रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ? | Khabarhub Khabarhub

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा छन् । 

उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरेर मुलुकको अन्तिम अदालत सर्वोच्चले रविलाई थुनामा राख्न आदेश दिएको हो । 

सर्वोच्चले ‘रविलाई तत्काल निर्दोष भन्न नमिल्ने’ ठहर गरेको छ । रवि मुलुकको अन्तिम अदालतमा पुग्दासमेत निर्दोष देखिने आधार भेटिएको छैन । 

रवि वित्तीय अपराधको मुद्दामा जोडिएका आरोपित हुन् । उनकै कारण लाखौँँ भुईँ मान्छे पीडित छन् । कलाकार स्वयं सहकारी ठगीबाट पीडित बनेका छन् । 

यो घटनालाई रविको पार्टीले राजनीतिक प्रतिशोध भनेको छ । अर्थात्, उदीयमान पार्टीलाई गर्भमै तुहाउन देशका शीर्ष दलले प्रतिशोध लिई न्यायपालिकामा प्रभाव पार्दा रवि थुनामा पुग्नु परेको रास्वपाको बुझाइ छ । 

सभापतिमाथि राजनीतिक प्रतिशोध भएको आफ्नो दाबी आम जनमानसमा स्थापित गर्न रास्वपा अहिले हस्ताक्षर अभियानमा छ । जुन हो– रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर । 

यो आफैँमा अनौठो छ । यसअघि पनि हस्ताक्षर संकलन अभियान नभएको होइन । तर, पीडितको पक्षमा हुन्थ्यो । 
रविलाई अदालतले पीडकमा रूपमा चिन्छ । यो मुद्दा फैसला नहुने बेलासम्म उनी पीडक नै हुन् । यसरी पीडकको पक्षमा हस्ताक्षर संकलन भएको यो पहिलो पटक हो । 

अझ वित्तीय र निजी मामलाको मुद्दामा फसेको नेतृत्वलाई जोगाउन पार्टीले यसरी अभियान चलाएको यो पहिलो पटक हो । 
यो अभियानलाई रास्वपाले पार्टीको केन्द्रीय कार्यालय, मोफसलका पार्टी कार्यालय, सडक र चोकसम्म फैलाएको छ । उक्त स्थानहरूमा हस्ताक्षर संकलन गर्न बुथ स्थापना गरिएको छ । 

रविपत्नी निकिता पौडेलले भीआईपी लक्षित गरी राजदरबारको उत्तर ढोकाको इमागो क्याफेमा एक बुथ खडा गरेकी छन् । 
जहाँ फ्यान फलोअर्स भएका कलाकार र सेलिब्रेटीहरुलाई हस्ताक्षर गर्न निम्तो पठाइन्छ । गत शुक्रबार कलाकारको एक टोली नै पुगेको थियो ।

स्रोतका अनुसार निकिताको तर्फबाट आग्रह गरेपछि नै कलाकार हस्ताक्षर गर्न पुगेका हुन् ।
 
स्रोत भन्छ– ‘राजनीतिक किचलोमा फस्न नचाहेर धेरै जसो कलाकारहरू जान मानेका छैनन् । तर, धेरै कलाकारलाई हस्ताक्षर गर्न निम्तो चाहिँ गएको छ ।’

स्मरण रहोस्, निकिताको फिल्म क्षेत्रमा पकड छ । उनको बुवा उद्धव पौडेल गोपीकृष्ण हलका मालिक हुन् । निकिता आफैँ चलचित्र विकास बोर्डको निवर्तमान अध्यक्ष समेत हुन् । 

उनका तर्फबाट निम्तो पुगेपछि व्यक्तिगत सम्बन्धका लागि केही कलाकार अवश्य उपस्थित हुने नै भए ।  जो गएर हस्ताक्षर पनि गरे ।

तथ्य के हो भने– यो मुद्दामा अदालतले रास्वपालाई चिन्दैन । पार्टी पक्ष–विपक्षी केही होइन । यो रविको नितान्त व्यक्तिगत मुद्दा हो । यस मुद्दामा सामना गर्न रविलाई उनकै नेतृत्वको पार्टीले साथ दिएको मात्रै हो । 

रविको मुद्दा पार्टीले अंगिकार गर्नुलाई कतिको ‘राजनीतिक मूभ’ मान्न सकिन्छ ? यो पार्टीको राजनीतिक चरित्रभित्र पर्छ ? चौथो दल रास्वपा जनमत विरुद्धमा त छैन ? 

