कर्णाली विकास बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश « Khabarhub

कर्णाली विकास बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । ‘उहाँले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा पठाइएको छ तर धरौटी बुझाएमा उहाँलाई छाडिने छ’, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले भने ।

उनका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

आदेशमा फरार रहेका १०० भन्दा बढी प्रतिवादीको हकमा म्याद तामेली पठाउने उल्लेख छ ।  बैंक सञ्चालक समितिका दुई पूर्वअध्यक्ष र एक कर्मचारीलाई अहिल्यै छाड्दा मुद्दा प्रभावित पार्न सक्ने आँकलन गरी अदालतले तीन जनालाई थुनामा राख्न आदेश सुनाएको बताइएको छ ।

अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बैंकका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीविरूद्धको रकम घोटाला प्रकरणको सुनुवाइ सकेर बुधबार यो आदेश सुनाएको थियो ।

बैंकको तीन अर्ब २० करोड रुपैयाँ हिनामिना प्रकरणमा कुल १०९ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये १०३ जना अझै फरार छन् । विभिन्न समयमा पक्राउ परेका दुई जना सञ्चालक समितिका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीमध्ये साउन १४ गते सिआइबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा आर्थिक अनियमिततामा दोषी करार गर्दै जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।

सीआईबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १०९ जनाबाट तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ बिगो माग दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने सुझाव दिएको थियो । सीआईबीको सोही अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुर नेपालगञ्जमा मुद्दा दायर गरेको थियो ।

अदालतका सूचना अधिकारी विष्टका अनुसार चार जना प्रतिवादीमध्ये बैंकका संस्थापक अध्यक्षसमेत रहेका राजेन्द्रवीर रायसँग दुई अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रसँग ८२ करोड ४६ लाख २९ हजार बिगो र जरिवाना मागदाबी गरिएको थियो ।

बैंकका तत्कालीन वित्त विभाग प्रमुख वेदप्रकाशसिंह ठकुरीसँग २४ करोड ६३ लाख ९९ हजार बिगो र जरिवाना मागदाबी गरिएको थियो । राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतसँग १० करोड ८९ लाख २५० बिगो र जरिवाना मागदाबी गरिएको थियो । (रासस)

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १० : ३७ बजे

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू