले महाधिवेशनसम्म पर्खन आग्रह गरेका थिए ।

त्यसपछि कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी), उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सुमानसँग छलफल गर्ने भन्दै केन्द्रीय कमिटी बैठक सकिएको थियो । बैठकमा कार्यवाहक सभापति अर्यालले राजीनामाका सन्दर्भमा छलफल गरेका थिए ।

‘कार्यवाहक सभापतिले एकपटक कुराकानी गरेर अहिले फिर्ता लिइदिनुहोस् भन्नुभएको रहेछ । त्यसपछि कुराकानी भएको छैन’, रास्वपाका एक नेताले खबरहबसँग भने, ‘वैशाखको तेस्रो हप्तातिर कार्यवाहक सभापतिले राजीनामा फिर्ता लिएर महाधिवेशनसम्म पर्खनुहोस् भन्नुभएको मलाई जानकारी छ । त्यसयता सुमनाजी शिक्षा उपसमितिको बैठकमा व्यस्त हुनुहुन्छ । यता कार्यवाहक सभापति पनि भारत-नेपाल सम्पर्क विभागको काममा हुनुहुन्छ । उपसभापति पनि भ्रमणतिर हुनुभयो, व्यापक छलफल हुन पाएको छैन । पुनः भेटेर कुरा हुन्छ रे !’

उपसभापति अर्यालले अहिले पार्टीमा थोरै नेता भएकाले ‘एक व्यक्ति एक पद’ लागू गर्न नसकिने भन्दै सुमनालाई महाधिवेशनसम्म पर्खन आग्रह गरेका थिए ।

जवाफमा सुमनाले ‘आफूले निर्णय गरिसकेकाले राजीनामा स्वीकृत हुनुपर्ने’ अडान राखेकी थिइन् । त्यसपछि बसेर छलफल गर्ने भन्दै दुई नेताबीचको कुराकानी सकिएको रास्वपा स्रोतको भनाइ छ ।

हुन त सभापति रवि लामिछानेले सहमारी ठगी प्रकरणमा पछिल्लोपटक पक्राउ पर्नुअघि नै सुमनालाई राजीनामाबारे विचार गर्न भनेका थिए ।

तर, सुमनाले फिर्ता लिइनन् । वैशाख लाग्दासम्म पनि सुमनाले राजीनामा फिर्ता नलिएपछि मात्र यो विषय रास्वपा केन्द्रीय समिति बैठकमा प्रवेश गरेको थियो ।

‘सभापतिले त आफूलाई राजीनामापत्र बुझाएकै दिन महाधिवेशनसम्म कुर्नू, निर्णय फिर्ता लिनू भन्नुभएको रहेछ’, रास्वपाका अर्का नेताले भने, ‘उहाँले फिर्ता लिनुभएको भए यो पत्रको विषय बाहिर आउने थिएन ।’

रास्वपाको विधानमा राजीनामापत्र महामन्त्रीलाई बुझाउनुपर्ने र सभापतिले स्वीकृत गर्ने व्यवस्था छ । सभापति लामिछाने हिरासतमा रहेकाले कार्यवाहक सभापति अर्यालले उनको राजीनामा स्वीकृत गर्नुपर्ने हुन्छ । तर अर्याल, उपसभापति वाग्ले र महामन्त्री बुर्लाकोटी नै सुमनालाई फकाएर राजीनामा फिर्ता गराउने तयारीमा छन् ।

कार्यवाहक सभापति अर्याल भने सुमनाको राजीनामाबारे छलफल हुन नपाएको बताउँछन् । ‘उहाँसँग मेरो दिनहुँ सदनमा भेट हुन्छ, उहाँ काममा हुनुहुन्छ, हामी पनि काममा ! यसबारे छलफल हुन पाएको छैन’, अर्यालले भने, ‘पार्टीमा उहाँले राख्नुभएको विचारको सम्मान हुन्छ, उहाँसँग थप छलफल हुन बाँकी छ ।’

यता सुमनाको सचिवालय पनि यसबारे अहिले बसेर गम्भीर छलफल हुन नपाएको बताउँछ । सचिवालय स्रोतले भन्यो,‘बसेर गम्भीर छलफल भएको छैन, कार्यवाहक सभापतिसँग त भेटघाट भइरहन्छ । तर, निष्कर्षमा पुग्नेगरी छलफल भएको छैन, महाधिवेशनसम्म पर्खन भन्नुभएको रहेछ ।’

सुमनाले किन दिएकी थिइन् राजीनामा ?

सुमनाले राजीनामा पत्रमा आफूले सहमहामन्त्री पदमा नबस्नुको कारण समेत खुलाएकी थिइन् ।

पहिलो कारण ‘एक व्यक्ति एक पद’को एजेन्डा कार्यान्वयनको विषय थियो । दोस्रो–‘पार्टीमाथि जनताको ठुलो आशा रहेकाले डेलिभरी क्षमता बढाउनुपर्ने र तेस्रो – पार्टीभित्र ‘कर्मकाण्डी प्रक्रिया’अन्त्य हुनुपर्ने उनको माग थियो ।

यतिमात्र होइन, ४ वैशाखमा बसेको केन्द्रीय कमिटी बैठकमा सुमनाले आफू संसदीय राजनीतिमा फिट हुने भएकाले आफ्नो जिम्मेवारीमा अन्य कुनै नेतालाई ल्याउन भनेकी थिइन् । बैठकमा उनले यदि कुनै बेला संसदीय दलको नेताको रूपमा प्रतिस्पर्धा गर्नुपरे आफू पछि नहट्ने समेत बताएकी थिइन् ।

‘मेरो स्वभाव पार्टीको काममा भन्दा पनि संसदीय काममा फोकस हुने खालको छ, म परिणाम अपेक्षा गर्छु,’ श्रेष्ठले बैठकमा भनेकी थिइन्, ‘लुकाउने कुरा नै छैन, यदि संसदीय दलको नेताका विषयमा विधानतः प्रतिस्पर्धा गर्नुपर्छ भने म तयार छु, तर मैले मागेको हैन ।’

बैठकमा उनले आगामी फागुनमा हुने महाधिवेशनमा आफू कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने दाबी समेत गरिन् । उनको इच्छा हेर्दा अहिले संसदीय दलको नेता बन्ने देखिन्छ । यही आशाले उनले आफू महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने भन्दै दलको नेताका लागि बाटो हेरिरहेकी छन् ।

सभापति लामिछानेको सांसद पद निलम्बनमा परेपछि रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको जिम्मेवारी सम्हालेका छन् । रास्वपाको विधानमा दलको नेताको अनुपस्थितिमा उपनेताले संसदीय दलको समन्वय गर्ने भनिएको छ ।

तर, दलका नेता तथा सभापति लामिछानेको संसद्‌ पद निलम्बनमा परेपछि सुमनाले नेतामा दाबी गरेकी थिइन् । यसबारे पार्टीमा छलफल समेत भएको थियो ।

तर, सभापति दलको नेताको जिम्मेवारीमा फर्कने आधारहरू भएकाले यो निर्णय गर्न उचित नहुने भन्दै रास्वपा पछि हटेको थियो ।

सुमनाको इच्छा दलको नेतामा मात्र हैन प्रमुख सचेतकको हैसियतका लागि पनि रहने देखिन्छ । रास्वपाका वर्तमान प्रमुख सचेतक सन्तोष परियार हुन् ।

के होला राजीनामा ?