यी तमाम प्रश्नको जवाफ रास्वपाले एक दिन पाइ पाइ चुकाएर दिनै पर्छ । यी प्रश्न केन्द्रित बहस हुन आवश्यक छ ।

लोकतन्त्र आफैँमा विधिको शासन हो । राज्य व्यवस्थालाई सन्तुलित बनाउन राज्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायालयकाको परिकल्पना भएको हो । 

रविको मुद्दामा हस्ताक्षर संकलन गर्नु पार्टीको रणनीति रहेको प्रष्ट छ । यो रणनीतिको नतिजा कस्तो देखिन्छ, त्यो थाहा पाउन ०८४ को चुनाव पर्खँदा हुन्छ । 

अब कलाकार केन्द्रित नै बनौँ । कलाकार दलको रणनीतिमा कन्भिन्स हुन मिल्छ ? रास्वपाको रणनीतिमा कलाकार जोडिनुलाई सामान्य मान्न मिल्छ ? के कलाकारको हस्ताक्षर मुद्दामा देखिने हो ? कस्तो अभियानमा सहभागिता जनाएँ भनेर कलाकारले ख्याल गरेका छन् ? किनकि रविको मुद्दाको पीडित भुईँ मान्छे हुन् । जो उनीहरूकै दर्शक हुन् ।

कलाकारहरूको हस्ताक्षरले सन्देश गएको छ– उनीहरूको रविको मुद्दामा पार्टीको दाबी ‘प्रतिशोध’मा कन्भिन्स छन् ।

कलाकारले हस्ताक्षर गरेको विषयमा बुद्धिजीवीहरूको ध्यानाकर्षण भएको छ । यस विषयमा उनीहरूले प्रश्नसमेत उठाएका छन्, ‘पीडकको पक्षमा कलाकारले हस्ताक्षर गर्नु उनीहरूको व्यावसायिक चरित्रभित्र पर्छ ?’

कलाकार दीपक राज गिरी रविको पक्षमा हस्ताक्षर गर्नु कलाकारको व्यावसायिक चरित्रभित्र नपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘कलाकार यसरी कुनै अभियानमा प्रत्यक्ष जोडिनु उचित होइन । यसले गलत सन्देश जान्छ । उहाँहरू कलाकार हो । कलाकै माध्यमबाट यस्ता विषयमा प्रवेश गर्नुपर्छ । अन्य मञ्च हुँदा हुँदै प्रत्यक्षरुपमा किन जोडिनु ? कलाकै माध्यमबाट यस्ता विषयमा प्रवेश गर्दा प्रभावकारी हुन्छ । व्यावसायिक चरित्र पनि देखिन्छ ।’

कलाकार कुनै पनि पार्टीको आस्था वा रणनीतिसँग जोडिनुलाई व्यक्तिगत स्वतन्त्रता मान्नुपर्ने बुझाइ चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको छ ।

उनी भन्छन्, ‘हस्ताक्षर गर्नेहरूले सही वा गलत गरे मैले भन्न मिल्दैन । त्यसलाई कलाकारका रूपमा भन्दा पनि व्यक्तिगत विचारका रूपमा ग्रहण गर्न सकिन्छ । यहाँ अधिकांश कलाकार कुनै दलसँग आस्था राख्ने नै त छन् ।’

यस्ता विषयमा प्रत्यक्ष जोडिनुलाई ‘स्वतन्त्र व्यावसायिक कलाकार’को चरित्र मान्न संकट हुने उनको आशय छ ।

खगेन्द्रको चरित्र

नायक विपिन कार्की, गायक खेम सेञ्चुरी, निर्देशक दीपेन्द्र के खनाल, राजाराम पौडेल, किरण केसी ‘राता मकै’लगायत सक्रिय कलाकार हस्ताक्षर अभियानमा खुलेरै सहभागी भएका छन् । 

यी मध्ये चर्चामा भने खगेन्द्र लामिछाने छन् । कारण– उनकै दोहोरो चरित्र हो ।

गत जेठ ३० मा उनको फिल्म ‘महाभोज’ प्रदर्शनमा आएको थियो । यस फिल्म सहकारी ठगीको विषयमा बनेको छ । 

केही समीक्षकले यो फिल्म ‘रवि’को घटनाक्रमसँग मिल्दो जुल्दो छ समेत भनेका थिए । अर्थात्, त्यो फिल्मले ‘सहरकारी ठगी कसरी हुन्छ ?’ भन्ने विषयलाई राजनीतिक कोणबाट देखाएको छ । जुन फिल्मको नायक खगेन्द्र पनि हुन् । 

‘महाभोज’ प्रचारका बेला ‘सहकारी पीडितको आवाज स्वरूप’ फिल्म बनाइएको बताइएको थियो । अहिले तीनै नायक खगेन्द्र लामिछाने ‘सहकारी पीडक’को पक्षमा हस्ताक्षर गर्न पुगेका छन् । 

सामाजिक सञ्जालमा उनको ‘दोहोरो चरित्र’बारे विभिन्न टीकाटिप्पणी भएको छ । ‘फिल्ममा सहकारी पीडित भुइँमान्छे हुने भनेर देखाउने, बाहिर आफ्नो स्वतन्त्र कलाकारको चरित्र बिर्सिएर पीडकको पक्षमा हस्ताक्षर गर्ने’ भन्दै उनको टीकाटिप्पणी भएको छ । 

हस्ताक्षर र कलाकारिताको चरित्र 

धेरै सिनेमाकर्मी र कलाकार रविको हस्ताक्षर अभियानमा जोडिन चाहँदैनन् । यस विषयमा आफ्नो प्रतिक्रिया मिडियामा नआओस् भन्ने पक्षमै उनीहरू छन् । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी पनि यस विषयमा टीकाटिप्पणी नगर्ने मनस्थितिमा छन् । 

भन्छन्, ‘यो विषयमा बोलियो भने राजनीतिक विवादमा परिन्छ । म राजनीतिक विषयमा बोल्दिनँ ।’

खबरहबको प्रयासमा केही फिल्मकर्मीहरू यस विषयमा स्वतन्त्र विश्लेषण गर्न, अनुभव सेयर गर्न र धारण राख्न राजी भए ।

कुनै पनि पेसाको व्यक्ति हस्ताक्षर अभियानमा जोडिनुलाई उसको व्यक्तिगत अधिकार उपयोग र प्रजातन्त्रको सौन्दर्यकै रूपमा ग्रहण गर्दा उचित हुने कलाकार दीपकराज गिरीको विश्लेषण छ । 

उनी भन्छन्, ‘कलाकार पनि व्यक्ति हो । उसको पनि व्यक्तिगत स्वतन्त्रता छ । आरोपी प्रमाणबाट दोषी हुन्छ । कलाकारले एक पक्षमा विचार राख्नुलाई प्रजातन्त्रको सौन्दर्य नै मान्दा सुन्दर समाजको परिकल्पना हुन्छ ।’

रविको मुद्दामा समग्रमा तीन विचार देखा परेको दीपकको विश्लेषण छ । पहिलो : रवि अन्यायमा छन् । दोस्रो : अदालतमा प्रवेश गरेको विषयमा बोल्नु हुँदैन । तेस्रो ः राज्य ठिक छ, रवि गलत हुनुहुन्छ । 

हस्ताक्षरमा अभियानमा जोडिएका कलाकारहरू पहिलो विचार अर्थात्, रवि अन्यायमा छन् भन्ने बुझाइसँग कन्भिन्स भएको हुनुपर्ने उनको बुझाइ छ । 

हरेक क्षेत्रका व्यक्तिहरू यी विचारमा बाँडिदा कलाकारहरूले पनि एक मत अँगाल्नुलाई बृहत्तर कोणबाट नलिँदा नै उचित हुने दीपक बताउँछन् ।

उनी भने आफू जनताको कलाकारका हिसाबले हस्ताक्षर अभियानमा सहभागी नहुने बताउँछन् । 

जनता जोडिएको मुद्दा वा विषयमा कलाकारहरू उनीहरूको पक्षमा उभिनु उचित हुने बुझाइ चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको छ । 

उनी भन्छन्, ‘कलाकार त जनताको हो नि । जनताकै पक्षमा कलाकार उभिनु उचित हुन्छ ।’

कलाकारहरू पार्टीको सक्रिय सदस्यकै रूपमा देखापर्ने परिपाटी रहेको सन्दर्भ यथावत् हुँदा हस्ताक्षर अभियानमा सहभागीताको विषय उनलाई ठूलो लाग्दैन ।

यो उनीहरूको व्यक्तिगत अधिकार भएकाले सही वा गलत भन्ने अधिकार कसैको नहुने उनको बुझाइ छ । 
 
यसो भनिरहँदा उनी थप्छन्, ‘हस्ताक्षर गर्नु उनीहरूको व्यक्तिगत स्वतन्त्रता र अधिकार हो । अधिकार कुन ठाउँमा प्रयोग गर्ने उनीहरूको विवेकमा निहित हुन्छ । दर्शक केन्द्रित भएर अधिकार प्रयोग गरे राम्रो ।’

हरेक नयाँ पार्टीको उदय हुँदा कलाकार त्यसैतर्फ ढल्कने विगत रहेकाले अहिले रविको पक्षमा उनीहरू उभिनुलाई अध्यक्ष निरौला आश्चर्यका साथ हेर्दैनन् । 

त्यस्तै, यदि रविको मुद्दा ‘राजनीतिक प्रतिशोध’ भए पनि कलाकारले आफूलाई मूल्याकंन गर्ने हैसियत मात्रै उभ्याउँदा उचित हुने नायक विजय बरालको मत छ ।  

उनी भन्छन्, ‘यस्ता विषयमा कलाकारहरू यही हुनुपर्छ भनेर नलागेको नै राम्रो ।’

कलाकार प्रत्यक्ष कुनै अभियानमा जोडिनुभन्दा न्युट्रल हुनु नै उनलाई ठिक लाग्छ ।

भन्छन्, ‘सबैले आफ्नो विवेकअनुसार विचार राख्नुभएको होला । वा अभियानमा जोडिनु भएको होला । म रविको पक्ष वा विपक्ष दुवैमा नलाग्नेलाई चाहिँ न्युट्रल कलाकार भन्न रुचाउँछु ।’

व्यक्तिगत सम्बन्ध र भावनाले हस्ताक्षर अभियानमा कलाकार जोडिएको हुन सक्ने उनको आशंका छ । 

उनी भन्छन्, ‘कलाकारको पनि भावना हुन्छ । व्यक्तिगत सम्बन्ध हुन्छ । यहाँ त्यही भएको होला । कलाकारको पनि भावनाको कदर गर्नुपर्छ ।’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : १४ बजे

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

बागमती – बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्