जलवायु परिवर्तनमा गम्भीर छैन सरकार | Khabarhub Khabarhub

जलवायु परिवर्तनमा गम्भीर छैन सरकार



नेपाल भौगोलिक र जलवायु परिवर्तनका कारण विश्वकै उच्च प्रकोप जोखिमयुक्त देशमध्ये पर्छ । यहाँको झन्डै ८० प्रतिशत जनसंख्या प्राकृतिक विपद्को प्रत्यक्ष सामना गरिरहेको छ। हिमालदेखि पहाड हुँदै तराईसम्म यहाँका विभिन्न भौगोलिक संरचनाका कारण मुख्यतः पाँच प्रकारका प्रकोपको नियमित सामना गर्नुपर्ने बाध्यता रहेको छ।

जल उत्पन्न प्रकोप नेपालका लागि सबैभन्दा विनाशकारी हुने गरेको छ । खासगरी मनसुनको अवधिमा बाढीपहिरोजस्ता जलउत्पन्न प्रकोपले विभिन्न भूभागमा भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको छ।

हिमताल फुटेर आउने बाढी अर्को प्रकारको जलउत्पन्न प्रकोप हो। दोस्रो खालको विपद् चाहिँ भूकम्प र भूस्खलनजस्ता भूगर्भीय विपद् हुन्। अचानक आउने यस्ता विपद्ले व्यापक रुपमा धनजनको क्षति गर्दछन्। नेपालमा बारम्बार व्यहोर्नुपर्ने तेस्रो खालको प्रकोप चट्याङ, आँधीबेहेरी, शीतलहर, उच्च तापक्रम र लु (तातो हावा) को जोखिम हुन्।

सुख्खा मौसममा हुने आगलागी र डढेलो नेपालको चौथो महत्त्वपूर्ण प्रकोप हो । यसका अतिरिक्त बेलाबेला आउने महामारी (हैजा) र स्वास्थ्य आपतकाल अर्को महत्त्वपूर्ण प्रकोप हो। जसले आर्थिक, सामाजिक र साँस्कृतिक जीवनलाई गम्भीर असर पार्ने गर्दछ। पछिल्ला वर्र्षहरूमा अनियमियत मौसम चक्रका कारण नेपालीले यी प्रकोपको उच्च जोखिमको सामना गरिरहनु परेको छ।

जल उत्पन्न प्रकोप नेपालका लागि सबैभन्दा विनाशकारी हुने गरेको छ । खासगरी मनसुनको अवधिमा बाढीपहिरोजस्ता जलउत्पन्न प्रकोपले विभिन्न भूभागमा भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको छ।

हामी प्रकृतिलाई जित्न उद्यत छौं। पर्यावरण चक्र बिगारिरहेका कारण समस्या सिर्जना भइरहेको छ। जलवायु परिवर्तनका कारण दिनानुदिन अनियमित वर्षा, छोटो समयमा अत्यधिक पानी पर्ने प्रवृति बढिरहेको छ। छोटो समयमा धेरै वर्षा हुने, वर्षाको समय घट्दै जाने, पानी बग्ने खोला नाला च्याप्दै लगेर मानव निर्मित खोला बनाउनाले यस्ता प्रकृतिका समस्या सिर्जना भइरहेका छन्।

पानी सोस्ने जग्गा ढलान गर्ने, क्रंक्रिटमय बनाउने, सडक सञ्जाल, ढल व्यवस्थापन लगायतका समस्याले प्राकृतिक जोखिमलाई झन् गम्भीर बनाएको छ। हिमाली क्षेत्रमा पानी अत्यन्त कम पर्नाले पानीका मुहान वा श्रोत सुक्ने र घट्ने क्रम एकातर्फ छ भने अर्कोतर्फ एकै ठाउँमा ठुलो पानी परेर हिमताल फुट्दा ठूलो क्षति व्यहोर्नु परेको छ। तराई क्षेत्रभन्दा हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ। प्रति वर्ष ९ (मिलिलिटर) का दरले पानी पर्नेक्रम घट्दै गएको विज्ञको दाबी छ।

नेपालले विगतका वर्षमा (२०७१, २०७४, २०७७, २०८१ र २०८२) मा समेत मनसुनकै कारण ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको छ। हाम्रो भूगोल प्राकृतिक रुपमा जोखिमपूर्ण छ। तराईमा लू, पहाडमा चट्याङ, हिमालमा हिमताल फुट्ने र पग्लने समस्याले जुनसुकै समयमा जस्तोसुकै प्रकारका प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने बाध्यता रहेको देखिन्छ।