रास्वपाका १२ पदाधिकारीमा ४ जना महिला छन् । त्यसमध्ये सुमना चर्चित र लोकप्रिय नेतृ हुन् । उनी पूर्वशिक्षामन्त्री समेत भइसकेकाले रास्वपा शुभचिन्तक र जनताले पनि उनलाई राम्रोसँग चिनेका छन् ।

‘गफभन्दा काम गर्नुपर्छ’ भन्ने सोच भएकी सुमनालाई पार्टीमा समेत वैचारिक धारको नेताका रूपमा लिने गरिन्छ । तर, उनको राजीनामाप्रति भने कुनै नेताहरू खुसी छैनन् । यसो हुँदा नेताहरू र समकक्षीको सुझावलाई मनन गरिन् भने उनको राजीनामा स्वीकृत हुनेछैन ।

तर, आफ्नो अडानमा एकोहोरो लागिन् भने सुमनालाई पनि पार्टीले फरक तरिकाले हेर्ने देखिन्छ ।

‘राजीनामाभन्दा पनि अहिले पार्टी जनयात्रा र महाधिवेशन केन्द्रित छलफल र प्रचारमा जानुपर्ने हो । उहाँले यो कुरा बुझ्नुभएको छ । सदन नचलेको बेला उहाँ त पार्टी निर्माण गर्न जिल्ला-जिल्ला जानुपर्ने हो,’ रास्वपाका अर्का एक नेता भन्छन्, ‘अहिले पार्टी अप्ठ्यारो अवस्थामा भएकाले सुमनालाई आफ्नो निर्णयबाट पछि हट्न कन्भिन्स गराउन प्रयास भइरहेको छ । सभापतिले यही कुरा उपसभापतिहरू र कार्यवाहक सभापतिलाई भन्नुभएको रहेछ, हामीले पनि यही भनेका छौँ ।’

रास्वपाका अर्का नेता पार्टीमा थोरैमात्र नेताहरू रहेकाले अहिले सुमनाको राजीनामा स्वीकृत नगर्न सभापति र आफूहरूले सल्लाह दिएको बताउँछन् । ‘हाम्रोमा दोस्रो/तेस्रो पुस्ताको नेता जन्मिनुभएको छैन । अहिले सुमनाको राजीनामा स्वीकृत हुँदैन’, ती नेताले भने, ‘उहाँले उठाएको एक व्यक्ति एक पदको एजेन्डा अब अर्को महाधिवेशन सम्ममा लागू गर्न सम्भव होला, तत्काललाई छैन । पार्टी नै बन्न पाएको छैन, नेता नै उत्पादन भएका छैनन् । सभापतिको पनि यही कुरा हो ।’

रास्वपा अहिले २५ जिल्लामा पहिलो चरणको ‘जनयात्रा’ अभियानमा छ । चैत २३ गते शनिबार सभापति लामिछानेको निर्वाचन क्षेत्र चितवन-२ बाट रास्वपाले ‘जनयात्रा’ सुरु गरेको हो ।

त्यसको अघिल्लो दिन उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । सोही दिन लामिछाने घरैबाट पक्राउ परेका थिए । अहिले उनी कारागारमै छन् ।

रास्वपाको पहिलो महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते चितवनमा गर्ने केन्द्रीय समितिले सर्वसम्मत रूपमा निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् :

सुमनाको राजीनामाले रास्वपा तरंगित

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ०० बजे

बडीमालिकाको पुन: निर्माण, बन्यो पुरातात्त्विक कलासहितको मन्दिर 

धनगढी– भूस्वर्ग बडीमालिका मन्दिरको पुननिर्माण गरिएको छ । सुदूरको स्वर्गकै उपमा

अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले पार्टी अनुशासन

चिमखोला-राहुघाट प्रसारण लाइनको परीक्षण थालियो

म्याग्दी– म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा

बायोपिक ‘क्याप्टेन साब’मा क्याप्टेन रामेश्वर थापाको भूमिकामा खगेन्द्र, नायिका सुरक्षा

काठमाडौं – क्याप्टेन रामेश्वर थापा बायोपिक ‘क्याप्टेन साब’ बन्ने भएका

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा