घुसुडी र ब्रह्मदेवको जगमा बसेको महेन्द्रनगर | Khabarhub Khabarhub

यात्रा संस्मरण

घुसुडी र ब्रह्मदेवको जगमा बसेको महेन्द्रनगर



खोइ ! गते र वार कुन थियो त्यो त अहिले स्मरण छैन तर म सम्झन्छु, साल भने विसं २०४० थियो । मेरो पिताजीको सरुवा कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर (हालको भीमदत्तनगरपालिका) स्थित घरेलु उद्योग कार्यालयमा भएको थियो । पिताजीसँगै म पनि पछि लागेर त्यहाँ पुगेको हुँ । भारतको बाटो हुँदै धनगढीसम्म आइपुगेका हामीले त्यहाँबाट एकाबिहानै बसको यात्रा थालेका थियौँ । अगाडितिर मुख (इन्जिन) निस्केको बस हामी गन्तव्यसम्म पुग्ने माध्यम बनेको थियो । त्यसबेलाको कुरा हो– समय र सडक अनुसारकै थियो बस । बसका झ्यालढोका कुनै दुरुस्त थिएनन् । बाहिरको धुलो सबै भित्रै आएर थुप्रिरहेको थियो । मलाई लाग्छ, धनगढीबाट महेन्द्रनगर जाने बाटो भर्खरभर्खर सञ्चालनमा आएको थियो । पुरै कच्ची । बाटाभरि धुलैधुलो ।

यस बाटोमा पर्ने नदी र खोलामा पुलहरू बनिसकेका थिएनन् । मलाई पुरापुर याद छ, धनगढीबाट महेन्द्रनगरसम्मको करिव ५५ किलोमिटरको दूरी छिचोल्न बसलाई पुरै दिन लागेको थियो । हामी  साँझ करिव पाँच बजेतिर त्यहाँ पुगेका थियौँ ।

बसबाट ओर्लेर बाहिर आउँदा कसैले कसैलाई सहजै चिन्न सक्ने अवस्था थिएन । म र पिताजी एकअर्काको शरीरको धुलो टकटक्याएर अगाडि बढेका थियौँ । सायद हामी त्यसबेला त्यहाँ ४/५ दिन बसेका थियौँ । पिताजीको पदस्थापन उद्योग विभागबाट सहकारी विभागमा भइसकेको थियो । उहाँले यहाँको घरेलु कार्यालयबाट रमानापत्र लिनुपर्ने थियो । पत्र लिएपछि हामी भारत वनवासा टनकपुरको बाटो हुँदै फर्केका थियौँ । त्यही बसाइका बेला कतै कुनै सिनेमा हलमा गएर मैले हिन्दी सिनेमा हेरेको थिएँ ‘प्रतिज्ञा’ । त्यसको एउटा गीत अहिले पनि सम्झन्छु– मैंजट यमला पगला दिवाना हो रब्बा इत्ति सि बात न जाना……….। सिनेमाको नायक मेरै नामका कलाकार भएकाले पनि होला मैले त्यो सिनेमा हेरेको र अहिलेसम्म पनि त्यो गीत सम्झेको ।

महेन्द्रनगरको मेरो पहिलो यात्रा र बसाई यही नै थियो । त्यसपछि त मैले यहाँको भूमिमा अनेकौँपटक टेक्नेमात्र होइन प्रशस्त समय बिताउने अवसर पाएँ । अहिलेसम्म कति पटक म यहाँ पुगेँ र कति बसेँ भन्ने यकिन गर्न म असमर्थ छु । तर अनेकौँ यस्ता सन्दर्भ छन् जो स्मृतिमा अझै ताजा छन् । साथीभाईसँगको उठवस, महाकाली पारीको एकान्तबस्ती दोधारा–चाँदनीको भ्रमण, शुक्लाफाँटामा वन्यजन्तुको सानिध्य र पत्रकारिताका अनेक यस्ता सन्दर्भ छन् जो सम्झनयोग्य त छ, तर यहाँ सबैको चर्चा गर्न कठीन हुन्छ ।

पूर्णागिरीको दर्शनपछि सिद्धनाथको दर्शन अनिवार्य
महेन्द्रनगर र राजविराज नेपालका यस्ता दुई शहर हुन जो प्रारम्भमै डिजाइन गरेर शहरी गुरुयोजना तयार गरी योजनाबद्धरूपमा निर्माण गरिएका हुन् । यस कारणले पनि यी आधुनिक शहर महत्वपूर्ण छन् । पूर्वपश्चिम राजमार्गको अन्तिम विन्दु यो सीमान्त सानो बजारमा तत्कालीन राजा महेन्द्रले २०१९–०२० सालतिर बस्ती र बजार बसाएका कारण महेन्द्रनगरका नामले प्रसिद्ध हुन पुगेको स्थानीयको धारणा छ । जे होस् २० र ३० को दशकमा योजनाबद्ध रूपमा यो नगर बसेको मानिन्छ । खासगरी ३० को दशकमा आएर एक सुन्दर व्यवस्थित शहरको रूपमा सरकारले ६३६ बिगाहा जग्गा अधिग्रहण गरी यो शहरको योजनाबद्ध विस्तार भएको देखिन्छ । पटकपटक गरेर मैले यो नगरका अधिकांश गल्ली घुमेपछिको मेरो निष्कर्ष हो– नेपालका अन्य नगरका तुलनामा व्यवस्थित र सुन्दर छ यो नगर । महाकाली नदी किनारभन्दा ३/४ किलोमिटर पूर्वमा अवस्थित यो व्यापारिक महत्वको नगर हालका दिनमा पश्चिम नेपालको मूल गेट–वेका रूपमा स्थापित छ ।

पूर्णागिरी मन्दिर (तस्बिर : आयुष परासरी)

अग्रज पत्रकार चित्राङ्ग थापाका अनुसार, हालका दिनमा कञ्चनपुर जिल्लाको सदरमुकामका रूपमा स्थापित महेन्द्रनगर अर्थात भीमदत्तनगर पहिला घुसुडी बजारका नामबाट चिनिन्थ्यो । यस क्षेत्रमा घुसुडीभन्दा पुरानो बस्ती ब्रम्हदेव मण्डी (बजार) हो । राजा महेन्द्रले यही मण्डीबाट व्यापारीलाई बोलाएर महेन्द्रनगरमा स्थापित गराएका थिए । महेन्द्रनगरबाट करिब १४ किलोमिटरको दूरीमा अवस्थित ब्रम्हदेव कञ्चनपुरको ऐतिहासिक बजार हो । त्यसताका ब्रम्हदेव सुदूरपश्चिमका बासिन्दाका लागि प्रमुख व्यापारिक शहर थियो । ब्रम्हदेव यहाँका किसान नेता भीमदत्त पन्तको क्रान्ति थलोको रूपमा पनि चिनिन्छ । बजारमा सिद्धनाथ बाबाको प्राचीन मन्दिर छ ।

सिद्धनाथ मन्दिर (ब्रह्मदेव)

सीमापारी टनकपुर नजिक चुरे पहाड शृङ्खलामा पूर्णागिरी देवीको प्राचीन मन्दिर छ । प्रत्येक वर्ष फागु पूर्णिमादेखि असारसम्म त्यहाँ मेला लाग्ने हुनाले यो समयमा ब्रम्हदेव बजार चहलपहल बढेर गुल्जार हुने गरेको छ । मेला भर्न भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायतका सीमावर्ती सहर र नेपालतर्फबाट पनि हजारौँको सङ्ख्यामा पूर्णागिरी देवीको दर्शन गर्न श्रद्धालुहरू पुग्ने गर्छन् । पूर्णागिरी देवीको दर्शनपछि सिद्धनाथ बाबाको दर्शन गर्नैपर्ने मानिन्छ । पूर्णागिरीको दर्शन त मैले पनि गर्ने अवसर पाएँ । तर खै के मिलेन कुन्नि अनेकौँ पटक महेन्द्रनगर जाँदा पनि ब्रह्मदेव बजार पुगेर सिद्धनाथको दर्शन गर्ने तारतम्य मिलेको छैन । अहिले महेन्दनगरबाट यहाँ जाने बाटोको आधुनिकीकरण गरिएपछि व्यापारिक तथा आध्यात्मिक दृष्टिले यो स्थानको महत्व बढेको छ भन्दा असत्य ठहर्दैन ।

महाकाली अञ्चलका तीन पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका मूलवासीको अधिपत्य रहेको यो नगर भारतसँगको सम्बन्ध स्थापना र निर्वाहका दृष्टिले पनि महत्वपूर्ण छ । गड्डाचौकी सीमाबाट अगाडि बढेर भारतीय बजार वनवासा पुगेपछि त्यहाँबाट भारतको जुनसुकै स्थानसम्म पनि पुग्न सकिन्छ । त्यसवेला नेपालको दार्चुला र बैतडी जान पनि यही टनकपुर र पिथौरागढको बाटो प्रयोग हुन्थ्यो । मेरा पिताजी २०३२ सालदेखि ०३४ सालसम्म दार्चुलामा कार्यरत रहँदा हामीले पनि यही टनकपुर र पिथौरागढको बाटो प्रयोग गरेको म सम्झन्छु । अहिले भने त्यो बाध्यताको अन्त्य भएको छ । अब नेपालबाटै नेपालको सीमानासम्म पुग्न सकिने अवस्थाको सडक निर्माण भएको छ । नेपालमा विकास हुँदै नभएको त कहाँ हो र ? तर गति भने अपेक्षित छैन, कम छ । 

अनेक सन्दर्भ अनेक स्मृति
मैले हेर्दाहेदै यो नगरमा आमूल परिवर्तन आएको छ । म आफूलाई यहाँको उन्नति र प्रगतिको कुनै न कुनै रूपमा साक्षी मान्दछु । मैले यस नगरलाई कम्तिमा २०४० सालदेखि निरन्तर नजिकबाट हेर्ने, नियाल्ने अवसर पाएको छु । मलाई सम्झना छ २०५६ सालतिरको महेन्द्रनगर । हिमालय टाइम्स दैनिकमा कार्यरत रहेका समयमा म त्यहाँ कमैयासम्बन्धी एक पत्रकारवृत्तिका सन्दर्भमा गएको थिएँ । खासै चिनेका साथी थिएनन् । मैले त्यसबेलासम्म चिनेका र नाम सुनेका त्यहाँका पत्रकारमा अग्रज पत्रकार रामबहादुर चन्द, कर्णदेव भट्ट, तेजबहादुर भण्डारी, ऋषिराज लुम्साली, चित्रांग थापा, खेम भण्डारी, डिआर पन्त, श्याम भट्ट, कर्ण बोहरा, रवि धामी, भाउपन्थी, देवीप्रसाद ओझा, विष्णु अवस्थी, यज्ञराज जोशी, रमेश लेखक, लक्ष्मीराज जोशी, माधव धामी र रामसिंह ठगुन्ना आदिको नाम सम्झन्छु । यसमध्ये रवि धामी मसँगै हिमालय टाइम्समा महेन्द्रनगरबाट कार्यरत थिए भने तेजबहादुर भण्डारी र म नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा थियौँ । भण्डारी प्रदेश उपाध्यक्ष र म केन्द्रीय सदस्य । तर त्यसबेलाको यात्रामा अवस्था नै यस्तो आइपऱ्यो कि मैले कसैलाई पनि भेट्न सकेको थिइनँ । माथि उल्लेख गरिएकामध्ये चन्द, भट्ट, बोहरा र ओझाले महाप्रस्थान गरिसकेकाले उनीहरूसँग अब कहिल्यै भेट हुन सम्भव छैन । यी माथि उल्लेख गरेका व्यक्तिहरू मध्ये लुम्साली, लेखक, जोशी जिल्ला तहबाट हुँदै राष्ट्रिय राजनीतिमा रहेका छन् । म हिमालय टाइम्समा कार्यरत रहँदा भाउपन्थीका थुप्रै रचना प्रकाशित हुनुअघि नै मैले अध्ययन गर्ने मौका पाउनु मेरा लागि अविस्मरणीय छ ।

त्यतिबेलाको एउटा कुरा सम्झन्छु– त्यसवेला राससमा कार्यरत थिए मेरा पुराना मित्र वीरेन्द्र कर्ण । म उनैको निवासमा एक रात पाहुना लागेको सम्झना छ । महेन्द्रनगर त्यसबेला ड्राइ एरिया (मद्यपान निषेधित क्षेत्र) का रूपमा परिचित थियो । यस आधारमा त्यहाँ मद्यपान बिक्री वितरण प्रतिबन्धित थियो । त्यहाँ पुग्दा फरक अवस्था देखेँ र एउटा  पत्रकारका रूपमा मैले त्यसलाई रिपोर्टिङको विषय बनाउन चाहेँ । तर यो कुरा त्यहाँ प्रचारित भएछ । मैले स्थानीय, प्रहरी र प्रशासनको अपेक्षित सहयोग प्राप्त गर्न नसक्दा समाचार तयार गर्न अप्ठ्यारो महसुस गरेँ । एक किसिमले त्यहाँबाट जोगिएर धनगढी पुगेँ र त्यहाँ पत्रकार करुणाकर पाण्डेसँग बसेको कुरा अहिले पनि म गजबले सम्झन्छु । 

महाकाली पारीको नेपाल दोधाराचाँदनी
शायद त्यसैबेला अर्थात २०५६ मै हो, मैले महाकालीपारिको बस्ती दोधाराचाँदनीलाई जोड्न झोलुङ्गे पुल बन्दैछ भन्दै सुनेको थिएँ । महाकालीपारि पनि नेपाली भूभाग छ भन्ने मलाई के थाहा ? पुल बन्ने जानकारीले ममा यस विषयले निकै कौतुहल जन्माएको थियो । खोज्दै जाँदा मैले थाहा पाएँ यस क्षेत्रमा नेपालको सीमान्त भूमि महेन्द्रनगर होइन दोधाराचाँदनी रहेछ । तर यो गाउँमा नेपालतर्फबाट जान सकिँदो रहेनछ त्यसैले पैदलै र मोटरसाइकलमा आवतजावत गर्न भए पनि महाकाली नदीमाथि पुल बन्ने भएछ । म त्यसपछि एकपटक २०५८ सालको कुनै महिनामा यहाँ आउँदा थाहा पाएको थिएँ– दोधाराचाँदनी जोड्ने पुल सञ्चालनमा आइसकेको छ । मैले आफूलाई नियन्त्रण गरिराख्न सकिन र एकजना साथी (सायद रवि धामी)लाई लिएर पुल हेर्न हान्निएको थिएँ । हेर्दा निकै आकर्षक अनुभूति थियो । निर्माण संरचना पनि त्यतिकै आकर्षक । म पुलमा चढेर पारि दोधाराचाँदनीसम्म पुगेको थिएँ । महाकालीपारिको नेपाली भूमि । यो भूमिसँग यही नै मेरो पहिलो साक्षात्कार थियो ।

महाकाली नदीमाथि एक हजार चार सय मिटर लामो झोलुङ्गे पुल निर्माण भएको रहेछ । यो झोलुङ्गे पुल त्यसबेला नेपालकै सबैभन्दा लामो र दक्षिण एसियाको दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चर्चित थियो । तर अहिलेको नेपालमा योभन्दा लामा पुल अन्यत्र बनिसकेका छन् । पुल बनेपछि दोधाराचाँदनी नेपालको मूलधारसँग जोडिएको हो । महेन्द्रनगर आउने आगन्तुकहरू यहाँ पुग्ने गरेका छन् । झोलुङ्गे पुल बन्नुअघि हिउँदमा घण्टौँ बगरमा हिँडेर, डुङ्गा र भारतको वनबासाको पुल भएर नेपाल आउनुपर्ने बाध्यता थियो । त्यसपछि त मैले अनेकौँपटक त्यो पुल हेर्ने र पुल हुँदै महाकाली तर्ने अवसर सँगालेको छु ।

अहिले त अवस्थामा व्यापक परिवर्तन आएको छ । कुनैबेला झोलुङ्गे पुलको अभावको समस्याका कारण दोधारा चाँदनीका नेपाली ठूलो मारमा थिए । अझ वर्षातको समयको कहर त अकल्पनीय नै हुन्थ्यो । यो समस्याको अहिले अन्त्य भएको छ । यहाँका मानिसमा तीव्र स्थानान्तरणको प्रवृत्ति हावी भएको देखिएको थियो । अहिले त्यही क्षेत्रमा चार लेनको पक्की पुलले जोडिएको छ र विगतमा स्थानान्तरण भई अन्त बसाइ सरेका पनि हालका दिनमा यहाँ फर्कन थालेका छन् । भारतसँग व्यापारिक नाका खोल्नका लागि सरकारले महेन्द्रनगरस्थित महाकाली नदीमा चारलेनको पक्की पुल निर्माण गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साल भदौ १५ मा पुलको शिलान्यास गरेका थिए । पुलसँगै पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधाराचाँदनी–१ मलेरिया नालासम्म (सुख्खा बन्दरगाह स्थल) ६ लेनको आठ किलोमिटर लामो सडक निर्माण भइसकेको छ ।

अहिले महाकालीपारिको दोधारा–चाँदनी जान र महेन्द्रनगर आउन त्यही सडकको प्रयोग भइरहेको छ । पुल निर्माण हुनुअघि भारतीय बाटो प्रयोग गरेर आवतजावत गर्नुपर्ने बाध्यता थियो । २०७९ सालको कुनै महिना हुनुपर्छ, मैले पत्रकार शितल महतो, शेरबहादुर सिंह र महादेव अवस्थीका साथ यस क्षेत्रमा एक रात बिताएको छु र साँझ तथा बिहान दुवै पटक पुलबाट महाकाली नदी, दोधाराचाँदनीका झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न अवसर प्राप्त गरेको छु । साँझको बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्वीर कैद गर्न सकिने भएकाले अहिले यहाँ पर्यटकको आकर्षण बढेको छ । मैले यस नगरको मझगाउँमा भएको विमानस्थल (जो अहिले सञ्चालनमा छैन) को चर्चालाई पनि महत्वपूर्ण मानेको छु । एकताका काठमाडौं, नेपालगञ्ज र धनगढीका साथै सुदूरपश्चिमका पहाडी जिल्लामा यहाँबाट विमान सेवा सञ्चालन हुन्थ्यो तर अहिले विमानस्थल बन्द छ । हाल उक्त विमानस्थलको स्तरोन्नति भइरहेको छ र निकट भविष्यमा हवाई सेवा सञ्चालन हुने कुराले स्थानीयमा खुशी छाएको छ ।

केही कुरा पत्रकारिताकै
मेरा लागि यस नगरका दुईवटा सन्दर्भ निकै महत्वपूर्ण छन् । पहिलो शायद २०६४ सालतिरको हो । यस वर्ष नेपाल पत्रकार महासंघको विधान सम्मेलन यहाँ भएको थियो । बन्द सत्रमा महासंघलाई समावेशी बनाउने बहसको प्रारम्भ यही सम्मेलनबाट भएको थियो र कुनै न कुनै रूपमा यो बहसको एक पात्र म पनि थिएँ । मलाई भन्न कुनै शंकोच छैन २०६५ सालमा मलाई महासंघको अध्यक्षको उम्मेदवार बन्न महेन्द्रनगरको यो सम्मेलनले पृष्ठभूमीको भूमिका निर्वाह गरेको थियो । यस्तै २०७३ सालमा मेरो छोरा आदित्येन्द्रको विद्यालयीय अध्ययनका लागि भारतको पिथौरागढमा नामांकन गरिएको थियो । छोरालाई विद्यालय लाने ल्याउने सन्दर्भमा मैले यस नगरको अनेकौँ पटक यात्रा गर्नुका साथै थुप्रै समय बिताएको छु । यहाँ आउँदा थुप्रै साथीसँग उठवसको अवसर प्राप्त भएको छ ।

धेरैको सहयोग मेरा लागि महत्वपूर्ण छ । यस क्रममा पत्रकारहरू अमरबहादुर चन्द, पुष्कर भट्ट, तेजसिंह मुस्कान, नेपाली कांग्रेसका नेता आशिष खत्री र होटेल व्यवसायी निर्मल पाठक, सामाजिक अभियन्ता नरेश ओझाको सहयोगी भूमिकाको म विशेष प्रशंसा गर्न चाहन्छु । यसै क्रममा पत्रकारहरू हरि जोशी, खगेन्द्र पन्त, लक्ष्मण तिवारी, केशव सावद, लक्ष्मणदत्त पन्त, राजेन्द्रनाथ, राजेन्द्र विष्ट, दुर्गा उपाध्याय, राजेन्द्र पनेरु, राजेन्द्र भट्ट, युवराज घिमिरे, चक्र महता, प्रकाश ठकुरी (हाल अवस्था अज्ञात), हरिष भट्ट, शंकर धामी, सुरेश धामी, सुरज कुवर, गोकुल जोशी आदिसँग प्राप्त गरेको सान्निध्य मेरा लागि खास छ । 

शुक्लाफाँटामा बाह्रसिङ्गाका झुण्ड
यस नगरको भ्रमणको कुरा गर्दैगर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वेदकोट नगरपालिकास्थित सिद्ध शिवलिंगेश्वर धामको चर्चा गर्नु पनि युक्तिसङ्गत ठानेको छु । चुरे फेदीमा ‘स्तम्भजस्ता’ अद्भूत प्राकृतिक संरचना करिव एक किलोमिटर क्षेत्रमा फैलिएको छ । यो स्थल सिद्ध शिवलिंगेश्वर धामले परिचित छ । मुख्य आकर्षण भनेका स्तम्भजस्ता प्राकृतिक संरचना हुन् । जसलाई भक्तजनले शिवलिङ्ग मानेर श्रद्धापूर्वक पूजा अर्चना गर्छन् । स्थानीय बासिन्दाका अनुसार शिवशक्तिको क्रिडास्थलका रूपमा पनि यो ठाउँको महत्व छ । २०७० सालपछि चर्चामा आउन थालेको यो ठाउँको अवलोकन मैले २०७५ सालतिर गरेको हुँ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो । शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु हेर्न मिल्ने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइ शुल्लाफाँटा हुने गरेको छ । यस निकुञ्जको फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । बाह्रसिंगाको टाउकोमा सिङका छ–छ वटा हाँगा हुन्छन । आँखै अगाडि देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने आगन्तुकको मन लोभ्याउने गरेको छ । मेरो मन पनि लोभिएको थियो । मैले यस निकुञ्जको कम्तिमा तीनपटक अवलोकन गरेको छु । एकपटक अमर, पुष्कर र लक्ष्मण साथमा थिए भने दोस्रो पटक शेरबहादुर र महादेवसँग निकुञ्जको अवलोकन गर्ने अवसर पाएको थिएँ । यस्तै एकपटक संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको द्वन्द्व रोकथाम कार्यक्रमका लागि परामर्शदाताका रूपमा कार्यरत रहँदा अजय दास, अर्जुन कुशवाहा र मनिष गौतमसँग पनि निकुञ्ज गएर वाह्रसिंगा हेरेको झिनो सम्झना छ । उक्त फाँटमा पाटेबाघसमेत देख्न सकिने भए पनि मैले भने त्यहाँ बाघ दर्शन गर्न पाएको छैन । फाँटमा पर्यटकका लागि काठका चारवटा मचान बनाइएका छन् । उक्त मचानबाट पर्यटकले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न र तस्बिर लिने गरेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । सम्बद्ध पक्षका अनुसार निकुञ्जमा हाल दुई हजार तीन सय २३ बढी बाह्रसिंगा छन् ।

म अहिले ती बाह्रसिंगाभन्दा धेरै पर बसेर यो सम्झनापत्र कोरिरहे पनि लाग्छ बाह्रसिंगाका झुण्ड यतै कतै मेरै वरिपरि छन् ।

तस्बिरहरू : केशव भट्ट

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ११ : ३२ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का