कुनै समय तराईमा मात्र सीमित देखिने किटजन्य रोग कालाज्वर, मलेरिया, जापानिज इन्सेफलाइटिस, डेंगू , चिकुनगुनिया जस्ता रोग अहिले काठमाडौं लगायत पहाडी अनि हिमाली भेगसम्म पुगिसकेको छ। जलवायुको तीव्र परिवर्तन नै किटजन्य रोगको भौगोलिक स्थानान्तरण हुनु एक प्रमुख कारण रहेको विज्ञको दाबी छ। तराईमा मात्र सीमित देखिने गरेका किटजन्य रोग पहाड अनि हिमालतिर सर्दै गर्दा विषालु सर्पको बसाइसराइको सम्भावनालाई पनि नकार्न सकिँदैन।

छोटो समयमा धेरै वर्षा हुने, वर्षाको समय घट्दै जाने, पानी बग्ने खोलालाई मानव निर्मित बनाउनाले प्रकृतिका समस्या सिर्जना भइरहेका छन्।

ललितपुरको गोटीखेल, काठमाडौंको दक्षिणकाली क्षेत्रका विभिन्न स्थान (गोपालेश्वर, भन्ज्याङ, सोखोल, फूलचोक) मा पनि तराईमा देखिँदै आइरहेका १० वटा विषालु किङ्ग कोब्रा देखिएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रसारण भएका थिए।

काठमाडौं बाहिर सन् २०१८ मा गौरीशंकर संरक्षण क्षेत्रमा संसारकै लामो मानिने किङ्ग कोब्रा देखिएको त्यहाँका संरक्षण प्रमुखले बताएका थिए। त्यहाँ किङ्ग कोब्राले आफ्नो अण्डासमेत कोरलेको उनको भनाइ थियो। यसबाट किङ्ग कोब्रा लगायतका विषालु सर्पले उच्च पहाडी क्षेत्रको वातावरणमा रहन सक्ने गरी आफूलाई अनुकूलन बनाइसकेको भन्ने देखिन्छ।

गौरीशंकर संरक्षण क्षेत्र समुद्री सतहबाट सात हजार १८१ मिटर माथिसम्म फैलिएको छ। यति उच्च हावापानी भएको वातावरणमा किङ्ग कोब्रा सर्प देखिनु आफैँमा एउटा दुर्लभ घटना मान्न सकिन्छ भने यस्ता घटना वैज्ञानिकका लागि खोज अनुसन्धानको विषयसमेत बनेको देखिन्छ। अबका दिनमा विषालु सर्प समेतको चुनौतीको सामना तराईमा मात्र नभई काठमाडौं लगायतका उच्च पहाडी भूभागमा बसोबास गर्ने मानिसले पनि गर्नुपर्ने अवस्था देखिन्छ।

विशेषतः तराईमा कोब्रा, करेतजस्ता विषालु सर्पको टोकाइबाट बर्सेनी दर्जनौँको मृत्यु हुने गरेको तथ्याङ्क देखिन्छ। विषालु सर्पको टोकाइबाट बिरामीको संख्या बढ्दै गएमा काठमाडौं लगायतका उच्च पहाडी क्षेत्रमा पनि तराईको जस्तै तथ्याङ्क नदेखिएला भन्न सकिँदैन। अझ उच्च पहाडी जिल्लाका बासिन्दालाई त कोब्रा, करेत लगायतका विषालु सर्प र उपचार बारेमा समेत जानकारी नहुँदा तराईमा भन्दा पहाडी क्षेत्रमा मृत्युदर बढी नहोला भन्न सकिँदैन।

प्राकृतिक विपत्ति आकस्मिकता भए पनि यसको दीर्घकालीन समस्याको समाधान नखोज्दा हरेक वर्ष एउटै समस्याबाट नागरिकले पीडा भोगिरहेका छन्।

प्राकृतिक विपत्ति आकस्मिकता भए पनि यसको दीर्घकालीन समस्याको समाधान नखोजिँदा वर्षेनी एउटै समस्याबाट नागरिकले पीडा भोगिरहेको पाइन्छ। वर्षायामसँगै हिमाली र पहाडी क्षेत्रमा सुरू हुने पहिरो र तराई मधेशमा हुने बाढीको समस्या आजको मात्र समस्या होइन। तराईमा प्रत्येक वर्ष बाढी र आगजनीले जीवन तथा भौतिक क्षति गर्छ भन्ने सर्वविदितै छ। यस बर्ष तराईमा समयमा पर्याप्त वर्षाद नहुँदा पिउने पानीको समेत अभाव भयो। बारा, पर्सा लगायतका जिल्लामा पिउने पानीको अभावमा नेपाली सेना र स्थानीय सरकारहरुले टयाङ्करबाट पानी वितरण गर्नुले पनि “चुरेको माटो चुरेलाई सफा पानी सबैलाई” भन्ने नारा नारामै सीमित गरिदिएको छ।

चुरेको अत्यधिक दोहनका कारण तराईमा पानीका मूल सुक्न थालेको भनेर सरकारले विगत केही वर्षदेखि चुरे संरक्षण अभियान संचालन गरे पनि समस्या झन् जटिल बन्दै गएको देखिन्छ। जमिनमा पानीको सतह घट्दै गएकोले जमिन भासिन सक्ने उच्च जोखिम रहेको छ। मधेशमा १२० फिट खन्दा निस्कने पानी केही वर्ष यता चार सय फिट खन्दा पनि निस्कन छाडेको छ।

पहाडमा धेरै बर्षात र बाढीका कारण पहिरोले घरगोठ बगाएको, घर बगाउँदा धेरै मानिसको ज्यानै जाने गरेको छ। बालबालिका, वृद्धवृद्धा, सुत्केरीले खान र बस्न समेत पाएका छैनन् भने उनीहरूको शारीरिक अवस्था कमजोर भइसकेको छ। समयमा वर्षा नहुँदा कृषि उत्पादनमा प्रभाव परेको छ। यो समस्याले भोकमरीको समेत सामना गर्नु पर्दा आयातमा स्वतः वृद्धि हुनेछ।

यस वर्षको वैशाख यता चार महिनाको अवधिमा देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना भएका छन्। ती घटनामा परेर दुई सय सात जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने ७७४ जना घाइते भएका छन्। त्यसबाट ५ हजार ९ सय ६३ परिवार प्रभावित भएका छन्।

यस्तै, दुई सय ६६ वटा भारी वर्षा भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ। भारी वर्षाका कारण ६ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् भने सात यस ११ परिवार प्रभावित भएका छन्। दुई सय ५८ चट्याङका घटना हुँदा ३१ जनाको चट्याङ लागेर ज्यान गएको छ। चट्याङ लागेर एक सय ९३ जना घाइते भएका छन् भने तीन सय १७ घरपरिवार प्रभावित भएका छन्।

यसैगरी सर्पदंशका दुई सय ६८ घटना हुँदा ७२ जनाको मृत्यु भएको छ। दुई सय दुई जना घाइते हुँदा दुई सय ७२ घरपरिवार प्रभावित भएका छन्। वन डढेलोका एक सय ५८ वटा घटना हुँदा दुईजना घाइते र २७ परिवार प्रभावित भएका छन्। हावा, हुरीबतासका दुई सय ८० घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। त्यसबाट पाँच सय ३६ घरपरिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार जंगली जनावरको आक्रमणमा १५ जनाको मृत्यु भएको छ। लेक लागेका ४६, भूकम्प पाँच, डुङ्गा पल्टेर दुई, असिना र महामारीका एक-एक वटा घटना घटेका छन्। प्राधिकरणले विपद्सँग जुध्न आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुका साथै तीन तहका सरकारसंग आवश्यक समन्वय गरी विपद् न्यूनिकरण र व्यवस्थापनको तयारीसमेत गरेको जनाएको छ।

यसरी हेर्दा नेपालको भौगोलिक संरचना, जलवायु परिवर्तन र अनियन्त्रित मानवीय गतिविधिका कारण विश्वकै उच्च प्राकृतिक जोखिममा परेको देश हो। प्रकोपलाई रोक्न सकिँदैन तर न्यूनीकरण र व्यवस्थापन भने गर्न सकिन्छ। त्यसका लागि वैज्ञानिक अनुसन्धानमा लगानी, स्थानीय तहमा पूर्वतयारी, जलस्रोत र चुरे–हिमाल संरक्षण, स्वास्थ्य संरचना सुदृढीकरण, र नागरिक सचेतना अनिवार्य छ।

प्रकोपलाई नियति मानेर बस्ने होइन, व्यवस्थापन गर्ने चेतनाबाट मात्र नेपाली समाज सुरक्षित र दिगो भविष्यतर्फ अघि बढ्न सक्छ। यसतर्फ तीनै तहका सरकारले कार्ययोजना निर्माण गरी प्रभावकारी कार्यान्वयनका लागि कार्यगर्नु आवश्यक देखिन्छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १० : ०५ बजे

कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे सरकारसँग छलफल गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयका विषयमा सरकारसँग

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

गुल्मी– जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको

माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने 

काठमाडौं– काभ्रेपलान्चोकस्थित साँगामा रहेको पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम्

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी–  गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्ब रुपैयाँको आलु र

इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

भक्तपुर– इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमाको दिन भक्तपुरको सिद्धपोखरीमा